२६ भदौ, काठमाडौं । ‘अरु कुराहरू त एडजस्ट गरौंला । तर, फिजियो (थेरापिस्ट) एडजस्ट गर्न मिल्दैन । अहिले नै फिजियो नभई हुँदैन । राज्यले एकजना फिजियो पनि पठाएको छैन’ २०औं एसियन गेम्सको तयारीका लागि वैदेशिक भूमिमा प्रशिक्षण गरिरहेका एक खेल प्रशिक्षकले केही समयअघि दिएको अभिव्यक्ति हो यो ।
देशका लागि पदक जित्ने लक्ष्यसहित प्रशिक्षणमा जुटिरहेको नेपाली टोलीलाई सबैभन्दा ठूलो आवश्यकता त्यतिबेला फिजियो थेरापिस्टको थियो ।
तर, टोलीसँग फिजियो थेरापिस्ट थिएन । प्रशिक्षणका क्रममा जतिबेला पनि इन्जुरी हुन सक्छ । अझ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाका क्रममा इन्जुरी हुने सम्भावना अझै बढी हुन्छ ।
यस्तो अवस्थामा खेलाडीको चोट पहिचानदेखि उपचार र पुनः प्रशिक्षणमा फर्काउनेसम्म फिजियोको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, एसियन गेम्सको तयारीमा रहेका अधिकांश नेपाली खेलाडीले फिजियोको सुविधा पाउन सकेनन् ।
अहिले त्यही नेपाली टोली जापानमा हुने २०औं एसियन गेम्सका लागि अन्तिम तयारीमा छ । असोज ३ गतेदेखि जापानको आइची–नागोयामा हुने एसियाडमा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुँदैछन् । खेलाडी, प्रशिक्षक, अफिसियल तथा अन्य सदस्य गरी नेपालको टोली २११ सदस्यीय हुनेछ । तर, २११ सदस्यीय टोलीमा खेलाडीको स्वास्थ्य र उपचार हेर्ने मेडिकल टिमको संख्या जम्मा ६ जना छ ।
क्रिकेट टोलीका लागि छुट्टै एकजना फिजियो छन् । त्यसबाहेक चारजना फिजियो, एकजना डाक्टर र एकजना अर्थोपेडिक/एन्टी डोपिङ डाक्टर गरी मेडिकल टिम सीमित गरिएको छ । मेडिकल टिम ६ जनामा समिति हुँदा त्यसको तेब्बर संख्यामा कर्मचारी तथा सदस्यहरू एसियाडका लागि जापान जाने सूचीमा छन् ।
घुम्ने बाहनामा अन्तर्राष्ट्रिय प्रतियोगिता लर्को लागेर जाने पुरानै परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।
मन्त्रीले सचिवसम्म तथा कर्मचारीदेखि राखेप सदस्यसम्म एसियाडमा जापान जान लागेका हुन् । खेलाडीका लागि फिजियो व्यवस्थापन गर्न नसक्ने सरकारले मन्त्रालयदेखि एसियाडका लागि जापान जाने टोलीमा खेलाडी र खेलकर्मी मात्र छैनन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारी र विभिन्न शाखाका कर्मचारी पनि जापान जाने तयारीमा छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेल आफैं २०औं एसियन गेम्समा सहभागी हुँदैछन् । मन्त्रीसँगै खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, मन्त्रीका निजी सचिव दिवाकर भुजेल र अर्थ मन्त्रालयका कर्मचारी सुबोध खतिवडा पनि जापान जाने सूचीमा छन् ।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ तथा सदस्यहरू पवन शाही र शक्ति गौचन पनि एसियाडमा सहभागी हुँदैछन् । राखेप सदस्य–सचिव रामचरित्र मेहता नेपाली टोलीको ‘चिफ द मिसन’का रुपमा जापान जानेछन् । डेपुटी ‘चिफ द मिसन’का रुपमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले रहनेछन् ।
यसबाहेक राखेपका विभिन्न विभाग तथा शाखाका प्रमुख र कर्मचारीको पनि लामो सूची छ । राखेप खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, अधिकृत सानुराजा केसी, प्रशिक्षण तथा ट्रेनिङ विभागका निर्देशक विष्णुबहादुर सिंह, लेखा शाखा प्रमुख रिखिराम पोखरेल, खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, प्रशासन शाखा प्रमुख भोजानन्द राई, कार्यालय सचिव सुजनलाल श्रेष्ठ र स्टोर शाखा प्रमुख देवराज कटुवाल जापान जाने सूचीमा छन् । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ पनि जापान जानेछन् ।
यी सबैलाई हेडक्वार्टर (एचक्यू) अफिसियलका रुपमा एसियन गेम्समा सहभागी गराइँदैछ । राखेपको मिडिया शाखा प्रमुख खुसराज दाहाल पनि पत्रकारका रुपमा एसियाडमा सहभागी हुनेछन् ।
एसियाडका लागि राखेपबाट मात्रै १० जना कर्मचारी एचक्यू अफिसियलका रुपमा जापान जाने तयारीमा छन् ।
एचक्यू अफिसियलको मुख्य जिम्मेवारी टोलीको समन्वय गर्ने, खेलाडीको प्रशिक्षण र खानाको तालिका व्यवस्थापन गर्ने, आवश्यक प्रशासनिक काम मिलाउने तथा अन्य अफिसियलसँग समन्वय गर्ने हो ।
तर, यति ठूलो संख्यामा एचक्यू अफिसियल आवश्यक नपर्ने भन्दै खेलकुदकर्मीहरूले प्रश्न उठाएका छन् । ‘सामान्यतया दुई–तीन जना एचक्यू अफिसियल भए पुग्छ । तर १०–१० जना जानु भनेको घुम्ने बहाना मात्रै हो,’ राखेपका एक सदस्यले भने । कर्मचारी लामबद्ध भएर विदेश जाँदा राज्यलाई आर्थिक भारसमेत पर्ने उनको भनाइ छ ।
राखेप सदस्य–सचिव रामचरित्र मेहता भने जापान जाने सबै व्यक्ति आवश्यकताका आधारमा छनोट भएको दाबी गर्छन् । ‘सामान दिन स्टोरको मान्छे जानुपर्यो । लेखाको मान्छेले पैसा बुझाउनुपर्यो । सबै आ–आफ्नो जिम्मेवारीमा जान लाग्नुभएको हो । अरु मान्छे कोही गएको छैन,’ मेहताले भने ।
प्रतिक्रिया 4