+
+
Shares

सहकारीले पनि उच्चपदस्थ पदाधिकारीको पहिचान विवरण राख्नुपर्ने

मागर्दशनले तोकेका व्यवस्था कार्यान्वयन नगरे सहकारी संस्था निलम्बन वा दर्ता खारेजसम्म प्राधिकरणले गर्न सक्ने छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सहकारी संस्थालाई ग्राहक पहिचानसहित उच्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने व्यवस्था लागु गरेको छ ।
  • राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धीकरणको जोखिम मध्यम उच्च देखाएको छ ।
  • राष्ट्रिय सहकारी प्राधिकरणले सहकारीमार्फत सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानी रोक्न बैंकसरह मार्गदर्शन लागु गरेको छ ।

२६ भदौ, काठमाडौं । सरकारले सहकारी संस्थाले पनि ग्राहक पहिचान सहित उच्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने भएको छ ।

सहकारीबाट उच्च दरमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम देखेपछि सरकारले कडाइ गरेको हो ।

सरकारको राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन अनुसार सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धीकरणको जोखिम मध्यम उच्च रहेको छ ।

नेपाल फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ । एफएटीएफले सोही सूचीबाट बाहिर आउन विभिन्न कार्ययोजना दिएको छ ।

सोही अनुसार सरकारले राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन तयार गरेको हो । यसै साता मात्रै ग्रे लिस्टकै सन्दर्भमा मलेसियामा ‘फेस टु फेस’ छलफल भएको छ । सोही छलफलले पनि सहकारी क्षेत्र सहितको जोखिम न्यूनीकरण गर्न सुझाएको छ ।

प्रतिवेदन अनुसार भ्रष्टाचार तथा गलत क्रियाकलाप गरेर कमाएको आम्दानी धेरै सहकारीमा जम्मा हुन सक्ने अनुमान छ । त्यसैले सरकारले राष्ट्रिय सहकारी प्राधिकरण मार्फत बैंक तथा वित्तीय संस्थाकै तहमा सम्पत्ति शुद्धीकरणको व्यवस्था लागु गरेको हो ।

सहकारी प्राधिकरणले मार्गदर्शन नै बनाइ सहकारी क्षेत्रबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण व्यवस्था गरेको लागु गरेको हो ।

प्राधिकरणको मार्गदर्शन अनुसार सहकारीहरूले नगदमा आधारित कारोबार गर्ने सदस्यलाई सेवा दिने भएकाले जोखिम उच्च छ । यस्तो कारोबारले सम्पत्ति शुद्धीकरणको जोखिम उच्च हुने मार्गदर्शनले औँल्याएको छ ।

सहकारीले नियन्त्रण उपाय, कर्मचारी तालिम, प्रविधि उपलब्धता र सम्पत्ति शुद्धीकरण क्रियाकलाप पहिचान गर्ने क्षमतामा कमी रहेको ठहर गर्दै त्यसमा सुधारका लागि मार्गदर्शन ल्याएको प्राधिकरणले जनाएको छ ।

धेरै सहकारी अझै पनि कानुनी व्यक्ति र संस्थासँग जोडिएको हुनाले तीबाट पनि सम्पत्ति शुद्धीकरणको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

मार्गदर्शनले व्यापक वित्तीय गतिविधि, राजनीतिक रूपमा खुलेका उच्चपदस्थ अधिकारीहरूको संलग्नता, व्यापारी, सहकारी कानुनभन्दा बाहिर गएर रकम दुरुपयोग र सम्पत्ति शुद्धीकरण कार्यान्वयन तथा पर्यवेक्षणमा रहेको गम्भीर कमजोरी सुधार गर्नुपर्ने औँल्याएको छ ।

मार्गदर्शन अनुसार सहकारीले सदस्यको ‘ड्युडेलिजेन्स’ गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सदस्य पहिचान विवरण, वास्तविक धनी पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ सदस्यको खाता खोल्दा सहकारीले सदस्य पहिचान गर्नुपर्छ । सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी शंका भए, उच्च जोखिमयुक्त कारोबार वा उच्च जोखिम भएका सदस्यहरूसँग कारोबार गर्दा सदस्यको ड्युडिलिजेन्स गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

यदि कुनै सदस्य प्रतिबन्धित सूचीसँग मिलेमा पुष्टि गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । संयुक्त राष्ट्र संघको वेबसाइटमा सूची प्रकाशित भएको २४ घण्टाभित्र तुरुन्तै सम्पत्ति रोक्का गर्न पनि मार्गदर्शनले तोकेको छ ।

सम्पत्ति रोक्का गर्नुअघि सदस्यलाई जानकारी भने नदिने मागर्दशनमा उल्लेख छ । सम्पत्ति रोक्का गरेको तीन दिनभित्र प्राधिकरण वा सहकारी विभागलाई जानकारी गराउने व्यवस्था मार्गदर्शनले गरेको छ ।

मागर्दशन अनुसार सहकारी क्षेत्रले शंकास्पद कारोबार वा गतिविधि गरेको रिपोर्टिङ वित्तीय जानकारी इकाइमा गर्नुपर्ने मार्गदर्शनले तोकेको छ । सहकारीले विशेषगरी कुनै सदस्यले नक्कली नाममा खाता खोल्ने वा सञ्चालन गर्ने प्रयास गरे इकाइमा रिपोर्ट गर्नुपर्छ ।

खाता खोल्दा जानकारी दिन हिचकिचाउँछ, न्यूनतम वा काल्पनिक जानकारी दिन्छ वा पुष्टि गर्न गाह्रो विवरण बुझाउँछ भने त्यसलाई पनि सहकारी संस्थाले रिपोर्ट गर्नुपर्ने हुन्छ ।

त्यसैगरी मार्गदर्शनले सहकारीलाई दैनिक १ करोडभन्दा धेरैको एकै पटक वा बारम्बार गरी कारोबार गर्न भने पनि शंकास्पद कारोबारमा रिपोर्टिङ गर्नुपर्छ ।

त्यसैगरी सहकारी संस्थाले विनाकारण खाता खोले तथा वित्तीय प्रोफाइल, कारोबारको ढाँचा वा खाताको गतिविधिमा अचानक परिवर्तन आए इकाइमा रिपोर्टिङ गर्नुपर्छ । सदस्यले व्यक्तिगत खाता व्यावसायिक वा अन्य उद्देश्यका लागि वा व्यावसायिक खाता व्यक्तिगत उद्देश्यका लागि प्रयोग गरेको शंका लागे, रकमको स्रोत र उद्देश्य लुकाउने प्रयासजस्तो देखिने गरी जटिल कोष हस्तान्तरण शृङ्खला सञ्चालन गरे पनि इकाइमा जानकारी गराउनुपर्छ ।

सम्पत्ति बिक्रीबाट प्राप्त आम्दानी भनी रकम पटक–पटक जम्मा गरिए, पहिले निष्क्रिय खाताबाट ठूलो रकम नगद झिकिए, अपर्याप्त मौज्दातका कारण चेक नियमित बाउन्स/फिर्ता भए, बचत खातामा सदस्यको प्रारम्भिक घोषणाभन्दा धेरै फरक हुने गरी ठूलो मात्रामा कारोबार गरे, सहकारी संस्थाबाट सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत बैंक खातामा रकम हस्तान्तरण गरे इकाइलाई जाकारी दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

त्यसैगरी कुनै सदस्यको ऋण भुक्तानीले अस्वाभाविक ढाँचा देखाए, खाताहरू आधिकारिक दर्ताविना घरजग्गा वा सम्पत्ति खरिदका लागि प्रयोग गरेको लगायत गतिविधि सम्पत्ति शुद्धीकरणको शंकास्पद गतिविधिमा पर्ने भएकाले इकाइलाई जानकारी गराउनुपर्ने मागर्दशनमा छ ।

मागर्दशनले तोकेका व्यवस्था कार्यान्वयन नगरे सहकारी संस्था निलम्बन वा दर्ता खारेजसम्म प्राधिकरणले गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?