+
+
Shares
विचार :

‘सबैतिरका हिमाली क्षेत्रको तापक्रम बढ्दो छ’

हाम्रो मात्रै होइन, ताजिकिस्तान, किर्गिस्तानलगायतमा तापक्रमले हिमनदीहरू भत्किने क्रम बढिरहेको छ। हाम्रो तुलनामा तियान–शान हिमाल शृङ्खलाहरूमा हिउँ पग्लिने क्रम झनै बढी छ।  हिमाली क्षेत्रको हिउँ पग्लिन, हिमनदीलाई कमजोर बनाउन बढ्दो तापक्रम कारक बनिरहेको देखिन्छ। हिमतालहरूको तुलनामा हिमनदीको जोखिम अनुमान गर्न निकै कठिन छ।

डा. डीबी कट्टेल डा. डीबी कट्टेल
२०८३ भदौ २६ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० भदौको रसुवागढी बाढी लाङटाङ लिरुङ हिमालको उत्तरी भेगको हिमनदी खसेर भएको ‘ग्लोसियर कोल्याप्स’ भएको प्रारम्भिक अध्ययनले देखाएको छ।
  • अनलाइनखबरसँगको कुराकानीमा आईटीपीआरका सहप्राध्यापक कट्टेलले यो घटना हिमाली क्षेत्रमा सार्वजनिक रेकर्डमा नदेखिएको अत्यन्त भयानक बाढी भएको बताउनुभयो।
  • उहाँले रसुवागढीमा बाढीले करिब १३ किलोमिटर दूरी छिटो पार गरेको र पूर्वसूचना दिने मौकासमेत नपाएको उल्लेख गर्नुभयो।

१० भदौको रसुवागढी बाढी आकस्मिक रूपमा भएको एउटा विपत्ति हो। घटनापछि चाइनिज एकेडेमी अफ साइन्सेसअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च (आईटीपीआर) को वैज्ञानिक टिमले प्रारम्भिक अध्ययन सुरु गरेको छ।

घटनाको विषयवस्तुमा जानुअघि हामीले भूबनोट बुझ्नुपर्ने हुन्छ। तिब्बती पठार क्षेत्र (जसलाई टिबेटन प्लेटो पनि भनिन्छ) मा ताजिकिस्तान, किर्गिस्तान, पाकिस्तान, अफगानिस्तान, भारत, नेपाल र भुटानसमेत पर्छन्। माथिपट्टि तियान–शान हिमाल शृङ्खला पर्छ।

त्यसभन्दा तल हिन्दुकुश पर्वतमाला छ। नेपालको माथिल्लो भागमा हिमालय शृङ्खला छ, त्यसलाई पश्चिमी, मध्य र पूर्व भाग भनेर अध्ययन गरिन्छ। रसुवागढी बाढीको घटना हुनुमा भूबनोटको ऐतिहासिक पृष्ठभूमि छ।

इतिहासमा नदेखिएको बाढी

यो बाढी हिमाली क्षेत्रमा हुने सबैभन्दा भयानक र विपत्तिको घटना हो। हामीले अहिलेसम्म जानकारी पाएसम्म यो खालको घटना रेकर्ड गरिएको छैन, मापन भएको छैन। सार्वजनिक रेकर्डमा आएको यो अत्यन्त भयानक घटना हो।

हुन त यस्तै प्रकृतिका अरू घटना नभएका होइनन्। उदाहरणका लागि सन् २०२१ को भारतको चमोली घटना अर्को उदाहरण हो। तर तुलनात्मक रूपमा यो निकै भयानक र विशाल भयो। पुरानो इतिहासका घटनाहरू अध्ययन गर्दा यो खालको क्षति र विनाश गरेका तथ्यहरू भेटिँदैनन्।

लाङटाङ लिरुङ हिमालको उत्तरी भेगको हिमनदी खसेर यो घटना भएको हो, जसलाई प्राविधिक भाषामा ‘ग्लोसियर कोल्याप्स’ भन्ने गरिन्छ। लाङटाङ लिरुङ हिमालको उत्तरी भागमा एउटा हिमनदी थियो, त्यो तल खसेपछि बाढीको सुरुआत भएको हो। हिउँको ढिस्को ल्हेन्दे खोलामा पुग्यो र बाढीको रूप लिन थाल्यो।

अनि ठूलो दबाबमा बाढी तल खस्न थाल्यो। खसेको हिउँ र ढिस्कोको मात्रा अत्यन्त धेरै थियो भने गति अति नै तीव्र बन्यो। घटनापछि छलफल र अन्तर्वार्ताका क्रममा धेरै जनाले खसेको हिमनदीको आयतनका बारेमा जिज्ञासा राखिरहनुभएको छ, अहिले अनुसन्धानकै विषय भएका हुनाले अनुमान सार्वजनिक नगरौं। तर यति भन्न सकिन्छ- हिमनदीको सानोतिनो भाग खसेर यो तहको क्षति हुँदैन, ठूलै भाग खसेको हो।

भयानक बाढीको रहस्य

एकाएक त्यसरी हिउँ खस्नुका विभिन्न कारण हुन सक्छन्। नाटकीय रूपमा बढेको तातोपनाले तल हिमनदीको केही भाग तत्काल पग्लिएको हुन सक्छ। तलपट्टि कमजोर जमिन थियो र मनसुन सक्रिय भएको बेलामा घटना भएको थियो। माथिल्लो भागमा झरी नपरेको भए पनि तलपट्टि जमिनको सतह पक्कै पनि भिजेको र चिसो हुनुपर्छ।

माथिबाट झरेको हिउँको ढिस्कोले तल जमिनको सतह पनि सँगसँगै बगाइदिएको हुनुपर्छ। हामीले हेर्दा करिब ५ हजार मिटरको उचाइबाट दुई हजार मिटर तल हिउँ खसेको अनुमान गरेका छौं। अत्यधिक ऊर्जाका कारण खसेको हिउँ तत्काल पग्लियो र त्यसले नै ठूलो खालको बाढी सिर्जना गर्‍यो।

माथिबाट त्यत्रो हिउँको ढिस्को खस्ने र खसेको ठाउँमा गेग्रानहरू छ भने त्यहाँ तत्काल पोखरी वा ताल बन्न सक्छ; जसलाई हामी प्राविधिक भाषामा ‘ब्यारियर लेक’ भन्छौं। तर त्यहाँको अवरोध (ढिस्को) कमजोर भएकाले विस्फोट भएर जान सक्ने अवस्था पनि थिए। फेरि, माथिबाट जुन जोडले खस्थ्यो, त्यसपछि दोस्रोपटक त्यो तहको बलका साथ तल झर्ने अवस्था पनि थिएन।

पुरेपु हिमनदी र च्छोछेन खोला मिसिने ठाउँ रसुवागढीसम्म करिब १३ किलोमिटर जतिको दूरीमा छ। बाढीले त्यो दूरी निकै कम अवधिमा पार गरेको देखिन्छ। हामी त अहिले अनुमान गर्ने र ‘कुनै कारण होला’ भन्नेसम्मको आँकलन गरेका हौं; बाढीले त्यस्तो ठूलो रूप र गति लिनुमा कुनै न कुनै कारण हुनुपर्छ।

बाढी कुन गतिमा थियो ? कसरी धक्का दियो ? त्यसले कुन तहको ऊर्जा उत्सर्जन गर्‍यो ? भन्नेलगायतका विषयमा अध्ययन भइरहेको छ। हामीले अनुमान गरेभन्दा निकै छिटो घटना भएको हुनुपर्छ, नत्र एकैचोटि त्यति ठूलो मात्रामा बाढी आउन सक्दैन।

माथिबाट पहिरो गयो, सँगसँगै ढुङ्गागिट्टी, लेदो र माटो मिसिएर तल झर्न थाल्यो। यति छिटो काम भयो कि त्यति ठूलो बाढी कतै रोकिने र अल्मलिने मौकै पाएन। ठाडो र भिरालोयुक्त त्यहाँको भूबनोटका कारणले जति तल गयो, उति पानीको मात्रा पनि बढ्दै गएको हुनुपर्छ।

भारतको चमोली बाढीमा पनि यस्तै लक्षणहरू देखिएको थियो; त्यहाँ ढुङ्गासहितको बाढीले भित्ता पनि कोतरेर छियाछिया बनाएको थियो। अति ऊर्जासहित पानी र ढुङ्गा बगेपछि तलपट्टिको कमजोर भित्ता क्षतविक्षत बनाउनु त स्वाभाविकै पनि थियो।

बाढीले यति छिटो असर गरेको थियो कि तल्लो तहमा सूचना प्रदान गर्ने मौकासमेत मिलेन। माथिल्लो भागमा रहेकाहरूले तल्लो भागमा रहेकाहरूलाई “बाढी आउँदै छ है, भाग्नु” भनेर खबर गर्न सक्ने अवस्थै भएन।

बाढी सिर्जना हुने आधारबाट हेर्दा भारतको चमोली र रसुवागढीको घटना मिल्दोजुल्दो हो। अघि पनि उल्लेख भइसकेको छ; जनधनको क्षतिका दृष्टिकोणले भने त्यहाँको र रसुवागढीको घटना तुलना हुनै सक्दैन।

कतिपय मानिसहरूले यो ठाउँमा नै किन यस्तो घटना भयो भनिरहेका छन्। ‘यो ठाउँमा जाने, तर अर्को ठाउँमा नजाने’ भन्ने प्रश्न नै रहेन। कुनै अस्थिर कारणले पहिरो गएको हुन सक्छ।

हिमालतिर सरिरहेको विपत्ति

अहिले रसुवा घटनाका कारण विनाशकारी जस्तो देखिए पनि हिमनदीहरू हाम्रा जीवनका आधार हुन्। हिमनदीका कारण कैयौं अर्ब जनसङ्ख्याको जीवनयापन सम्भव भएको हो। उच्च भेगबाट बग्ने खोला, नदीहरू सबै हिमनदीको पानीबाट उद्गम भएका हुन्छन्। हिमालबाट हिउँ पग्लेन भने त हाम्रा कैयौं नदी प्रणाली नै रहँदैनन्।

समुद्रबाट उडेको जलवाष्प उच्च पहाडी र हिमाली भेगमा हिमपातको रूपमा झर्छ। त्यही हिउँ हिमाली क्षेत्रमा वर्षौंसम्म थुप्रिएर बरफ बन्छ। र, बरफयुक्त हिमनदीहरू कालान्तरमा बिस्तारै तल झर्दै जान्छन्। हिमनदीहरू हाम्रा जलवायु प्रणालीका वर्षौं पुराना अभिलेखहरू समेत हुन्।

हिमाली क्षेत्रमा हिमपहिरो त प्रायः गइरहेकै हुन्छ। पछिल्ला वर्ष हिउँ पग्लिने घटना प्रकोपका रूपमा देखा पर्न थालेको छ। विश्वव्यापी रूपमा फैलिएको तापमान वृद्धिले प्रकोपहरुलाई निम्त्याउन उत्प्रेरकको भूमिका खेलिरहेको छ। हिमाली क्षेत्रको हिउँ पग्लिन, हिमनदीलाई कमजोर बनाउन बढ्दो तापक्रम कारक बनेको छ।

हाम्रो हिमाली क्षेत्रमा मात्रै होइन, ताजिकिस्तान, किर्गिस्तानलगायतका क्षेत्रमा तापक्रमले गर्दा हिमनदीहरू भत्किने क्रम बढिरहेको छ। तियान–शान हिमाल शृङ्खलाहरूमा हिउँ पग्लिने क्रम बढिरहेको छ। हाम्रो तुलनामा उनीहरूकोमा त्यो अनुपात झनै बढी छ।

कतिपयले हिमपहिरो र हिमताल खस्ने प्रक्रिया एउटै भएको ठान्छन्, तर त्यसमा केही भिन्नताहरू रहन्छन्। ढिलै भए पनि हिमनदी बिस्तारै बगेर तलतल सरेका हुन्छन्। हिमनदीमा दरार र चिराहरू हुन्छन्। पग्लिएको पानी त्यहाँभित्र पसेमा चिरा फैलाउन अझै भूमिका खेलेको हुन्छ, जसले ‘लुब्रिकेन्ट’ को काम गर्छ र हिमनदी तल खस्न भूमिका खेलिदिन्छ।

सीमित र सन्तुलित तापले हिमनदी आफ्नो गतिमा बिस्तारै तल झर्दै जान्छ र करोडौंका लागि जीवनको आधार बनिदिन्छ। तर तापक्रम बढेमा भने हिमनदी छिटो पग्लिएर तल झर्छ र कतिपय अवस्थामा विनाश निम्त्याउँछ।

हिउँ पग्लिने र त्यसबाट प्रकोप निम्तने घटना हिमाली क्षेत्रहरूको साझा समस्या हो। यस्ता प्रकोपले कुनै मुलुकको सीमा र भूगोलको हेक्का राख्ने कुरै भएन। नेपाल, भारत, भुटान, पाकिस्तानलगायत ताजिकिस्तान, किर्गिस्तान, अफगानिस्तानलगायतका मुलुकहरूले यस्तै समस्या साझा रूपमा झेलिरहेका छन्।

विरासतमा ल्याइएको प्रकोप

हिमाली क्षेत्रको जलचक्रमा सानो परिवर्तन आयो भने त्यसले दक्षिण एसिया मात्रै होइन, संसारकै जलवायु चक्रलाई प्रभावित पार्छ। हिमाली क्षेत्र हाम्रा लागि मात्रै होइन, पृथ्वीकै लागि संवेदनशील ठाउँ हो।

रसुवा बाढीको हामीले संयुक्त रूपमा सहकार्यका साथ अध्ययन र अनुसन्धान गरिरहेका छौं। थप अध्ययनका लागि मोनिटरिङ स्टेसन पनि ‘सेट–अप’ भइसकेको छ। यस्ता विषयमा नेपाली विशेषज्ञहरू नै संलग्न भएर प्रतिष्ठित जर्नलहरूमा सयौं अनुसन्धानपत्र प्रकाशित भइसकेका छन्।

विकसित मुलुकहरूमा कुनै संरचना बनाउनुपरेमा, नयाँ योजनाबद्ध रूपमा काम गर्नुपरेमा वैज्ञानिक रूपमा भएका यस्ता अध्ययन र अनुसन्धान प्रतिवेदनलाई आधार बनाइन्छ, यस क्षेत्रका विज्ञहरूको रायसल्लाह लिने गरिन्छ। तर हाम्रोमा त्यसलाई नीतिगत योजनामा जोड्ने र कार्यान्वयन गर्ने सोचाइ नपुगेको महसुस हुन्छ।

अहिले मात्रै होइन, गत वर्ष असारमा पनि रसुवागढीमा बाढी आएको थियो; जुन ‘ग्लोसियर लेक आउटबर्स्ट फ्लड’ (GLOF) हो। त्यतिबेला र अहिले बाढी आउने संयन्त्र अलि फरक छ। हिमताल विस्फोटका घटना र हिमनदी खस्ने प्रक्रिया र सन्दर्भ अलि फरक हुन्छ।

हामी नेपालीहरूले तीनवटा कुरा विरासतमा ल्याएका छौं :

पहिलो, हामी यस्तो क्षेत्रमा हुन्छौं, जहाँ अत्यधिक वर्षा हुन्छ। हाम्रा लागि वर्षा अनौठो होइन, तर भिरालो जमिनबाट बहने वर्षाले हरेक वर्ष बाढी निम्त्याइरहेको छ। हाम्रो जमिनको प्रणाली कमजोर छ। पहाडी ठाउँठाउँमा डोजरले कोतरेका छौं। सडक बनाउँदा पर्यावरण जोगाइएको छैन। हाम्रो भूबनावट पनि अस्थिर खालको हुने नै भयो।

दोस्रो, भुइँचालोका दृष्टिकोणले पनि हामी जोखिमपूर्ण ठाउँमा नै छौं। भारतीय र तिब्बती प्लेट जोडिने ठाउँमा रहेकाले हामीले बारम्बार विध्वंशकारी भूकम्प खेपिरहेका छौं।

तेस्रो, अहिले विश्वव्यापी तापमान वृद्धिले हिमाली क्षेत्रलाई नै सबैभन्दा मार परिरहेको छ, हिमजन्य प्रकोपहरू बढिरहेका छन्।

यस्तो अवस्थामा हामीले प्रकोपको जोखिम हेरेर पूर्वाधार बनाउन अनिवार्य भइसकेको छ। अब हामीलाई यी जोखिमका बारेमा स्पष्ट थाहा छ। बाढी, पहिरो र अरू प्रकोप त हाम्रा नियमित नियति भइसकेका छन्।

हिमाली क्षेत्रको तापमान वृद्धि एउटा देशको मात्रै समस्या भएन। यस्ता मामिलामा अन्तर्राष्ट्रिय सहकार्य असाध्यै महत्त्वपूर्ण छ। चीनलगयात विकसित छिमेकी मुलुकहरूले हासिल गरेको प्रविधिलाई हामीले उपयोग गर्न सक्नुपर्छ। अन्तर्राष्ट्रिय सहकार्यका लागि हामीले पनि भूमिका खेल्न सक्नुपर्छ।

अनिवार्य छ, पूर्वसूचना प्रणाली

अहिलेसम्म हेर्दा हिमाली क्षेत्रका जोखिमहरूको अध्ययन हिमताल विस्फोट र त्यसपछि हुने बाढीबारे नै ज्यादा केन्द्रित हुने गरेका देखिन्छन्। अहिलेसम्म हिमपहिरो र हिमताल खस्ने र ठूलो विपत्ति निम्तिने घटनाहरूलाई त्यति केन्द्रित भएर हेरिएको थिएन।

अरूको तुलनामा हिमनदी खसेर हुने घटनाहरू अनुमान र आँकलन नै गर्न नसकिने किसिमको हुन्छ। कसैले पनि ‘यहाँ यति ठूलो मात्रामा हिमनदी खस्दै छ’ भनेर अनुमान गर्न सक्दैन। रसुवागढीको घटनाले हाम्रो हिमनदीको अवस्था अध्ययन गर्नुपर्ने चुनौती थपिएको छ।

सन् २०१२ मा हामीले हिमनदीहरूको अवस्थाका बारेमा एउटा अनुसन्धान गरेका पनि थियौं। त्यसमा ‘केही हिमनदीहरू पग्लिने दर उच्च छ’ भनेर निष्कर्ष निकालिएको थियो। हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लिने दर अलि बढी देखिएको थियो।

पग्लिने दरलाई मात्रै हामीले केन्द्रित गरेका थियौं, तर हिमनदी नै यो तरिकाले झर्छ भन्ने हेक्का राख्ने कुरा पनि भएन। रसुवागढीको घटनाले हिमनदीमाथि अध्ययन गर्न, तिनको अवस्था बुझ्न वैज्ञानिक समुदायलाई झस्काएको छ। हामीलाई मात्रै होइन, विश्वभरका वैज्ञानिक र विशेषज्ञ समूहको ध्यान तानेको छ।

(चाइनिज एकेडेमी अफ साइन्सेसअन्तर्गतको ‘इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च’ का सहप्राध्यापक कट्टेलसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?