News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्ने औपचारिक प्रस्ताव ढाकामा भएको भेटवार्तामा अघि सारेको छ।
- बंगलादेशका राज्यमन्त्री अमिनुल हकले प्रस्ताव सकारात्मक रूपमा लिँदै नेपाललाई औपचारिक आशयपत्र पठाउन आग्रह गरेका छन्।
- भेटमा दुवै पक्षले खेलकुद र सांस्कृतिक आदानप्रदान तथा पर्वतारोहण र उच्च भूभाग प्रशिक्षणमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् ।
मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग छलफल अघि बढाउने बताएका छन् ।
भण्डारीले भेटका क्रममा हालै नेपालमा आएको विनाशकारी बाढीपछि बंगलादेश सरकारले गरेको समयमै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
भण्डारीले नेपाल र बंगलादेशबीच उत्कृष्ट राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन सकिने बताए । उनले पछिल्लो समय दुवै देशबीच कुनै द्विपक्षीय क्रिकेट शृङ्खला नभएको उल्लेख गर्दै टी–२० शृङ्खला आयोजना गर्न प्रस्ताव राखेका थिए ।
‘हाम्रो टोली बंगलादेश आउन पूर्ण रूपमा तयार छ, वा बंगलादेशलाई नेपालमा पनि हार्दिक स्वागत गर्नेछौं’ राजदूत भण्डारीले भने ।
प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राज्यमन्त्री अमिनुल हकले खेलकुद कूटनीतिलाई क्षेत्रीय सहकार्यको प्रभावकारी माध्यमका रूपमा बंगलादेशले प्राथमिकता दिएको बताए ।
उनले प्रक्रिया अघि बढाउन नेपाललाई औपचारिक आशयपत्र पठाउन आग्रह गर्दै त्यसपछि मन्त्रालयले बीसीबीसँग आवश्यक छलफल सुरु गर्ने जानकारी दिए।
भेटका क्रममा राज्यमन्त्री हकले पर्वतारोहण र उच्च भूभाग प्रशिक्षणमा नेपालसँग सहकार्य विस्तार गर्ने प्रस्ताव पनि राखेका थिए ।
प्रतिक्रिया 4