२४ भदौ, सिरहा । सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ।
लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्।
सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ११ जनाको गाडी मोबाइल टोली र इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले संयुक्त रूपमा स.१च१४१४ नम्बरको स्कारपियो रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा स्कारपियोभित्र कोरेक्स-सी १०० एमएलका १२३ बोतल फेला परेको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ पर्नेमा लहान नगरपालिका-१० का ४१ वर्षीय विजयकुमार बिसुके रहेका छन्।
सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा संयुक्त रूपमा अपरेसन सञ्चालन गरिएको थियो। अपरेसनका क्रममा स्कारपियो जाँच गर्दा लागुऔषध फेला परेपछि चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
बरामद लागुऔषध, स्कारपियो र पक्राउ परेका बिसुकेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बुधबार बिहान १०ः२४ बजे इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा अपरेसन गरेपछि स्कारपियोसहित लागुऔषध बरामद गरी चालकलाई नियन्त्रणमा लिइएको हो। ‘प्रक्रिया अगाडि बढाइसकेका छौँ। अब भोलि म्याद थप गरेर थप अनुसन्धान सुरु गरिनेछ’, एसपी पाठकले भने।
प्रहरीले पक्राउ परेका बिसुकेको लागुऔषध कारोबारमा संलग्नता, बरामद लागुऔषधको स्रोत तथा यसको गन्तव्यबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया 4