+
+
Shares
सम्झना :

बाको त्यो अन्तिम उपचार र स्वास्थ्य प्रणालीको लुट  

पिंढीमा टोलाएर बसिरहनुभएकी मेरी आमाको अनुहार र उहाँको सेतो पहिरन देख्नेबित्तिकै मेरो सातो गयो। मैले मेरी आमालाई कहिल्यै पनि त्यो रूप र अवस्थामा देख्नुपर्ला भनेर कल्पनासम्म गरेको रहेनछु।

बैकुण्ठ ढकाल बैकुण्ठ ढकाल
२०८३ भदौ २६ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले बाको २४औं पुण्यतिथिमा उनको उपचारका क्रममा स्वास्थ्य प्रणालीमा देखिएको लुट, महँगो केमो र आफन्तको बेवास्ता सम्झिएका छन्।
  • काठमाडौं हस्पिटल प्रालिमा डाक्टर मदनकुमार पियाले ‘थैली हेरेर उपचार गर्छौं’ भनेपछि लेखकले उपचार रोक्दै घर फर्किएको उल्लेख गरेका छन्।
  • बाको मृत्युको खबरपछि पिंढीमा सेतो पहिरनमा बसेकी आमालाई देख्दा आफू भक्कानिएको र आमाबा सल्लाह नटाल्दा जीवनभर पछुतो हुने लेखकले बताएका छन्।

कुशेऔंसी आउनुभन्दा ठीक तीन हप्ता अगाडि अर्थात् साउन शुक्लपक्षको अष्टमी तिथि। यो तिथि अरू कसैका लागि सामान्य एउटा दिन होला, तर मेरा लागि भने जीवनकै सबैभन्दा गहिरो घाउ र विच्छेदको दिन हो। यो मेरा बाको चौबीसौं पुण्यतिथि हो।

आजभोलि कुशेऔंसीका दिन फेसबुकका भित्ताहरू बाका तस्बिरहरूले रङ्गाउने होड चल्छ। जोसुकैले आफ्ना बासँगका पुराना–नयाँ फोटो पोस्ट गरेर श्रद्धा र भाव व्यक्त गरिरहेका हुन्छन्। तर, म आफूतिर हेर्छु- मसँग बासँगै उभिएर खिचिएको एउटा पनि फोटो छैन।

एउटा तस्बिरसम्म नहुनुको यो अभावले कतिपय समय मनलाई अमिलो बनाउँछ। तर, तस्बिर नहुँदैमा सम्झनाहरू कहाँ मेटिंदा रहेछन् र ? मसँग बासँगका अनगिन्ती, अगणनीय र सप्तरङ्गी सम्झनाहरू छन्, जुन आज २४ वर्ष बितिसक्दा पनि हिजो जस्तै एकदमै ताजा र जीवन्त छन्।

बा र मेरो उमेरको अन्तर ठीक ४२ वर्षको थियो। आज समयको चक्र घुम्दै जाँदा म त्यो उमेरको अन्तरभन्दा पनि अगाडि पुगिसकेको छु। तर बा र छोराको सम्बन्ध केवल उमेरको अङ्कले तोकिंदैन; त्यो त व्यवहार र सामीप्यताले निर्धारण गर्छ भन्ने कुरा मैले त्यतिखेरै अनुभव गरेको थिएँ। बासँग मेरो सम्बन्ध परम्परागत कडा र धम्क्याउने खालको थिएन। हाँसखेल, ठट्टा गर्ने अनि एकदमै सहज वातावरण थियो।

हामी सँगै चुङ्गी खेल्थ्यौं, सँगै गट्टा खेल्थ्यौं, गुच्चा (गुइँ) खेल्थ्यौं, डन्डिबियो र बाघचाल खेल्थ्यौं। यो क्रम निरन्तरजसो चलिरहन्थ्यो। सँगै खेल्ने त्यो क्रमभित्र धेरै कुराहरू हुन्थे— शारीरिक र मानसिक व्यायाम त आफ्नो ठाउँमा छँदैथियो, त्यसभन्दा ठूलो कुरा उमेरको अन्तरले बा र छोराको आत्मीयतामा कुनै दूरी ल्याउँदैन भन्ने ठोस उदाहरण हाम्रो सम्बन्ध थियो।

तर, भाग्यको खेल पनि बडो क्रूर हुने रहेछ। जीवन खुशी र आत्मीयताका साथ अगाडि बढिरहेकै बेला एक्कासि थाहा भयो— हाम्रो परिवारको मुख्य धरोहर, हाम्रा बा ढल्दै हुनुहुन्छ। उहाँ असाध्य रोगको शिकार हुनुभएको रहेछ।

जुनसुकै सन्तानलाई आफ्ना पितामाता एक सेकेन्ड भए पनि बढी बाँचुन् भन्ने हुन्छ।

बा बिरामी परेदेखि उहाँको अवसानसम्मको त्यो छोटो तर कहालीलाग्दो अवधिमा मैले जेजति भोगें, त्यसले मेरो जीवनलाई सधैंका लागि बदलिदियो। त्यही बीचमा मैले नेपालको शिक्षा प्रणालीको कुरूप चित्र देखें, स्वास्थ्य क्षेत्रमा चलिरहेको अमानवीय लुटको पर्दा उघारिएको देखें।

अनि बा ढल्दै गर्दा यो समाजले कस्तो व्यवहार गर्छ र आफ्नै भनिने आफन्तहरू कसरी पन्छिन्छन् भन्ने निर्दयी यथार्थ पनि प्रत्यक्ष भोगें। ती सबै दृश्यहरू अहिले पनि मेरो आँखाअगाडि जस्ताको तस्तै नाचिरहेका छन्। कतिपय कठोर वाक्यहरू आज पनि कानमा गुन्जिरहन्छन्, जसलाई मैले चाहेर पनि बिर्सन सकेको छैन।

शायद बाकै गुण सरेको होला, आफ्ना लागि रित्तिएर पनि अरूलाई सहयोग गर्ने उहाँको बानी थियो। त्यही वर्ष दाइ जमानी बसेर आफन्तको उद्धार गर्दा वर्षौंसम्म जुन मानसिक र आर्थिक तनाव बेहोर्नुभयो, त्यो कहिल्यै बिर्सने स्थिति नै छैन। त्यो बेला सिर्जना भएको तनाव र अल्झनहरू आजसम्म पनि पूर्ण रूपमा सल्टिएका छैनन्। त्यसको तानाबाना अहिलेसम्म लम्बिरहेको छ। हेरौं, तानाबाना तन्किन्छ कि टुङ्गिन्छ !

हाम्रो समाज कति विचित्र र निर्दयी छ भने बिरामीको उपचारका लागि ऋण माग्न जाँदा पत्याउँदैन र मुन्टो बटार्छ। अनि अंशियार ? वंशियार पनि त यही समाजकै अङ्ग न हुन् ! मृत्युपछि गुठी उठाउन र रीतिरिवाजको कुरा गर्न आइपुग्छन्, तर बिरामी पर्दा ‘अलिकति सहयोग गर’ भन्दा मुन्टो बटारेर हिंड्छन्।

मैले अघि नै स्वास्थ्य प्रणालीको लुटको कुरा गरें। यो देशका गिनेचुनेका ठूला अस्पताल र नामी विशेषज्ञहरू बिरामीको रोग हेरेर होइन, उसको थैली हेरेर उपचार गर्छन् भन्ने कुराको प्रत्यक्ष साक्षी म आफैं बनें।

पुल्चोकस्थित एउटा निजी स्वास्थ्य क्लिनिकबाट रिफर भएर त्रिपुरेश्वरस्थित काठमाडौं हस्पिटल प्रालि पुग्दाका ती डाक्टर मदनकुमार पियाका वाक्यहरू म कहिल्यै बिर्सन सक्दिनँ। उहाँले सोझै भन्नुभएको थियो— ‘हामीले केमो चलाउन शुरु गर्नुपर्नेछ। एउटा किस्ता (सर्कल) को ३५०० देखि १० हजारसम्म पर्छ। तपाईंको थैली हेरेर उपचार शुरु गर्छौं। एउटा–दुइटा सर्कल चलाउनुपर्ने पनि हुन सक्छ, बीसौं–पच्चीसौं सर्कल पनि जान सक्छ।’

डाक्टरको मुखबाट ‘थैली हेरेर उपचार गर्छौं’ भन्ने शब्द सुन्नेबित्तिकै म अवाक् भएँ। मेरो मनमा बाको ज्यान जोगाउने तडप थियो, तर उहाँहरूको ध्यान मेरो थैलीमा थियो। मैले मनमनै तत्कालै निर्णय गरें— यस्ता थैली हेर्नेहरूसँग बाको उपचार गराउँदिनँ। हामी त्यहाँबाट जुरुक्क उठ्यौं र आफ्नो वासस्थानतर्फ लाग्यौं।

भोलिपल्ट हामी नरदेवी आयुर्वेदिक औषधालय पुग्यौं। त्यहाँका डाक्टरले केही औषधि लेखिदिए र एउटा शर्त राखे— ‘यो औषधि पुतलीसडकस्थित झण्डु बाम क्लिनिकमा मात्रै लिनू है। अन्यत्र यसको मिश्रण मिलाउन सक्दैनन्, झण्डु नै जानू, त्यहाँ मिलाएर दिन्छन्।’

पुतलीसडकबाट औषधि लिएर पाटन फर्किंदै गर्दा ट्याक्सीमै मलाई झल्यास्स सम्झना भयो— क्यान्सरका लागि त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) उपयुक्त थलो हो। र, यो कुरा २०५९ साल वैशाख दोस्रो हप्ताको थियो।

केही दिनमै हामी भरतपुर पुग्यौं। त्यहाँको व्यवहारले एक हप्तामै दोस्रोपटक अवाक् भएँ। भोलिपल्ट अस्पतालको गेटनजिकै सञ्चालनमा रहेको ‘पाठक फर्मा’ का प्रोप्राइटरको सहयोग वा भनौं फोर्समा बालाई अस्पताल भर्ना गरियो।

हुन त पाटनका एक डाक्टरले बाको ‘डेथ डे’ दिइसकेका थिए। तर ‘सास रहेसम्म आश रहन्छ’ भन्ने मानवीय भावनाले हामीले उपचार शुरु गर्‍यौं। जुनसुकै सन्तानलाई आफ्ना पितामाता एक सेकेन्ड भए पनि बढी बाँचुन् भन्ने हुन्छ।

दुर्भाग्य ! बाको कमजोर शरीरले दोस्रो सर्कलभन्दा बढी केमो धान्न सकेन। डाक्टरहरूले अब घरै फर्काएर सकेको हेरचाह र सेवा–शुश्रूषा गर्नु नै उत्तम हुने सल्लाह दिए। बालाई घर फर्काइयो।

त्यसपछि म आफ्नो पढाइ र बाँच्ने जोरजुलुम गर्नुपर्छ भनेर काठमाडौं फर्किएँ। अनि त्यही बीचमा एक दिन बाको स्वर्गारोहण भएको खबर आयो। खबर पनि यस्तो बेलामा आयो कि काठमाडौंमा साँझ परिसकेको थियो, जबकि घटना दिउँसोकै रहेछ। सञ्चार र यातायातको सहजता नभएको त्यो समयमा म सोही रात घर पुग्न सकिनँ। भोलिपल्ट बिहान मात्रै घर पुगें र काजकिरियाका लागि कोरा बस्ने तयारी भयो।

मलाई पहिलेदेखि नै थाहा थियो कि बाको मृत्यु एकदमै नजिक छ। यो दुःखद् खबर मैले कुनै पनि दिन सुन्नुपर्छ भन्नेमा म मानसिक रूपमा पूर्वतयारीमा थिएँ। त्यसैले खबर सुन्दा म त्यति धेरै सम्हालिन नसक्ने गरी दुखिनँ, मेरा आँखाबाट आँसु पनि खसेनन्। मलाई लाग्यो— म बलियो भइसकेको छु। तर मेरो त्यो भ्रम तब टुट्यो, जब म आफ्नै घरको बलेसीमा पुगें।

पिंढीमा टोलाएर बसिरहनुभएकी मेरी आमाको अनुहार र उहाँको सेतो पहिरन देख्नेबित्तिकै मेरो सातो गयो। मैले मेरी आमालाई कहिल्यै पनि त्यो रूप र अवस्थामा देख्नुपर्ला भनेर कल्पनासम्म गरेको रहेनछु। आमाको त्यो उज्यालो हराएको अनुहार र सेतो कपडा देख्नेबित्तिकै मेरो सम्हालिन खोजेको बाँध एकाएक फुट्यो।

मेरा आँखा यसरी बगे, यसरी बगे— जसरी बर्खामा मुसलधारे पानी पर्दा छानाको पानी बलेसीमा झर्छ। मुखबाट कुनै आवाज निस्किएन, केवल आँखाबाट अविरल आँसु मात्रै बगिरहे। आमाको आँखाको अवस्था पनि ठ्याक्कै त्यस्तै थियो। आमा र छोरा विना शब्द केवल आँसुको माध्यमबाट रोइरह्यौं।

आज बाको चौबीसौं पुण्यतिथिमा यी सबै घटनाक्रमहरू सम्झिरहँदा मलाई अर्को एउटा कुराले भित्रैदेखि बिझाइरहन्छ।

आफ्ना आमाबाबुले दिएको निर्देशन पालना गर्नका लागि कुनै पनि सन्तान कहिल्यै पछि हट्नुहुँदैन।

शायद म त्यतिबेला आठ कक्षामा पढ्दै थिएँ। त्यो बेला मेरो पढाइकै विषयलाई लिएर बाले मलाई एउटा निर्देशन दिनुभएको थियो। ‘आमाबाबुको निर्देशन भनेको सन्तानका लागि पालना गर्ने कुरा हो, त्यसको कुनै तर्क वा जवाफ हुँदैन’ भन्ने कुरा मैले अहिले परिपक्व भएपछि भोगिरहेको छु। तर उतिबेला मैले बाको त्यो निर्देशन पालना गरिनँ। उहाँले भनेको नमानी आफ्नै अडानमा रहँदाको परिणाम मैले अहिलेसम्म पनि जीवनका विभिन्न मोडहरूमा भोगिरहेको छु र पछुताइरहेको छु।

अहिले म आफैं दुई बालक सन्तानको बा भएको छु। उनीहरूको निर्णय क्षमता विकास भइसकेको छैन। भलै बेलामौकामा अधिकारका कुरा गर्छन्। कर्तव्य नि भन्दा ? जवाफ हुँदैन। उनीहरूको भलाइको कुरा गर्दा रिसाउँछन्। आदेश, निर्देशन र अनुशासन उल्लङ्घन गरेर आफूलाई पराक्रमी ठान्छन्। यसले साह्रो मन दुख्छ। अनि आफ्नो बाल्यकाल र किशोरावस्था सम्झन्छु, त्यो बेला बाआमाको बेहिसाब मन दुखाएको रहेछु भनेर आत्मग्लानि हुन्छ। निरुपाय हुनु अर्को महादुःख रहेछ।

आज कुशेऔंसीको दिनमा म सम्पूर्ण सन्तानहरूलाई यति मात्र भन्न चाहन्छु— आफ्ना आमाबाबुले दिएको निर्देशन पालना गर्नका लागि कुनै पनि सन्तान कहिल्यै पछि हट्नुहुँदैन। यदि उहाँहरूको मार्गनिर्देशनलाई बेवास्ता गरियो भने पछि गएर मैले जस्तै जीवनभर पछुताउनुको अर्कै कुनै विकल्प रहँदैन। माफी माग्नका लागि बाआमा नरहन पनि सक्नुहुन्छ।

आज बा हामीमाझ हुनुहुन्न। उहाँका सप्तरङ्गी सम्झनाहरू, उहाँले सिकाउनुभएका भलाइका पाठहरू नै मेरो जीवनका असली मार्गदर्शक हुन्। बा, जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?