News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी प्रदर्शनमा भाटभटेनीका १२ स्टोर पूर्णरूपमा जलेर ध्वस्त हुँदा झन्डै ११ अर्ब रुपैयाँ क्षति भएको भाटभटेनीले जनाएको छ ।
- भाटभटेनीले पुनर्निर्माणमा थप २० देखि ३० प्रतिशत खर्च लागेर करिब १४ अर्ब रुपैयाँ पुगेको जनाएको छ ।
- सीओओ पानु पौडेलका अनुसार भाटभटेनीका २७ मध्ये २३ स्टोर सञ्चालनमा छन् र बाँकी दुई असोज र मंसिरसम्म खुल्नेछन् ।
२३ भदौ, काठमाडौं । एउटा व्यवसाय खडा गर्न कतिविधि मिहिनेत, लगन, आँट, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने व्यवसायी मीनबहादुर गुरुङलाई हेरे पुग्छ ।
चार दशकअघि २०४१ सालमा गुरुङले एउटा भिन्नै सपना साँचेर काठमाडौं नक्सालमा एउटा सानो सटर भाडामा लिएर जे व्यवसाय सुरु गरेका थिए, कालान्तरमा त्यसले नेपाली उद्यम-व्यवसाय क्षेत्रमा एउटा भिन्नै मानक बनायो ।
उनले त्यसबेला सुरु गरेको ‘भाटभटेनी डिपार्टमेन्टल स्टोर’ नेपालमा लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने पर्याय बनेको थियो । किनभने, भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोर हेर्दै थाहा हुन्छ यसमा कतिविधि मिहिनेत परेको छ ।
एउटा सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई चार दशकमा गुरुङले देशव्यापी बनाउन र हजारौं रोजगारी सिर्जना गर्न कम्ता मिहिनेत गरेका थिएनन् ।
भाभटेनीलाई बिस्तारै ७७ जिल्लामै विस्तार गर्ने योजनामा दत्तचित्त भएर लागिपरेका गुरुङको यात्रामा गएको वर्ष २३ भदौमा एक्कासि ठूलो बज्रपात आइलाग्यो । २३ भदौ २०८२ मा सुरु भएको जेनजी प्रदर्शनले गुरुङको हजारौं युवालाई रोजगारी दिने उद्देश्यलाई माटोमै विलिन गराइदियो ।
जेनजी प्रदर्शनकारीको आन्दोलन हिंसात्मक हुँदा सरकारी सम्पत्तिदेखि निजी उद्योग-व्यवसायमा तोडफोड, लुटपाट र आगजनी हुन पुग्यो । जेनजी आन्दोलनको मुख्य तारो भने उनै गुरुङको भाटभटेनी सुपर स्टोरहरू बन्न पुगे ।

तर, गुरुङले एकरति हार मानेनन् । उनी दिनरात खटे, हजारौं सहकर्मीले काँधमा काँध मिलाए, लाखौं उपभोक्ताले ढाडस दिए । र, बल्ल एक वर्षपछि अन्तत: भाटभटेनी उठेरै छाड्यो ।
‘हामीसँग आबद्ध दसौं हजार कर्मचारीको साथ अनि लाखौं उपभोक्ताको आड, ढाडस, विश्वास, माया, भरोसा र प्रेरणाका कारण भाटभटेनीलाई हामीले उठाएरै छाड्यौं,’ भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरसँग भने, ‘हामी यसमा गौरव गर्ने अवस्थामा छौं ।’
अर्बौं लगानीमा स्थापना भएका दुई दर्जन बढी स्टोरमध्ये एक-दुइटा छाडेर सबै तोडफोड, आगजनी र लुटपाटमा पर्दा एक मन त ‘अब फेरि उठाउन सकिँदैन कि ?’ भन्ने डर पलाएको पौडेल सुनाउँछन् ।
तर, कार्यकारी अध्यक्ष गुरुङले गरेको आँट, दसौं हजार कर्मचारीका परिवार र लाखौं उपभोक्ताका माया र भरोसा भाटभटेनी पुननिर्माणका लागि मुख्य प्रेरणाको स्रोत बनेको पौडेलको अनुभव छ ।
सीओओ पौडेलका अनुसार जेनजी प्रदर्शनका क्रममा भाटभटेनीमाथि भएको लुटपाट, आगजनी र तोडफोडबाट गत वर्ष झन्डै ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो ।
त्यसयता भाटभटेनी पुनर्निमाण गर्न क्षति भएको कुल रकममा थप २० देखि ३० प्रतिशत बढी खर्च लागेको छ । यो भनेको २ अर्ब २० करोडदेखि ३ अर्ब ३० करोड रुपैयाँ हो । यस हिसाबले भाटभटेनी पुनर्निर्माण गर्न लगभग १४ अर्ब रुपैयाँ खर्च लागेको छ ।

‘त्यो बेलाको क्षति, त्यो बेला बनाएका भवन र अहिले पुनर्निर्माण गरिएका भवन केही फरक छन्, केही स्तरोन्नति पनि गरेका छौं,’ सीओओ पौडेलले भने, ‘भवन थप गुणस्तरीय बनाएका छौं, तिनमा प्रयोग भएका सामग्री थप स्तरोन्नति गरेका छौं, त्यसमाथि सौन्दर्यीकरणमा पनि खर्च गरेका छौं ।’
उनका अनुसार भाटभटेनीका २७ मध्ये २३ वटा सञ्चालनमा छन् । यही २४ भदौमा धरान भाटभटेनी खोलिसकेपछि ५ असोजमा काठमाडौं टंगालमा खुल्ने छ । त्यसपछि २५ स्टोर पूर्णरूपमा सञ्चालनमा आउँछन् । त्यसपछि दमक र हेटौँडा भाटभटेनी भने दसैंपछि सञ्चालन आउने छ ।
‘अधिकांश स्टोर पूर्ण क्षति हुँदा पनि कर्मचारी कटौती गरेनौं, विगतमा जो कार्यरत थिए, उनीहरूलाई नै काममा फर्कायौं,’ सीओओ पौडेलले भने, ‘तलब पनि कटौती गरेनौं, पोहोर दसैंमा बोनस पनि दिएका थियौं, कर्मचारी र तिनका परिवार भनेका हाम्रा पनि परिवार हुन्, दु:खसुखमा साथ दिनुपर्छ भन्ने हाम्रो अध्यक्षको पहिलो प्राथमिकता हुने गर्छ ।’
एक वर्षअघि भएको वितण्डालाई पौडेल सम्झिन चाहँदैनन् । ‘हैन, हामी त सम्झिने भन्दा पनि त्यो घटनालाई बिर्सेर अगाडि बढ्यौं,’ उनले भने, ‘विगतका कुरा सम्झेर दु:खमनाउ गरेर बस्दा पुनर्निर्माण गर्न गाह्रो हुन्थ्यो, तर हामीले सबै कुरा बिर्सेर अगाडि बढ्यौं र फेरि पुरानै जगमा उभिन सफल भयौं, अब यसमा हामीलाई कुनै इबी पनि छैन, कुनै गुनासो वा सम्झना पनि छैन ।’
कहाँ कति स्टोर सञ्चालन ?
भाटभटेनीका २३ वटा स्टोर आगामी असोजसम्म सञ्चालनमा आउने छ । बाँकी दुई वटा आगामी मंसिरसम्म सञ्चालनमा आइसक्ने सीओओ पौडेलले बताए । त्यसबाहेक नयाँ ४ वटा स्टोर निर्माण चरणमा छन् ।
उनका अनुसार ४ वटा निर्माण भइरहे पनि अन्तिम-अन्तिम चरणमा पुगिसकेका छन् । तीमध्ये चितवन टाँडी र पोखरा लेखनाथको स्टोर चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ । त्यस्तै लतिपुर सातदोबाटो र भैँसेपाटीको स्टोर आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने उद्देश्य छ ।

जेनजी प्रदर्शमा भाटभटेनीमाथि के भएको थियो ?
भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोरमध्ये १२ वटालाई पूर्णरूपमा जलाएर ध्वस्त पारिएको थियो । ती सबै प्रमुख र ठूला स्टोर हुन् ।
भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौंको नक्साल स्टोर (भाटभटेनी मुख्यालय), महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउसमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । ती सबै स्टोर पूर्णरूपमा ध्वस्त भएका थिए ।
त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपर स्टोर पनि पूर्णरूपमा ध्वस्त पारिएका थिए ।
यसबाहेक तोफोड र लुटपाट भएका स्टोर भने एक दर्जन हाराहारी थिए । काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि तथा उपत्यका बाहिर जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भए पनि प्रदर्शनकारीले आगजनी गर्न भने पाएका थिएनन् ।
तर, भाग्यवस काठमाडौं उत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर र पाटन तथा उपत्यका बाहिरको नेपालगञ्ज स्टोर भने प्रदर्शनकारीको आँखामा नपर्दा जोगिएका थिए ।
भाटभटेनी सीओओ पौडेलका अनुसार तोडफोड, लुटपाट र आगजनी भएका स्टोरका काउन्टरमा कति परिमाणमा नगद थियो भन्ने पनि यकिन थिएन । प्रदर्शनकारीले सामानमात्र नभई नगद समेत लुटेर लगेका थिए ।
उनका अनुसार भाटभटेनीले देशभरिका स्टोरबाट दैनिक १० करोड ६८ लाख रुपैयाँ बराबर कारोबार गर्ने गर्छ । ‘यो भनेको वार्षिक कारोबार नै लगभग ३९ अर्ब रुपैयाँ हाराहारी हुने गर्छ,’ उनले भने ।
जेनजी प्रदर्शन सुरु हुँदा देशभरिका भाटभटेनी स्टोर निर्वाध सञ्चालन भइरहेका थिए । एक्कासि, प्रदर्शनकारीमाथि गोली प्रहार भएर पहिलो दिनमै १९ जनाको ज्यान गएपछि भने तोडफोड, लुटपाट र आगजनी सुरु भएको थियो । सरकारले कर्फ्यु आदेश जारी गर्दा पनि भाटभटेनी लुटपाट, तोडफोड र आगजनी दोस्रो दिनसम्म जारी थियो ।
उनका अनुसार भाभटेनीका प्रत्येक स्टोरमा औसतमा कम्तीमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तिनमा पनि महिला संख्या उच्च छ । भाटभटेनीका वेयरहाउस (गोदाम) देखि सबै स्टोरमा गर्दा बिसौं हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया 4