+

सगरमाथामाथि कर्णालीको थ्रिलिङ जित

२०८३ भदौ  २३ गते ०:४१ २०८३ भदौ २३ गते ०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली शिवराजले सोमबार एनभीएलमा सगरमाथा स्म्यासर्सलाई ३-२ सेटमा हराएर लगातार तेस्रो जितसहित ८ अंकका साथ शीर्ष स्थान कायम राख्यो ।
  • अन्नपूर्ण स्पाइकर किंग्सले मधेश वारियर्सलाई ३-१ सेटमा पराजित गर्दै ६ अंकसहित तेस्रो स्थानमा पुग्यो ।
  • मधेश वारियर्स लगातार तेस्रो हारपछि ३ खेलबाट १ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

काठमाडौं । कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार सगरमाथा स्म्यासर्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको रोमाञ्चक खेलमा कर्णालीले पाँचौ सेटमा पुगेर जित हात पारेको हो ।

लगातार दुई खेल जितेर शीर्ष दुईमा रहेको अपराजित टोली कर्णाली र सगरमाथाबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो ।

थ्रिलिङ जित हात पारेको कर्णालीले लगातार ती खेल जित्दै अपराजित यात्रा कायम राखेको छ । जारी लिगमा एक्लो अपराजित टोली कर्णाली ८ अंक जोडेर शीर्ष स्थानमा छ । लगातार दुई जितपछि पहिलो हार बेहोरेको सगरमाथा ७ अंकसहित दोस्रो स्थानमा छ ।

कर्णालीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो सेटमा सगरमाथा खेलमा फर्कियो र प्रतिस्पर्धातम्क सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो । तेस्रो सेटमा कर्णाद्यीले २५-२३ कै स्कोरमा आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । तर चौथो सेटमा सगरमाथा फेरि खेलमा फर्कियो र २५-१९ ले आफ्नोफ पक्षमा पार्दै खेल पाँचौ सेटसम्म पुर्‍यायो । निर्णायक सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै १५-९ ले आफ्नो पक्षमा पारेर खेल जितेको हो ।

विजयी टिम कर्णालीका मार्की तथा कप्तान पहल गहतराज ‘प्लेअर अफ द म्याच’ चुनिए । उनले सर्वाधिक २२ अंक स्कोर गरे । यस्तै कुद्रासोउले १८ अंक जोडे । सगरमाथाका फखर उद्दिनले २१ र अइमल खानले २० अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

सोमबारै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, २९–३१, २५–२२, २५–२१ को सेटमा पराजित गरेको हो ।

तीन खेलमा दुई जितपछि अन्नपूर्ण ६ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपुर्णले दोस्रो खेलमा काठमाडौ रेड्सलाई पराजित गरेको थियो ।

अन्नपूर्णका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक २६ अंक जोडेका उरानबायर मंखबायर ‘प्लेअर अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘प्लेअर अफ द म्याच’ बनेका हुन् । यस्तै इंख एर्डेनले २४ अंक स्कोर गरे । मधेशका जिबिन सेबास्टियनले १९ अंक स्कोर गरे ।

मधेशको यो लगातार तेस्रो हार हो । तीन खेलबाट १ अंक मात्र रहेको मधेश पाँचौ स्थानमा छ र शीर्ष तीनमा पर्ने सम्भावना कठिन बनेको छ ।

मधेश यसअघि सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पराजित भएको थियो । अब मधेशले खप्तड फाल्कन्स र कर्णाली शिवराजसँग खेल्न बाँकी छ ।

लिगमा मंगलबार खप्तड फाल्कन्स र मधेश वारियर्स तथा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सबीच खेल हुनेछ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गरिरहेको छ ।

एनभीएल नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय