News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ का घटनाले ३० वर्षमुनिका धेरै युवाको ज्यान गएपछि देशमा राजनीतिक असन्तोष र आक्रोश चुलिएको लेखमा उल्लेख छ।
- लेखमा भदौ २४ पछि सुशीला कार्की प्रधानमन्त्री बनेको, संसद् विघटन भएको र ५ महिनापछि चुनावमार्फत राजनीतिलाई नयाँ अध्यायतिर लगिएको भनिएको छ।
- लेखले भदौ २४ को हिंसामा देउवा निवासमा आरजू राणा देउवा लछारपछार गरिएको, शेरबहादुर देउवा घाइते भएको र नेपाली कांग्रेसले सामान्य वक्तव्य मात्र दिएको उल्लेख गरेको छ।
प्रकाशको महत्व लालटिन भन्दा बढी छ
कविता कुनै नोटबुक भन्दा बढी महत्वपूर्ण छ
र चुम्बनको महत्व ओठभन्दा बढी छ ।
तिमीलाई लेखिएको मेरो पत्र महान् छ,
तर त्योभन्दा पनि धेरै महत्वपूर्ण छौं हामी दुई ।
यिनै त हुन् ती दस्तावेजहरू,
जहाँ मानिसहरूले खोजेर निकाल्नेछन्
तिम्रो सुन्दरता
र मेरो पागलपन ।
निजार कब्बानी, सिरियाली कवि
भदौ २३ र २४ का अत्यासलाग्दा दिनहरू फेरि स्मृतिमा सल्बलाइरहेका थिए । बिर्सिएकै पनि त कहाँ थिए र ? र पनि जब पितृहरूको तिथि आउँछ अनि उनीहरूको सम्झना बढी आउँछ भन्ने त हामीले अनुभव गरेकै कुरा हुन् । आखिर हामी सबैलाई हृदयभित्रबाटै हल्लाएर चोट दिएर गएका ती दिन कसरी बिर्सनु ?
यता भदौ १० का आला घाउहरू चहर्याइरहेका छन् । हिमपहिरोले क्षत–विक्षत बनाएका त्रिशूली नदी किनारका बस्तीहरू । आँधीले उडाएर छिन्नभिन्न पारेपछिका चराका गुँड जस्ता परिवारहरू । आफ्ना भन्ने सबै गुमाएका कलिला नानीहरू । सन्तानहरू गुमाएर पनि जिउनु परेका वृद्धवृद्धाहरू । पति र प्रेमी या पत्नी र प्रेमिका कहिल्यै भेट नहुने गरी छुटेपछि विताउनुपर्ने कहालीलाग्दा दिन सम्झेर तड्पिरहेका युवा र युवती । अनि कतै घरको भग्नावशेषमा बालुवा, लेदो र गेग्रानको थुप्रोमुनि अथवा हाइड्रोपावरका निस्सासिंदा सुरुङभित्र आफन्तजन हराएर पुरिएपछि पनि जीवितै उद्धार हुने आशा गरेर बसिरहेका तिनका प्रियजन ।

त्रिशूली त सयौं वर्षको नेपाल तिब्बत अथवा दक्षिणएशिया र भोट चीन जोड्ने सभ्यताको मार्ग पनि हो । चीनको युनानमा उत्पादित चिया दक्षिणएशियासम्म पुर्याउने चिया बोक्ने घोडाको बाटो पनि यही त थियो । शताब्दीऔं पहिले तामाङ र ह्योल्मोहरू नेपाल प्रवेश गरेका पनि त त्यही गढीको बाटोबाट उही ल्हेन्दे खोला तरेर हो । हाम्रो संस्कृतिको धरोहर बोेकेका बाटा, पुल, पाटी, पौवा, चौतारी, धारा र कुवाहरू । उत्तर गया, बेत्रावतीको सन्धि ढुंगो, चिनियाँ सेनाको प्रतिरोध गर्न बनाइएको गढी, यताका र उताका तीर्थयात्रीका पाइतालाले खोपेका गोरेटा, मठ, मन्दिर, स्याफ्रुबेंसीदेखि टिमुरे घट्टेखोलासम्म घरका आँगन र गुम्बामा फर्फराइरहेका लुङ्गदरहरू । हाम्रो सभ्यता, संस्कृति, आस्था र विश्वासका स्मृति चिह्नरू सबै सबै त बगाइगयो एक झट्का बाढीले । त्रिशूली नदी सभ्यताका अनेक चिह्नहरू हेर्दा हेर्दै मेटिए ।
तुलना गरिंदैछन् यो भदौ महिनामा देशलाई बर्बाद पारेका दुई ठूला घटनाहरू । ठीक एक वर्ष पहिलेको भदौ २३ गते बानेश्वर संसद् भवन अगाडि चलेको गोली लागेर दुई दर्जन युवाको ज्यान गयो । समाजमा एउटा आक्रोश भित्रभित्र उम्लिरहेको थियो । बेरोजगारीले लखेटिएका युवामा स्थापित संस्था र राजनीतिक नेतृत्वका प्रति, सरकार र न्यायालयका प्रति, कानून र संविधानका प्रति, आश्वासन र सपनाहरूको विज्ञापनका प्रति विश्वास उठिरहेको थियो । यो असन्तोषको सुकेको खरमा आगो झोस्न अनेक शक्ति हातहातमा मट्टीतेल र सलाइका बट्टा लिएर कुदिरहेका थिए । कहिले ल्होत्से मल र कहिले तिनकुनेमा त्यसको पूर्वतयारी अभ्यास भइरहेकै थियो । आलोपालो घुम्ने मेचमा बसेर अन्धा भएका शासकहरू मगनमस्त थिए । आफैंलाई स्वर्गका राजा इन्द्र समान अमर र बलवान सम्झिरहेका । उनीहरूलाई लागिरहेको थियो सामाजिक सञ्जाल नभए असन्तोषी र आक्रोशित साधारण जनताको आवाज थुन्न सकिन्छ र हाइसञ्चोसँग सत्ताभोग गरिरहन सकिन्छ ।
आखिर सलाइ लिएर हिंडिरहेकाहरूलाई सरकारले नै उछिन्यो र सञ्जाल बन्द गरेर सुकेको खरमा झुलो–चकमक रगडिदियो । जेनजी एउटा मोहरा थियो, पछाडि असन्तुष्टिका हात्ती, घोडा, ऊँट र मन्त्रीहरू थिए । त्यसको व्यवस्थापन गर्नुपर्ने शान्तिसुरक्षाको जिम्मा लिएको गृह संयन्त्र पङ्गु सावित भयो । प्रधानमन्त्रीलाई यस्ता कुराले छुँदैनथ्यो । उनी दुईतिहाइ समर्थनको अट्टालिकामा बसिरहेका थिए र एउटा भयानक सत्ताभ्रमले लठ्ठ थिए । सडकको सदावहार असन्तोषले यसमा पोखिने अवसर पाएको थियो ।
सरकारको अकर्मण्यता र सडकको आक्रोशले सिर्जना गरेको अराजकताका बीच मानिसहरू धमाधम आफैंले तिरेको करले किनेका गोली लागेर ढल्न थाले । र यसरी ढल्नेको अधिकांश पंक्ति त्यस्तो युवाको थियो जो भइरहेको अव्यवस्था (पद्मरत्न तुलाधरको वसन्तपुरको भाषणमा प्रयोग भएको अव्यवस्था शब्द सम्झनुहुन्छ नि ?) बाट आजित थियो । यो पंक्ति मूलत: ३० वर्ष मुनिको थियो । समाजमा स्थापित भएको न्यारेटिभले उनीहरूलाई तत्कालीन तीन राजनीतिक दल र तिनका नेताको अर्थात् तीस वर्षदेखि सरकार र सत्ता चलाइरहेकाहरूबाट मुक्तिले मात्र आफ्नो पनि यो माटोमा कमाइ गरेर खाने बाटो खुल्छ भन्ने लागेको थियो । मध्य सडकमा रगतले भिजेको एउटा जुुत्ता त्यसको एउटा विम्ब थियो ।

त्यसको प्रतिक्रियामा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले जे जस्ता निर्णयहरू गरे त्यो हाम्रो समयको सबैभन्दा क्रूर त्रासदी थियो । न उनले आफ्नो नैतिक जिम्मेवारी महसुस गरे न आफ्ना निर्णयहरू सच्याउन आवश्यक ठाने । उनले गोलीले ढलेका युवाको रगतलाई टुकुचाको पानीजत्ति पनि ठानेनन् । न कानून व्यवस्था पालन गराउन आवश्यक कदम चाले । केवल दमन र धम्कीको सहारा लिए । परिणामत: उनले आफ्नो मातहतको सुरक्षा निकाय र कर्मचारीतन्त्रको समेत विश्वास गुमाए । गठबन्धन दलहरूको विश्वास गुमाए । आफ्नै दलभित्र पनि प्रश्न उठ्यो तर उनले छाडेनन् बरु भाग्न मञ्जुर भए । उनका प्रतिक्रियाहरूको असर झन् भयानक भयो ।
संसद् भवन, सरकारको सचिवालय, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायत सरकारको उपस्थिति हुने, कांग्रेस, एमाले र माओवादी पार्टीको उपस्थिति देखिने, लोकतन्त्र र गणतन्त्रका विम्बहरू भनेर परिचित धरोहरहरू ध्वस्त पारिए । निजी व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरू ध्वस्त पारिए । आफैं आगो झोस्ने र आफै निभाउन हिंडेको देखाउने जत्था यसको सञ्चालक जस्तो देखियो । प्रहरीले हात ठड्याएर आत्मसमर्पण गरेपछि मुक्त भएका विभिन्न अभियोगमा समातिएकाहरूमा प्रहरी कार्यालयको हतियार पुग्यो । जेलहरू तोडिए र अभियोगका लागि थुनामा परेकाहरू सडकका बादशाह बन्न पुगे । केही समय त यस्तो मनोविज्ञान र भय व्याप्त भयो कि देश स्वयं अपराधीहरूको नियन्त्रणमा छ ।
भदौ २४ र भदौ १० को एउटा समानता रह्यो : राष्ट्रिय विम्ब र सांस्कृतिक धरोहरूको विनाश । भदौ १० मा प्रकृतिले ताण्डव मच्चायो भदौ २४ मा अराजक समूहले ।
भदौ २४ पछि
भदौ २४ ले केही पुराना बादशाहरूलाई घोडाबाट लतारेर भुइँमा पछारिदियो । बीसौं वर्षदेखि सत्ता र सत्ताको वरपर बसेर जनता भन्दा एकतला माथि सिसाको झ्यालभित्रबाट सडकमा ढुंगा प्रहार गरिरहेको भुइँफुट्टा सम्भ्रान्तहरूको एउटा तप्कालाई धर्तीमा ओर्लन बाध्य पारिदियो । संविधानको परिकल्पनाभन्दा बाहिरैबाट प्रधानमन्त्री बन्न सुशीला कार्की पुगिन् । संसद् विघटन गरियो । र लगभग कोमामा पुगेको संविधानलाई चुनाव मार्फत लिकमा ल्याउने प्रयास पनि आरम्भ भयो । ५ महिनापछि भएको चुनावले राजनीतिलाई नयाँ अध्यायतिर डोर्यायो ।
भदौ २४ मा सत्ताबाट लखेटिएका केपी ओलीले आफ्ना कमजोरीहरूलाई कत्ति पनि स्वीकार नगरी चुनावमा जाँदा झण्डै नाति पुस्ताको एउटा अल्लारे जस्तो युवासँग आफ्नै छरछिमेकमा ५० हजार भन्दा बढी मतले पराजित भए ।
नेपाली कांग्रेसमा युवाहरूले विद्रोह गरेर देउवा र उनको सहकर्मीहरूको पुस्तालाई पार्टीबाटै विस्थापित गरिदियो । गगन थापा जस्ता जल्दाबल्दा युवा नेता पार्टी सभापतिका रूपमा लडेको पहिलो चुनावमा पराजित भए ।
भदौ २४ गते एउटा भयानक दु:खान्तको दृश्य बूढानीलण्ठस्थित देउवा निवासबाट आइरहेको थियो । उक्त दृश्यमा बहालवाला परराष्ट्रमन्त्री आरजू राणा देउवालाई पुरुष प्रदर्शनकारीहरूले लछारपछार गरिरहेका, अपमान गरिरहेका र स्वयं पाँचपटक देशको नेतृत्व गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको टाउकोबाट रगातका धारा बगिरहेका । उनको घरमा प्रदर्शनकारी थिए कि लुुटेरा थिए भन्ने प्रश्न अझै हल भएको छैन । जानेहरूले अनेक सामान लुटेका दृश्यहरू, घरमा आगो लगाएका दृश्यहरू भयानक थिए । र सबैभन्दा अर्थपूर्ण कुरा थियो कि उक्त घटनाको विरोधमा नेपाली कांग्रेस पार्टीले नै सामान्य विरोध दर्ज गर्ने वक्तव्य बाहेक केही गरेन । र आफूलाई देउवा र आरजूबाट टाढा राख्ने प्रयास गरेको देखियो । राजनीतिमा योभन्दा ठूलो ट्रेजेडी के हुन्छ ?

र; त्यसको ११ महिनापछि देउवाको स्वागतमा एअरपोर्टदेखि चण्डोलसम्म कांग्रेसहरूको एउटा समूहले प्रदर्शन नै गर्न पुगेको पनि देखियो । यो एउटा सर्कल पूरा भएको संकेत थियो । अर्थात् भदौ २४ पछि जो–जो विस्थापित भए भनिएका थिए तिनले आफ्नो सडेगलेको इतिहासलाई धोइपखाली गरेर सुकिलो देखाउने दिन फर्केका छन् । जनता तथा संवैधानिक व्यवस्था समेतलाई हेलाँ गर्दै हठधर्मी शासन गरिरहेका केपी ओली आफ्नो छवि उजिल्याउन त्रिशूलीको धमिलो पानीले मुख धुन पुगिरहेका छन् । यो उल्टो धारा कसका कारणले बगिरहेको छ ?
प्रकाशको महत्व लालटिनभन्दा बढी छ
कविता कुनै नोटबुकभन्दा बढी महत्वपूर्ण छ
र चुम्बनको महत्व ओठभन्दा बढी छ ।
सिरियाली कवि कब्बानीको कविताले एउटा गम्भीर अर्थ बोकेको छ महत्व लालटिनको होइन उज्यालोको हो । कविता केमा लेखियो ल्यापटपमा या नोटबुकमा त्यो अर्थको हुँदैन महत्व कविताको हुने हो । ओठ माध्यम मात्र हुन्, ओठले चुुम्बन गरे भने मात्र प्रियजनको आलिंगन र भावनात्मक संवेगलाई एकीकृत पार्छन् । अर्थात् यहाँ माध्यमको होइन परिणामको, बाटोको होइन गन्तव्यको अर्थ हुन्छ ।
भदौ २३ र २४ का घटनाहरू पुरानो हठधर्मी शासनलाई ध्वस्त पार्ने माध्यम बनेका हुन्, नयाँका लागि बाटो पनि तिनले खोलिदिएका हुन् । यी केवल लालटिन, दार र मट्टीतेल हुन् । प्रकाश त अब दिइने सुशासन, सेवा प्रवाह, आर्थिक अवसर र अवसरहरूको न्यायपूर्ण वितरण हो । खोजिएको नोटबुक होइन कविता हो, सरकार या कुर्सीमा बस्ने मानिसको अनुहार खोजिएको होइन परिवर्तन र रूपान्तरण हो । यस्तो परिवर्तन शासकहरूको दृष्टिकोणमा, सरकारको नीतिमा, कार्यक्रममा र परिणाममा देखिनुपर्छ । के सेवा प्रवाह सुस्त बन्यो ? कि शासकहरूको दृष्टिकोणमा परिवर्तन आयो ? परिवर्तन त आयो जस्तो कि संसद्लाई नटेर्ने व्यक्ति प्रधानमन्त्री बन्यो । राष्ट्रपतिलाई बेवास्ता गर्ने, संवैधानिक निकायहरूलाई पाँच वर्षसम्म थुनेर थुर्ने खुला धम्की दिने व्यक्ति प्रधानमन्त्री बन्यो, कर्मचारी र विद्यार्थी संगठन खारेज गरेर अधिकार संकुचन गर्ने, कानूनी प्रक्रिया र विधि मिचेर मनमौजी नागरिकहरूलाई गिरफ्तार गर्ने, संस्थाको नेतृत्व गलहत्याउने र अपमान गर्ने सरकार आयो ।
चुम्बन नगर्ने ओठ जति राम्रा होउन् तिनले प्रेमको महत्व बोक्दैनन् । हामीले अलिअलि आशा र भरोसा गरेको नयाँ पुस्ता, जेनजी पुस्ताले हाँकेको, युवाले हाँकेको सरकार हेर्दा राम्रो तन्दुरुस्त देखिनु एउटा कुरा भयो तर त्यसले के डेलिभरी दिन खोजेको हो ? समाजमा भय र त्रास सिर्जना गरेर कस्तो लोकतन्त्रतिर लैजान खोजिएको हो ? यी प्रश्नको उत्तर नआए ओठ राम्रो हुनु तर प्रेम नहुनु जस्तै हुनेछ ।

समाजमा हिजो जुन निराशा र आक्रोश थियो, जुन असन्तोषको ज्वाला दन्केर पुरानो नेतृत्व, त्यसले भित्र्याएको अहंकारी, जनविरोधी संस्कृति जलायो भन्ने ठानिएको थियो त्यो नै नयाँ अनुहारमा पनि सल्केको देखिनु अर्को दु:खान्तको संकेत जस्तो हो । कामना छ कि यस्तो नहोस् । युवालाई मेरो शुुभकामना छ । विद्यमान अर्थ–राजनीतिक संकटमाथि यो युवा मन्त्रिपरिषद्ले प्रहार गर्न सकोस् । गत वर्षको भदौरे उन्मादको समयमा गोली लागेर मरेका युवायुवतीको रगतको अपमान नहोस् । तिनका परिवारजनले गर्वले भन्न सकुन् हाम्रो आफन्तले रगत र जीवन दिएर ल्याएको परिवर्तनले हेर त देशलाई कति उज्यालो दियो ! आन्दोलनका घाइतेहरूले सडकमा मागेर खान नपरोस् ।
देश त बन्नु नै छ
मेरो देश, म तिमीलाई फेरि निर्माण गर्नेछु
आवश्यक परे आफ्नै जीवनबाट बनेका इँटाहरूले
म बनाउनेछु स्तम्भहरू
तिम्रो छानो थाम्नका लागि
आवश्यक परे आफ्नै अस्थिहरूले पनि
म सास लिनेछु
तिम्रा फूलहरूको सुगन्धमा
जुन तिम्रो यौवनले सुवासित छन् ।
म धोइदिनेछु तिम्रो शरीरमा लागेको रगत
आफ्नो आँसुको धाराले ।
फेरि एकपटक
यो घरबाट अँध्यारो हट्नेछ
म हाम्रो आकाशको नीलो रङले
आफ्ना कविताहरू रङ्गाउनेछु
….
म बूढी भएकी हुनसक्छु
तर अवसर पाएँ भने
म फेरि सिक्नेछु
म आफ्ना सन्तानहरूसँगै
दोस्रो यौवन शुरु गर्नेछु ।
–सिमिन बेहबहानी, इरानी कवि, मेरो देश, म तिमीलाई पुन: निर्माण गर्नेछु ।
केही दिन पहिले सिंहदरबारको पर्खालबाट मुश्किलले सय दुई सय मिटर पर रहेका दुई वटा सरकारी कार्यालयमा पुगेको थिएँ । फुटेटुटेका झ्यालढोका, भत्केका भुइँ र पर्खाल, डढेका प्लाष्टर र फर्निचरहरू, भुइँमा र यताउता राखिएका फाइलहरू, तैपनि काम गरिरहेका कर्मचारीहरू । यस्तो लाग्थ्यो यो देश लामो समयदेखि भग्नावशेषमाथि फाटेको जुत्ता लगाएको एउटा गोडा खोच्याएर उभिइरहेको छ । भूपी शेरचनको घण्टाघर कविता जस्तो सबै कुरा गुम्दै गएको वृद्ध र एक्लो फौजीको अवस्थामा पुगेको छ ।
भदौ २३ को बलिदानमा, बानेश्वरको सडकमा तातो गोली खाएर ढलेका युवाको समाधिस्थलमा उभिएर बालेन्द्र शाहले सरकार सम्हालेको त ६ महिना मात्रै हुँदैछ । तर यी भग्नावशेषबाट सेवा दिइरहेका भवनतिर हेर्दा लाग्छ यो सरकारको आयु पनि खरानीकै थुप्रोबाट शुरु भएर खरानीमै सकिनेछ । प्रश्न अरू पनि छन् : देश त तिमीहरूले सजिलै पोल्यौ तर खै त नयाँ बनाउने तरखर गरेको ? नबाउने देश किन जलाएको ? किन जलाइएका थिए पचासौं वर्ष लगाएर बनाएका संरचना, संस्था र संस्थागत स्मृतिहरू ? के देश यसरी नै बन्छ ? वितेका कुरा विते, आगो लगाउनेहरूले नै जिते भनेर मान्दिउँ न त भन्दा पनि अब यी खण्डहर कहिले सग्ला बन्ने हुन् भन्ने प्रश्न उठिहाल्दोरहेछ । कसले बनाउने हो भन्ने लाग्दोरहेछ ।

नेपालको जेनजी आन्दोलनलाई म त शुरुदेखि नै भनिरहेको छु हाम्रो अर्थ–राजनीतिक संकटबाट उत्पन्न निराशा र तत्कालीन सत्ता र संसद्मा रहेका दलका मुखियाहरूले जनतामाथि गरेको अपमानको बदलामा उठेको थियो । मलाई अहिले पनि यो आन्दोलनमा आफैं भौतिक रूपमा सामेल हुन नगएकोमा पछुतो छ । कमसेकम यस्तो आन्दोलनमा, हामी आफू पनि सामेल भएको भए उद्दण्ड तथा ध्वंसात्मक अतिवादीहरूको हातमा जाने थिएन । पुरानालाई विस्थापित गर्नु जरूरी थियो त्यस हदसम्म म पनि उक्त आन्दोलनको सहभागी हुँ, आन्दोलनकारी हुँ । तर भौतिक रूपमा अनुपस्थित भएपछि जो गयो उसले परिणामलाई नियन्त्रण गर्ने नै भयो । अहिले उनीहरूकै हातमा सरकार र सत्ता छ । तर यो बाँदरका हातको नरिवल बन्ने जोखिम बढ्दै गएको छ ।
हामीलाई त चाहिएको थियो वर्तमान संविधानको धर्मनिरपेक्षता सम्बन्धी अवधारणा पालन होस् । संघीयता बलियो बनोस् । स्थानीय तह प्रभावकारी बनुन् । विद्यमान संस्थाहरूमा गरिएको अत्यधिक राजनीतीकरणलाई हटाएर परिणाममुखी बनाइयोस् । तर प्रारम्भिक संकेत त्यस्तो देखिएका छैनन् । बरु जे छ त्यसलाई मात्र नष्ट गरेर गन्तव्य नठम्याएको सरकार देशमा गजधम्म बसेको देख्छुु ।
धर्मनिरपेक्षतालाई त पद तथा गोपनीयताको शपथ खाने बेलामा नै प्रधानमन्त्रीले च्यातचुत पारे । अझै पनि संसद्लाई संघीय निजामती ऐन, शिक्षा ऐन जस्ता अत्यावश्यक कानून बनाउन सक्रिय बनाइएको छैन । संघ सरकार प्रदेश र स्थानीय तहलाई शत्रु या परचक्रीका रूपमा हेर्छ भन्ने कुरा त त्रिशूली भोटेकोशी बाढीका समयमा देखिइहालेको छ ।
यसरी देश बन्दैन । पाँच वर्षका लागि भदौ २४ कै संकथनलाई अनुमोदन गर्दै उक्त घटनाका मुख्य कर्ताहरूलाई देश चलाउने वैधानिकता प्राप्त छ । यति समय त उनीहरूबाट आशा गर्नुको विकल्प छैन । तर उनीहरूले के बुझ्नुपर्छ भने जहाँ संकट हो त्यहाँ प्रहार गरिएन र मानिसहरूमा देशमा आर्थिक अवसरहरू बढेका छन् र सुशासन कायम हुँदै गएको छ भन्ने महसुस भएन भने भदौ २४ हरू छिटो–छिटो अझ उग्र रूपमा दोहोरिने छन् । फेरि पनि देखा पर्दैछ असन्तोष र आक्रोश । कति छिटो यस्तो भएको ? फेरि मैले गुन्गुनाउनै पर्ने हुनसक्छ यो कविता :
म धोइदिनेछु तिम्रो शरीरमा लागेको रगत
आफ्नो आँसुको धाराले ।
फेरि एकपटक
यो घरबाट अँध्यारो हट्नेछ
म हाम्रो आकाशको नीलो रङले
आफ्ना कविताहरू रङ्गाउनेछु
….
म बूढी भएकी हुन सक्छु
तर अवसर पाएँ भने
म फेरि सिक्नेछु
म आफ्ना सन्तानहरूसँगै
दोस्रो यौवन शुरु गर्नेछु ।
प्रतिक्रिया 4