News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ का दिन जेनजी आन्दोलनमा युवाहरू बेथिति र कुशासनविरुद्ध सडकमा उत्रिँदा राज्यले दमन गर्दा रक्तपात भएको लेखकले लेखे।
- लेखकले आन्दोलनलाई १३ देखि २८ वर्ष उमेर समूहका युवाले भविष्यका लागि उठाएको आवाज भन्दै त्यसको विडम्बना वर्तमान गुमाउनु भएको बताए।
- लेखकले युवालाई सत्ता बदल्न मात्र होइन, सत्ता पाएर पनि सत्ता जस्तो नबन्ने चरित्र र संयम देखाउनुपर्ने निष्कर्ष निकाले।
भदौ लाग्नुअघि नै मलाई यसपल्ट भदौ २३ नजिकिँदै गएको आभास हुन थालिसकेको थियो । किनभने, भदौ २३ नजिकिँदा डर नजिकिन्छ, आक्रोश नजिकिन्छ, लाचारीपन नजिकिन्छ, सन्ताप नजिकिन्छ। सबैभन्दा माथि अर्को प्रश्नले दिमाग घोचिरहन्छ । मन बिथोलिरहन्छ ।
त्यो दिन वास्तवमा भएको के थियो?
२०८२ सालको भदौ २३ क्यालेन्डरको एउटा मिति मात्र होइन, हाम्रो सामूहिक स्मृतिमा गाडिएको एउटा कालो दिन थियो । बेथिति र कुशासनको साङ्लो चुँडाउन भनेर त्यो दिन सडकमा युवाहरू ओर्लिएका थिए ।
खासमा युवाहरू सडकमा आगो बाल्न मात्रै होइन, विकल्पका प्रस्तावहरूसहित आफ्ना आवाज सुनाउन गएका थिए । आफ्ना प्रश्न, असन्तुष्टि र आक्रोश बोकेर ती सबै भावना सडकमा पोख्न आएका थिए।
तर, राज्यले त्यो आवाज सुन्नुको सट्टा त्यही सडकलाई क्रुरताको रणभूमि बनायो। राज्य सञ्चालनको जिम्मेवारीमा बसेकाहरूको अयोग्यता अनि त्यसबाट उत्पन्न क्रुरताको ज्वालाले उनीहरूलाई नै निल्यो। त्यो दिन सडकमा शरीरहरू मात्रै ढलेनन्, राज्यप्रतिको भरोसा ढल्यो र सिङ्गो पुस्ताको मनमा न्यायको उकुसमुकुस झन् गहिरिएर बस्यो।
कुनै राजनीतिक दलमा आबद्ध भए तापनि, मभित्रको युवाले त्यो जमातसँग समभाव राख्ने चेत बोकेको थियो। आखिर राजनीति भनेको पनि त्यही त हो अन्यायविरुद्ध आवाज उठाउनु, सत्यको पक्षमा उभिनु, कुशल नेतृत्वको अपेक्षा गर्नु, सुव्यवस्थित राज्यको चाहना राख्नु र एउटा उज्ज्वल बिहानीप्रति आशावादी रहनु।
त्यही आशाको आडमा म पुगेकी थिएँ ‘ग्राउन्ड जिरो’ मा। तर केहीबेरमै आफ्नै आँखाअघि त्यो ठाउँ रक्तपातको मञ्चमा परिणत भयो। युवाहरूको आक्रोशको कोलाहल र राज्यको असंवेदनशिलताको आँधीले सिंहदरबारसम्म हल्लाइदियो।
केही युवाको संरक्षण गर्ने कोसिसस्वरूप म आफैं अग्रपङ्क्तिमा थिएँ। तर परिस्थितिले यति भयावह मोड लिइसकेको थियो कि त्यसलाई सम्हाल्न सकिने ठाउँबाट हामी कोसौँ टाढा पुगिसकेका थियौँ।
केही क्षणमै देशको गरिमा ध्वस्त पार्ने प्रयास भयो। आमाहरूका काख रित्तिए। घरहरू सुनसान भए। परिवारका आशाका धरोहरहरू मुर्छित भए। सडकमा रगत मात्रै बगेन देशको एउटा पुस्ताको सपना, भरोसा र भविष्य पनि रगताम्य भयो।

सिङ्गो देश रोयो। अनि त्यो आँसुमा डर मिसियो। आक्रोश मिसियो। असहायपन मिसियो। र, परिवर्तनको एउटा अनिश्चित तर अपरिहार्य चाहना जन्मियो।
त्यो विद्रोह र त्यसले निम्त्याएको परिवर्तनलाई एउटा नाम दिइयो ‘जेनजी मुभमेन्ट।’
तर, त्यो खासमा एउटा आन्दोलनको नाम मात्रै थिएन, १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूले आफ्नो भविष्यका लागि उठाएको आवाज थियो। उनीहरू व्यवस्था बदल्ने सपना बोकेर सडकमा उत्रिएका थिए । तर अन्ततः तिनै युवाको आहुति र रगतले त्यो आन्दोलनको अन्त्य लेखियो।
जेनजी मुभमेन्टको सबैभन्दा ठूलो विडम्बना यही रह्यो, भविष्य माग्न सडकमा आएको पुस्ताले आफ्नो वर्तमान नै गुमायो।
आजको दिनसम्म पनि जेनजी आन्दोलनमा युवा भूमिकालाई कुन दृष्टिकोणले हेर्ने भन्ने विषयमा मलाई विरोधाभास भइरहन्छ।
युवालाई देशको कर्णधार भनिन्छ, जुन सत्य हो। आजका युवालाई संसारको ज्ञान बढी छ, प्रविधिमा तिनलाई पुराना पुस्ताले उछिन्न गाह्रै छ, मानवाधिकारका अवधारणाहरूसँग बढी अवगत छन्। यी सबै पनि सत्य हुन्। तर फेरि युवाले जे गर्छन्, जे सोच्छन्, जुन बाटो रोज्छन्, ती सबै ठिक हुन्छन् भन्ने पनि त नहोला।
युवाको ऊर्जा आफैंमा विवेकको पर्याय भने होइन । र, यो चेतना युवामा आफैंप्रति सबैभन्दा बढी हुनुपर्छ। आफूलाई के कुराको चेतना छ भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो, तर आफूलाई के कुराको चेतना छैन भन्ने जान्नु अझ बढी चेतनशील र बुद्धिमानी हुनु हो।

युवा एउटा उर्लंदो खोला होलान्, तर खोलाकै प्रवाहमा खुम्चिनुपर्ने त होइन। सागर बन्नुपर्छ, महासागरसँग जोडिनुपर्छ। किनकि, सीमित ज्ञान र सीमित चेतनाले लामो यात्रा धान्न सक्दैन।
सिकाइको सिलसिला निरन्तर हुनुपर्छ। आफूले जानेका कुरामा मात्र होइन, आफूले नजानेका कुरामा पनि जिज्ञासा जाग्नुपर्छ। आफ्नो दृष्टिकोणभन्दा बाहिरको संसारलाई बुझ्ने, फरक अनुभव र विचारबाट सिक्ने र आफू गलत हुन सक्ने सम्भावनालाई स्वीकार गर्ने क्षमता पनि चेतनाको हिस्सा हो। ज्ञानको विस्तारसँगै विवेकको गहिराइ बढेन भने ज्ञान आफैं अपूर्ण हुन्छ।
जेनजी आन्दोलनको मर्मअनुरूप आज राज्यसत्तामा युवाको उपस्थिति र प्रभाव बढेको छ। प्रतिपक्षको भूमिकामा पनि युवा पहलकदमी स्थापित गर्ने प्रयासहरू सुदृढ हुँदै गएका छन्। तर यति हुँदाहुँदै पनि सामाजिक सञ्जालमा तथानाम गाली बर्सिने क्रम बढेको छ।
अत्याधुनिक प्रविधिको पहुँच बढेसँगै हाम्रो पुस्ताको रचनात्मक शक्ति कतै क्षीण हुँदै गएको त होइन? गम्भीर अध्ययन र विमर्शलाई सतही सामाजिक सञ्जालका बहसले विस्थापित गरिरहेको त छैन? समस्याको समाधान खोज्नुपर्ने ठाउँमा बहस विषयवस्तुबाट व्यक्तिको टीकाटिप्पणीतर्फ मोडिएको त छैन? वैचारिक प्रतिवाद विस्तारै चारित्रिक आक्रमणमा परिणत भइरहेको त छैन? अनि, विकासको यज्ञमा कतै मानवीय संवेदनशिलता र सहानुभूतिकै बलि त चढाइरहेका छैनौँ? यो बेगलाई थाम्न लोकतान्त्रिक प्रक्रियालाई नै नजरअन्दाज गर्यौँ कि?
सबैभन्दा असहज प्रश्न सायद यही हो जुन पुरानो पुस्ताका नेताहरूलाई हामीले ‘हामी नै सर्वेसर्वा हौँ’ भन्ने अहंकारका लागि प्रश्न गर्यौँ, कतै त्यही प्रवृत्ति हामी आफैंमा पनि हुर्काइरहेका त छैनौँ? नेता बन्ने होडमा कतै समाजलाई बिर्सिरहेका त छैनौँ? परिवर्तनको नाममा विनम्रता गुमाउँदै त छैनौँ? आलोचना सुन्ने धैर्य, फरक मतलाई सम्मान गर्ने संस्कार र आफू पनि गलत हुन सक्छु भन्ने स्वीकारोक्ति कतै हामीबाट टाढिँदै त छैन?
युवा हुनु भनेको उमेरको विशेषण होइन, चेतनाको जिम्मेवारी पनि हो। आन्दोलनले हामीलाई सत्ता बदल्ने अवसर दिएको होला तर वास्तविक परीक्षा हाम्रो सोच, संस्कार र व्यवहार बदल्न सक्यौँ कि सकेनौँ भन्नेमा हुनेछ। हामीले पुराना नेताको अनुहार मात्र बदल्ने हो कि राजनीतिक संस्कार पनि बदल्ने हो निर्णायक प्रश्न यही हो।
किनकि, परिवर्तनको सबैभन्दा ठूलो प्रमाण हामीले कसलाई हटायौँ भन्ने होइन, हामी आफैं कस्तो भयौँ भन्ने हो।

सायद यो देशलाई देशभक्तिको नाममा आवाज चर्काउनेभन्दा मान्छेको पीडासामु आफ्नो स्वर आफैं नरम बनाउन सक्ने पुस्ता चाहिएको छ। शक्ति माग्ने मात्र होइन, शक्ति पाएपछि त्यसको भार बोक्न सक्ने पुस्ता चाहिएको छ। किनकि, शक्ति पाउनु क्षमता हुनसक्छ, तर शक्तिलाई संयमित गर्नु चरित्र हो।
जेनजी आन्दोलनको वास्तविक सफलता युवा सत्तामा पुगेको दिन होइन, युवा सत्तामा पुगेर पनि सत्ता जस्तो नबनेको दिन हुनेछ।
मलाई डर लागिरहन्छ। र, त्यसैले चासो पनि राखिरहन्छु।
हामीले पुरानो पुस्तालाई कति बेफिक्रीका साथ प्रश्न गर्यौँ ‘तपाईंहरू किन परिवर्तन हुनुभएन?’ त्यही प्रश्न घुमिफिरी हामीकहाँ आइपुग्यो भने? भोलि हामीले परिवर्तनको बाटो खोल्न ज्यान दिएका ती भाइबहिनीहरूले नै हामीलाई सोधे भने ‘तपाईंहरू आफैं कति बदलिनुभयो?’
त्यो प्रश्नको जवाफ हामीसँग के हुनेछ?
के हामीले उनीहरूले तोड्न खोजेको सत्ता–संस्कृतिलाई नै नयाँ अनुहारमा निरन्तरता दिएका हुनेछौँ? के उनीहरूले देखेको सपनाको ठाउँमा फेरि हाम्रो अहंकार, असहिष्णुता र शक्ति–लालसा उभिएको हुनेछ? कि हामी साँच्चिकै आफूलाई बदल्न सफल भएका हुनेछौँ?
किनकि, उनीहरूले हामीलाई नेतृत्व गर्ने अवसर मात्रै दिएका होइनन् आफूलाई प्रमाणित गर्ने जिम्मेवारी पनि दिएका हुन्।
भोलि उनीहरूको आँखामा हेरेर जवाफ दिन सक्ने गरी बाँच्न सकौँ, त्यो जवाफ दिन नसक्ने दिनभन्दा ठूलो पराजय हाम्रो पुस्ताका लागि अर्को केही हुने छैन।
प्रतिक्रिया 4