२३ भदौ, रोल्पा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका एकै परिवारका ४ जनाको अहिलेसम्म अत्तोपत्तो छैन । परिवर्तन गाउँपालिका–६ थानेकोटका ४० का कुलप्रसाद बुढामगरको परिवार बाढीयता सम्पर्कविहीन छ ।
कुलप्रसादसँगै उनकी श्रीमती ३६ कि मीना घर्तीमगर, छोरा २१ वर्षीय डिपबुढा मगर र छोरी ४ वर्षीया खुशी बुढामगर सम्पर्कविहिन भएका हुन् । कुलप्रसादको परिवार करिब ९ वर्षदेखि रसुवाको टिमुरे बजारमा मासु पसल सञ्चालन गरेर बसेको थियो ।
बाढीपछि आफ्ना दाजुको परिवार सम्पर्कविहीन हुँदा कुलप्रसादका भाइ भीमप्रकाश बुढामगर अहिले खोजी गर्दै भौँतारिरहेका छन् । आफ्ना दाजु–भाउजु र भतिज–भतिजीको सासको आशासहित भीमप्रकाश हातमा उनीहरूको तस्वीर लिएर भदौ १३ गते चितवन पुगेका थिए ।
‘नभेट्दासम्म त साससहित नै पाउँछु भन्ने आस छ । कतै भेटिहालिन्छ कि भनेर आठ दिन खोजी हिँडेँ,’ उनी भन्छन् । त्यसक्रममा नवलपरासी, चितवन, नुवाकोट र काठमाडौं पुगेर अस्पतालदेखि शवगृह, नदी किनार, बगरदेखि सकेको जंगलसम्म चहारेको उनले बताए ।
‘मैले फोटो देखाउँदै जाँदा धेरै शव क्षतविक्षत शव देखाए । त्यसमा चिन्न सकिने केही थिएन । मेरो मान्छेको हो भनेर कसरी चिन्नु ? कसरी पत्याउनु,’ उनले भने ।
केही सीप नलागेपछि उनी आठौं दिन (भदौ २० गते) खाली हात घर फर्किएका छन् । तर, अझै पनि कहिँकतै परिवार भेटिन्छ कि भन्ने आशाले उनको मन भड्किरहन्छ ।
उनले अन्तिममा घर फर्किँदा काठमाडौंमा आफ्नो डीएनए नमुना छाडेका छन् । ‘आउँदा मैले डीएनए पत्ता लाग्छ कि भनेर दिएर आएको छु,’ उनले भने, ‘त्यसको रिपोर्ट आउन पनि दुई/तीन महिना लाग्छ रे ।’
तर, भीमलाई अझै पनि आफ्नो परिवार जीवित भेटिने आशा बाँकी छ ।
‘त्यसै त कसरी पत्याउनु ? मलाई लाग्छ– उहाँहरू जीवित हुनुहुन्छ । राज्यले खोजी गरिदेओस्,’ उनले भने ।
रसुवा बाढीमा सुरुमा रोल्पाका ३२ जना सम्पर्कविहीन भएका थिए । त्यसमध्ये ८ जना सम्पर्कमा आइसकेका छन् । २४ जना अझै सम्पर्कविहीन छन् ।
प्रतिक्रिया 4