News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाको अनुरोधमा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ उद्धारमा समन्वय र प्राविधिक सुझाव दिन पुगेका छन् ।
- विदेशीसहितको उद्धार टोलीले सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयास गरिरहेको छ र सुरुङभित्र अझै ६ जना रहेको आशंकामा खोजी तीव्र पारिएको छ ।
- नेपाली सेनाका अनुसार ४ वटा ६/६ मिटरका ठूला पाइप प्रयोग गरेर बाटो बनाइएको छ र मुख्य चट्टानसम्म पुग्न ९५ मिटर मात्रै बाँकी छ ।
२४ भदौ, काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका छन् ।
नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय र प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेका उनको सचिवालयले जनाएको छ । विदेशी विज्ञसहितको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयासमा छ ।
घिसिङले यसअघि चिलिमे चलविद्युत आयोजनामा कार्यकारी निर्देशनको रूपमा काम गरिसकेका थिए । सोही आधारमा उनीसँग समन्वय गरेर सुरूङभित्र फसेकाहरूको उद्धारका लागि घिसिङलाई लगिएको हो ।
यसअघि भदौ १४ गते पनि घिसिङले चिलिमे सुरुङसहित बाढी प्रभावित क्षेत्रको स्थलगत रेकी गरेका थिए ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको नेपाली सेनाले जनाएको छ । स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म ठूला उपकरण लैजानको लागि सडकमा रहेका ठूला ढुङ्गालाई विस्फोट गरी हटाउने कार्य भएको र मुख्य चट्टानसम्म पुग्न ९५ मिटर मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
मंगलबारसम्म चिलिमे क्षेत्रमा हेलिकप्टरबाट मात्रै आवतजावत सम्भव रहेकामा आजदेखि उद्धारस्थलसम्म अस्थायी सडक खुलाउने तयारी भइरहेको छ । उद्धार कार्यलाई रातिसमेत निरन्तरता दिने तयारी गरिएको छ ।
चिलिमे आयोजनाको सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास भइरहेको छ । मंगलबारसम्म उद्धार टोली सुरुङभित्र करिब ९० मिटर अघि बढिसकेको थियो ।
सुरुङभित्र अझै ६ जना रहेको आशंकामा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ ।
प्रतिक्रिया 4