News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउमा ३८ पेजको प्रतिवेदन तयार गरेका छन्।
- प्रतिवेदनमा उनले भोलि कार्यदलको बैठकमा पेश गर्ने तयारी गर्दै ओलीलाई हटाउने प्रयास व्यर्थ हुने बताएका छन्।
- प्रतिवेदनमा भदौ २३ र २४ को घटना दुःखद र सुनियोजित भएको, घुसपैठबाट रक्तपात मच्चाइएको दाबी गरिएको छ।
२५ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ३८ पेज लामो प्रतिवेदन तयार गरेका छन् । उनले भोलि कार्यदलको बैठकमा पेश पर्नका लागि तयार गरेको प्रतिवेदनमा उनले अहिले ओलीलाई हटाउन खोज्ने कोसिस व्यर्थ हुने बताएका छन् ।
उनले अध्यक्षको बचाउमा ल्याएको प्रतिवेदनको २० वटा हाइलाइट्स् यस्ता छन् :
– अध्यक्ष जति नै पदाधिकारीको हिस्सा विजय/पराजय वा आरोह अवरोहका लागि जिम्मेवार बन्ने नैतिकता र साहस हरेकले प्रदर्शन गर्न सक्नुपर्दछ । पार्टी अध्यक्षलाई अकारण हटाउनु पर्छ भन्ने कोशिस सिंगो आन्दोलन र पार्टी हितविरोधी कार्य हो ।
– मुख्य नेतृत्वका हिसाबले पार्टी अध्यक्षको भूमिका, जिम्मेवारी र दायित्व बढी नै हुन्छ ।
– नेपालमा भदौ २४ गते राजीनामा दिइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक नियन्त्रणमा राखिने घटनाका पछाडि भूराजनीतिक स्वार्थ प्रतिविम्बित छैन भन्न मिल्दैन ।
– हामीकहाँ भदौ २३, २४ र फागुन २१ को घटना र परिणामलाई मध्यनजर गरेर कमरेड केपी शर्मा ओलीका योगदानलाई न्यूनीकरण गर्न मिल्दैन ।
– पार्टीको विकास र लोकप्रियताको हिसाबले मात्र होइन, निर्वाचन परिणामको हिसाबले समेत उहाँको नेतृत्वकालमा पार्टीले अभूतपूर्व उपलब्धिहरु हासिल गरेको छ । यसरी हरेक हिसाबले उहाँ राष्ट्रको बलियो नेतृत्वका रुपमा स्थापित र स्वीकार्य हुनुहुन्छ ।
– उहाँ नेकपा (एमाले) को अध्यक्षका रुपमा बलियो नेतृत्व रहेका कारण नै यसप्रकारको निषेध र आक्रमण भएको छ ।
– पार्टीको मुख्य नेतृत्व माथिको प्रहार दुश्मनहरुले जानीबुझी गरेका छन् । यसको उद्देश्य, आशय र अभिप्राय दुरासयपूर्ण रहेको छ ।
– हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत सम्मानित र स्थापित राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र प्रतिशोधपूर्ण गिरफ्तारी एवम् मुद्दामामिलामा उनिँदा एकपछि अर्कोगरी सरकारले न्यायालयबाट समेत झापड खाइरहेको छ ।
– एघारौं राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई विस्थापन गर्ने कोसिस व्यर्थ छ ।
– भदौ २३ र २४ गतेको घटना राष्ट्रको जीवनमा अत्यन्त गम्भीर र दुःखद घटना हो । यस घटनाले मुलुक प्रतिगमनको बाटोतर्फ अग्रसर छ ।
– स्थापित राजनीतिक दल र नेतृत्वलाई ‘पुराना र भ्रष्ट’ को आरोप लगाएर अनुभवहीन व्यक्तिहरुको महत्वकांक्षा प्रदर्शन गर्न र सत्ताप्राप्तिको माध्यम नयाँ पुस्ता (जेन्जी) को दुरुपयोगलाई बनाउन खोजेको देखिन्छ ।
– जेन्जी पुस्ता (१३ वर्ष माथि र २८ वर्ष मुनी) को अन्तर्राष्ट्रिय आयाम विश्लेषण गर्दा… आर्थिक प्रश्न लगायतका मुद्दाहरुलाई उठाएर असन्तोष फैलाउने र सत्तापलट गर्ने प्रयास भएको पाइन्छ ।
– नेपालमा २६ वटा सामाजिक सञ्जाललाई कानूनको दायरामा ल्याउन र सूचीकरण गर्न तत्कालीन सरकारले प्रक्रिया थालनी गर्यो । त्यसो गर्ने निर्णयसँगै जेन्जीका नाममा भदौ २३ (सेप्टेम्वर ८) को प्रदर्शन भयो ।
– प्रशासनको अनुमतिमै शान्तिपूर्ण र अहिंसात्मक प्रदर्शन आव्हान गरिएको भएतापनि त्यसमा घुसपैठ र दुरुपयोगबाट षड्यन्त्रपूर्ण ढंगले रक्तपात मच्चाउने कार्य हुन पुग्यो ।
– खासमा यो घटना अन्तर्राष्ट्रिय रुपमा लोकप्रियतावादको आवरणमा भइरहेका घटना परिघटनाहरुको अर्न्तसम्बन्धित कडी थियो ।
– त्यसको निहुँ र माध्यम नवयुवा (जेन्जी) को प्रदर्शनलाई बनाइएको भएता पनि अन्तर्यमा भयानक घुसपैठ र षड्यन्त्रको प्रपञ्च जोडिएको थियो ।
– भदौ २३ गते १९ जना युवाहरूको ज्यान जाने र थुप्रै युवाहरु घाइते हुनेगरी भएको दुःखद घटनालगत्तै साँझ मन्त्रिपरिषद्को वैठक बसी घटित घटना र मानवीय क्षतिप्रति दुख व्यक्त गर्ने… निर्णय तत्कालीन सरकारले गरेको थियो ।
– सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर Gen–Z युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध छ ।
– नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ र दुरत्साहन मार्फत जिसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै होइन भन्ने पार्टीको निष्कर्ष छ ।
– तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् ।
प्रतिक्रिया 4