News Summary
Generated by OK AI. Editorially reviewed.- मदन पुरस्कार विजेता लेखक छुदेन काविमोले हाल भारतको कालिम्पोङमा बसेर साहित्यकर्म गरिरहेका छन्।
- उनी भोटेकोशी बाढीको भिडियोले दिकदार बनेको र हजारौँले सबथोक गुमाउँदा केही दिन काम गर्ने जाँगरै नआएको बताए।
- काविमोले नयाँ कथाको अनुसन्धान सुरू गरेको, फुटबल, पुस्तक र फिल्मप्रतिको रुचि, अनि नेपाली साहित्यको अनुवाद आवश्यक रहेको बताए।
२०८१ मा उरमाल मार्फत मदन पुरस्कार विजेता लेखक हुन्, छुदेन काविमो । हाल उनी भारतको कालिम्पोङमा बसेर साहित्यकर्म गरिरहेका छन् । उनको उरमाल सहित फातसुङ उपन्यास र १९८६ कथासंग्रह प्रकाशित छ । सीमान्तकृत समुदाय, पहाडी जीवन र सामाजिक राजनीतिक संघर्ष उनको लेखनको मुख्य केन्द्र हुन् । यसपटक उनै छुवेनसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
१. हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
नयाँ लेखन-सुरू गर्नु मेरो निम्ति घर फर्किनु जस्तै हो, जहाँ फर्किएपछि नै म जहिले खुसी हुनेगर्छु । सकुन अनुभव गर्न सक्छु । तर, जीवन हो, सधैं एकनासे रहन्न । कहिलेकहीं यतिकै भौतारिनुपर्छ । यता र उता दौडिरहनुपर्छ । यो पालि निकै दिन यस्तै भयो । लेखनको नयाँ दुनियाँमा फर्किन मलाई लामै समय लाग्यो ।
जे होस्, उरमाल आएको निकै लामो अन्तरालपछि फेरि नयाँ कथाको निम्ति अनुसन्धान सुरू गरेको छु । नयाँ भूगोल र नयाँ कथाको यात्राले मलाई जहिले रोमाञ्चित बनाउने गर्छ । नयाँ पात्रहरूले आफ्नो कथा मात्रै लिएर आउँदैनन्, अलिकति खुसी, अलिकति उत्साह र नयाँ आशा पनि लिएर आउँछन् ।
त्यसैले मलाई लाग्छ, पछिल्लो समय अनुभव गरेको खुसी मेरो निम्ति नयाँ कथाको यात्राको सुरूवात गरिनु नै हो । किनकि, अब फेरि म आफ्नै कथाको घर फर्किरहेको छु ।
दिक्क बनाएको कुरा ?
केही दिनअघि मात्रै नेपालको भोटेकोशीमा आएको बाढीले मलाई साह्रै दिकदार बनायो । २०२३ मा टिस्टाले जुन रूप लिएको थियो, यसचोटि भोटेकोशीले त्यो भन्दा भयानक रूप देखायो ।
बाढीको भिडियो हेर्दा नै हरर फिल्म जस्तो लाग्ने अवस्था थियो । ‘यो त रियल होइन हौ’ कसैले यसो भनिदिइयोस् जस्तो मलाई घरीघरी लागिरहेथ्यो । तर, त्यो त वास्तविक थियो । जहाँ हजारौँ मान्छेले आफ्नो सबथोक गुमाएका थिए । सैकडौंको ज्यान गएको थियो । त्यो पनि बिनाकारण ।

पहिले पहिले यस्ता दुर्घटना हुँदा रेडियोको खबर वा पत्रिकामा समाचार मात्र आउँथे, त्यसैले त्यति धेरै विरक्त हुनु पर्दैन थियो । अचेल यस्ता घटनाहरूको भिडियो मिनटमै सर्कुलेट भइदिन्छ । नेपालमा यसचोटि आएको बाढीको दृश्य त्यस्तै थियो । जसले मलाई निकै दिनसम्म काम गर्ने जाँगरसम्म दिएन ।
मनमनै सोंचिरहेँ, ‘कोशीलाई फेरि पनि प्रेमसँग महसुस गर्न पाइयोस्। नेपाललाई फेरि पनि उठेर हाँसेको देख्न पाइयोस् ।’
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
पछिल्लो समय मै वापस आऊंगा हेरेँ, इम्तियाज अलीसँग यतिकै प्रेम बस्यो । उनको एउटा पोडकास्ट हेर्दै थिएँ, दुईवटा कुरा ठ्याक्कै आफैंसँग कनेक्ट भए जस्तो लाग्यो । म जहिले गाडीको पछिल्लो सिटमा बसेर कथा सोँचिरहन्थे, उनले रेलको खिड़कीमा बसेर कथा सोंचेको कुरा सुनाइरहेका थिए । रमाइलो लाग्यो । अर्को कुरा उनले दार्जीलिङ चियाको प्रसंग यति प्रेमसँगले गरे, त्यसपछि त मलाई उनको काम गर्ने तरिका, जीवन शैली र संघर्ष सबथोक आफ्ना लाग्न थाले ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
पत्रपत्रिका समाचारको निम्ति भन्दा बढी साहित्यिक सामाग्रीहरूको निम्ति खोजिरहेको हुन्छु । जो अचेल पहिले भन्दा कम भेट्न थालेको छु । कलेज पढ्दै गर्दाको कुरा हो, काठमाडौंको कान्तिपुर र नागरिक खूब खोज्थेँ । कालिम्पोङमा पुरानो बसुन्धरा पुस्तक पसल थियो । जुन पसल अहिले बन्द भइसकेको छ ।
त्यो बेला बसुन्धुराका रत्न उपाशकले काठमान्डोका यी पत्रिका कसरी कालेबुङ ल्याइपुर्याउँथे, थाहा छैन । तर म नछुटाई पढ्थेँ । कमसेकम शनिबारे अङ्क म छुटाउँदिनथेँ । भारततिरबाट निस्किने सुनचरी र हिमालय दर्पणको त्यो बेलाको साहित्यिक सामाग्री पनि निकै राम्रो हुन्थ्यो । शुक्रबार र आइतबार छापिने यी सामाग्री पनि नछुटाइ पढ्थेँ । अहिले सुनचरी बन्द भइसक्यो । दर्पणको साहित्यिक पृष्ठ पहिले जस्तो रहेन ।

त्यसैले खासै पढ्न छाड़ेको छु । बरू नेपालका अनलाइनहरू तिर त्यही किसिमको सामाग्री, लेखकहरूको विचार र अन्तरवार्ताहरू कुरिरहेको हुन्छु ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
जिन्दगी रिराइट गर्न मिल्ने थोक होइन । तर, मसँग कथाको त्यस्तो कुनै खराब ड्राफ्ट पनि छैन, जसलाई रिराइट गरिरहन परोस् । उसो त खराब भए नि सही भए नि, जिन्दगी आफ्नै हो । त्यसैले यसलाई फर्केर सुधार्ने होइन, अघिको बाटो सही चुन्दै जाने हो । उसै पनि म त्यही यात्रालाई इन्जोय गर्न चाहन्छु, जहाँ अलिअलि थकथकी होस् र अलिअलि चुकचुकी होस् । केही अपूरा कथा, केही अधुरा सपनाहरू बिनाको जीवन त के जीवन, होइन र !
२. बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
फुटबल नै खेलियो । प्लास्टिकको गोली डोरीले बाँधेर पनि खेलियो । जुत्ता नभएकोले खाली खुट्टै पनि खेलियो । तर, खूब खेलियो । त्यै भएर फुटबललाई अहिले पनि म प्रेम गर्छु । किनकि, यो खेलसँगै इमोसन पनि हो । हरेकचोटि खेल्दा फुटबलले एउटा न एउटा नयाँ साथी भेटाइदिइरहेको पनि हुन्छ । अहिले पनि सकेसम्म हरेक बिहान म ग्राउण्डमा हुन्छु । साथीहरूसँग फुटबल खेलेर दिनको सुरूवात गर्छु । मेरो निम्ति आज पनि मर्निङ वर्क फुटबल नै हो ।
साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए?
त्यस्तो केही छैन । जब लेख्न थाले, धेरैजनाले मलाई काविमो भन्न थाले । थाहै नपाई मेरो निम्ति आफ्नो ‘थर’ नाम जस्तो बनिदियो । अहिले पनि धेरैले मलाई छुदेन होइन, काविमो भनेर बोलाइरहेका हुन्छन् । अझ फातसुङ आएपछि धेरैले मलाई किताबको नाउँले बोलाइरहेका हुन्थे । धेरैजनाले फोनमा मेरो नम्बर धरि फातसुङ भनेर सेभ गरेको भेटेको छु । कवि सुधिर छेत्रीले त मलाई छुदेन भनेर नबोलाएको लामै समय भए जस्तो लाग्छ । जहिले जुट्नेबेला उहाँ गफ दिनुहुन्छ, एकक्षण बसिदिऊँ होइन फातसुङ?
तपाईंको कोहीसँग झगडा परेको थियो?
छैन । म खासै झगडामा विश्वास गर्दिनँ । चित्ता नपरे बरू चुपचाप बस्छु । जब विचार मिल्दैन, तर्क गरिरहन पनि बेकार लाग्छ । यस्तो बेला म एक्लै बस्न रूचाउँछु । एकजनाले चुप लागेर बसेपछि अर्कोले झगडा गरिरहने कुरै भएन, त्यसैले यो मामिलामा म सुरक्षित पनि छु ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो?
छैन । सेलिब्रेटी भन्नसाथ हाम्रो दिमागमा फिल्मका हिरोइन नै सबभन्दा अघि आइदिने रहेछ । तर, सिनेमामा देखिएका हिरोइनहरू मेरा निम्ति सधैं ‘वाऊ’ मै सिमित रहे । जस्तै; डियर कमरेड हेर्दा रश्मिका मलाई वाऊ लागे । ईगा हेर्दा सामान्था प्रभु वाऊ लागे । मनि हाइस्ट हेर्दा अल्बा फ्लोरस र उर्सुला कोरबेरो वाऊ लागे । धेरै दिनसम्म दिमागमा टोक्यो र नैरोबी घुमिरहे । महारानी हेर्दा हुमा कुरैशी वाऊ लागे । दे दे प्यार दे हेर्दा रकुल प्रित वाऊ लागे । जारी हेर्दा मिरूना मगर वाऊ लागे । वाऊ र क्रस अलग हो नि, होइन र!
३. सिनेमा, पुस्तक र कला
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
त्यो जमानामा टीभी थिएन । हिउँदाको बेला गाउँमा भिडियो देखाउन नयाँ मान्छे आइपुग्थे । डोकोमा जेनेरेटर बोकेर आएका मान्छे संसारका सबै भन्दा धनी मान्छे लाग्थे । तर, त्यही धनी मान्छेले पाँच रूपियाँ नहुने हामी जस्तालाई पूरा फिल्न हेर्नै दिँदैन थिए ।
गाउँको क्लबघरतिर हप्तादिनसम्म फिल्म देखाइन्थ्यो । जहाँ हरेक बेलुकी मान्छेका भीड लाग्थे । म पनि भाईसँग क्लब घर पुग्थे । तर, हामीसँग दुई रूपियाँ मात्रै हुन्थ्यो । पैसा नभएपछि भिडियोवालाले हामीलाई दैलौमै रोकिहाल्थे । हामी ठण्डामा खिड्कीको चेपबाट आधा फिल्म हेर्थ्यौं ।

मध्यान्तर भएपछि बल्ल भिडियोवालाको मन बदलिन्थ्यो । उनी दुई रूपियाँ थापेर हामीलाई भित्र छिराउँथे । हामीले हेर्ने फिल्म प्राय: नेपाली नै हुन्थ्यो । जाडोमा लुकलुक काँप्दै क्लब बाहिर बसेका हामी जब भित्र छिर्थ्यौ, सुनिल थापाले हिरोलाई थर्काउन थालिहाल्थे । उनले हिरोलाई थर्काएको म हेर्नै सक्दिनँ थिए । अझ, जब गुन्डाले हिरो पिट्न थाल्थ्यो, म पिसाब आएको नक्कल गर्दै फुत्त बाहिर निस्किन्थेँ । कुटाई सकेपछि बल्ल भित्र छिर्थेँ । धेरै फिल्म यसरी नै हेरियो ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
फिल्ममा सबै भन्दा बलियो कुरा कथा नै हुनुपर्छ जस्तो लाग्छ । तर, पछिल्लो समय बलिहुडका अधिकांश फिल्महरूमा कथा नै हुँदैन । अमीर खानकै पछिल्लो फिल्म सितारे जमीन पर पनि आशा अनुरूप मन परेन । जब कथा कमसल हुँदै जान्छ, तब लार्जन देन लाइफवाला फिल्महरूतिर भुलिन कर लाग्ने रहेछ । त्यसैले दक्षिण भारतीय प्रभाश, अल्लू अर्जुन, महेश बाबु, रामचरण-हरूको फिल्म पनि हेरिरहेकै हुन्छु ।
साह्रै मन परेका फिल्म ?
इरानियन फिल्म स्टोनिङ अफ सोरोयम मलाई साह्रै धेर मन परेको फिल्म हो । फ्रिदोने साहेबजामको उपन्यास ला फाम लापिदे लाई केन्द्रमा राखेर बनाइएको यो फिल्म हेर्दा म धेरैचोटि रोएको छु ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
बलिहुडका अधिकांश फिल्महरू अचेल यस्तै हुन्छन् । देशको सत्ताले फिल्म निर्माणमा पनि ठूलै राजनीति गरिरहेको हुन्छ? अथवा फिल्म निर्माण गर्नेहरूले सत्ताको हावा हेरेर पैसा असुलाई हुने कथा देखाउन चाहिरहेको हुन्छ ? त्यो उनीहरूलाई थाहा होला । तर, अचेल बलिहुडका अधिकांश चर्चामा आएका फिल्महरूमा कलाको सट्टा सत्ताको नारा र रंग धेर देखाइरहेको देखिन्छ ।
हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
किताब चयन गर्दा होस् वा फिल्म छनौट गर्दा होस्, सामान्य मान्छेले गरिरहेको प्रतिक्रियालाई म जहिले ध्यानमा राख्छु । फिल्मको निम्ति त अचेल सहजै रेटिङ बुझ्न पनि सकिहालिन्छ । रेटिङ ठीक लागे, एक्लै गएर हलमा नै फिल्म हेर्छु । एक्लै हाँस्छु । एक्लै रून्छु । यसो गर्न मलाई सधैँ रमाइलो लाग्छ ।
पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्दा कस्तो खालका पढ्नुहुन्छ ?
राम्रो पुस्तक हरेक पाठकसम्म कुनै न कुनै किसिमले आइपुगिरहेकै हुन्छ । उसै पनि, किताब पढ्नेहरूले राम्रा पुस्तकको चर्चा हर अवसरमा गरिरहेका हुन्छन् । सामाजिक सञ्जालतिर लेखिरहेका हुन्छन् ।
खाली यति बुझ्न जरूरी छ कि किताबबारे आम पाठकले बोलिरहेका छन् वा लेखककै सर्कलभित्रकाहरूले बलजफ्ती प्रचार गरिरहेका छन् । त्यति बुझ्न सके, राम्रा किताब छुट्टाउन गाह्रो पर्दैन । मसँग पनि ढिलोछिटो दुईचार राम्रा किताबहरू त आइपुगिरहेकै हुन्छन् । समाजसँग जोड़िएर लेखिएका कथा र बोल्न नसक्नेहरूको आवाजलाई बुलन्द गरिएका किताबहरूले मलाई जहिले आकर्षित गरिरहेको हुन्छ ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
त्यस्तो दिनै बिताउने किसिमका पात्र त मसँग कोही छैनन् । तर, यदि जीवित हुँदो हो त म अमृता प्रीमतलाई एकचोटि भेट्न चाहन्थेँ । पछिल्लोचोटि जयपुर लिट फेस्टमा गुलजार र जावेद अक्खतरहरूको नजिक उभिन पाउँदा नि मलाई यही आभाश भएको थियो ।
यस्तो सम्भाव हुँदो हो त, म अमृता प्रीतमसँग दुईचार कुरा गर्न चाहन्थे । तपाईंले गर्ने प्रेमको शैली कसरी यति धेरै अलग र सकरात्मक भाइब दिने किसिमको भयो होला? भनी सोध्न चाहन्थेँ । लेखन मार्फत् मात्र होइन, जीवन मार्फत् पनि दुनियाँलाई प्रेमको नयाँ परिभाषा सिकाइराख्ने, यी लेखिकाको हात छोएर भन्न चाहन्थे, मैं तुम्हे फिर मिलुँगे ।
एउटा सफल लेखकलाई तपाईंले कसरि परिभाषित गर्नुहुन्छ?
सफल लेखक ऐना जस्तै हुन्छन्, जहाँ हरेक पाठकले आफ्नो प्रतिविम्ब देख्न सक्छन् । मलाई त्यही लेखक सफल लाग्छन्, जसले पाठकहरूलाई आफ्नै दुनियाँमा लिएर जान्छन् । र मनमा सुटुक्क एउटा घर बनाइराखेर छोड़िदिन्छन् ।
खासमा नवलेखकहरूलाई तपाईंको के सुझाव छ?
अरू भन्दा राम्रो लेख्न चाहनु हुन्छ भने अरूले भन्दा धेरै पढ्नुहोस् । धेरै खट्नुहोस् । अनुसन्धान गर्नुहोस् । रिराइट गर्नुहोस् । गुटबाजीतिर ध्यानै नदिनुहोस् । तपाईं अलिकति अघि बढे, तपाईंको खुट्टा तान्नेहरू तपैंले नजिक सम्झेका मानिसहरू नै आइपुग्छन् ।
कोही कोही त आफ्नो लेखनलाईसम्म माया मारेर तपाईंको नेगेटिभ प्रचार गर्न समय खर्चिन्छन् । यस्तो बेला हताश नहुनुहोस् । सम्झिनुहोस्, मेरो लेखनमा सास रहेछ । दम रहेछ । त्यसपछि अझ ढुक्क भएर लेख्नुहोस् । लेखिरहनुहोस् ।
नेपाली लेखकहरू विश्वव्यापी हुन कहाँ समस्या भइरहेको छ?
विश्व साहित्य भनेकै अनुवाद हो । नत्र, तपाईंले पढ्ने विश्व साहित्य पनि कुनै न कुनै ठाउँको स्थानीय साहित्य नै हो । अनुवाद भएपछि नै किताबमा शक्ति छ भने नयाँ पाठक खोज्दै संसार घुम्दै तपाईंकहाँ आइपुग्ने हो ।
त्यसैले, हाम्रो पनि राम्रो किताबको अनुवाद हुन जरूरी छ । तर, यसको निम्ति लेखक आफैंले मेरो किताब अनुवाद गरिदिनुस् भन्दै गुहार लगाउने होइन । यसरी गरिएको अनुवादले हामीलाई फेरि पनि कहीं पुर्याउने छैन ।
४. घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
घुमफिर गर्छु । पछिल्ला केही समय देखि यता त किताब कै कारण नयाँ शहर र नयाँ ठाउँ पुगिरहेको छु । कहिले अनुसन्धानको क्रममा त कहिले लिटरेचर फेस्टिभलहरूको बहनामा नै मैले धेर घुमिरहेको रहेछु । तर, जुनै कारण पनि नयाँ ठाउँ र नयाँ मान्छे भेट्ने अवसर त मैले धेरथोर पाइरहेकै छु ।
सबभन्दा धेरै गएको र जान मन भएको सहर ?
पछिल्लो समय धेरै गएको सहर काठमाडौं हो । घरिघरि पुग्न मन परिरहने सहर पनि यही हो । किनकि, म काठमाडौंलाई धेरै प्रेम गर्छु । अनि, मलाई थाहा छ, यो सहरले पनि कहिलेकहीं मलाई प्रेम गरिरहेको हुन्छ ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
गीत र लेखनबीचको सम्बन्ध जहिले अद्भुद छ । म त कहिले गीत सुन्दै लेखिरहेको हुन्छु, कहिले लेख्दै गीत सुनिरहेको हुन्छु । हाराकी मुराकामी भन्छन्, हरेक राम्रा लेखकले संगीत सुन्छन् ।
मलाई नि त्यस्तै लाग्छ । केही लेख्नको निम्ति मान्छेको मनमा झङ्कार उत्पन्न हुन जरूरी छ । र मान्छेको मनलाई झङ्कृत गर्ने काम सबैभन्दा बलियोसँगले संगीतले नै गर्नसक्छ ।
के कुराको विशेष सोख छ ?
मान्छेहरूका कथा सुन्ने । मलाई किताबको निम्ति अनुसन्धान गर्दै गर्दा सामान्य मान्छेका असामान्य कथाहरू सुन्न सधैं रमाइलो लाग्छ ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मलाई जे दिए फरक पर्दैन । मेरा केही साथीहरू छन्, उनीहरू छटपटिरहेका हुन्छ, ‘तीनदिन भयो लाफिङ खान मन परिरहेको छ । पानीपुरी खाना नपाएर कस्तो भइसक्यो ?’ कोही भनिरहेका हुन्छन्, ‘आज त आफ्नै हातले माछा बनाएर खान्छु । इलिज खाना मन परेको कतिदिन भइसक्यो।’

तर, मलाई त्यस्तो कहिले हुँदैन । हप्तादिनदेखि कुनै परिकार खाना मन लाग्दाको अवस्था कस्तो हुन्छ, मलाई थाहै छैन । म त टेबलमा जे देख्छु, त्यही कुरा अस्तिदेखि खाऊँ खाऊ लागिरहेको थियो कि क्या हो; जस्तो किसिमको भइदिन्छु । नभएको खाने कुरा सोच्दै घुरिने काम कहिले गर्दिनँ।
तैपनि मलाई थकाली खाना र मोमो सधैं प्रिय लाग्छ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किताब दोकान छिरेपछि केही न केही नयाँ किन्न मन लाग्छ । एमोजनबाट पनि किताब नै मगाइरहेको हुन्छु । यी बाहेक अरू थोक किन्ने खासै रूचि हुन्न ।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
आफैं किन्छु । तर, त्यो पनि सधैं होइन्, आवश्यक पर्दा मात्र किनमेल गर्छु । फिल्म हेर्न जाँदा इच्छा लागे मल पस्छु । नत्र मलाई मार्केट पसिरहनु नै झिझो लाग्छ ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
छैन त्यस्तो । मलाई महँगा कुराहरूको खासै शोक छैन ।
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
म सामान्य फोन चलाउँछु । पछिल्लो समय एउटा राम्रै गिफ्ट फोन हराइपठाएँ । अहिले भीभो ६० चलाइरहेको छु ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
त्यसरी समय नै हेरेर सञ्जाल चलाउदिनँ । तर, धेरैवटा इन्फरमेसन सञ्जालबाट नै आइरहेको हुन्छ । अचेल मानिसहरूसँग जोडिने माध्यम पनि यही बनेको छ । त्यसैले, मोबाइल मेरो वरिपरि नै रहन्छ । समय-समयमा हेरिरहन्छु । फेसबुक, ट्वीटर, इन्स्टा सबै चलाउँछु ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ ?
खासै चलाउँदिन । कहिलेकहीं च्याटजेपीटी मार्फत् इन्फरमेसनहरू खोजिरहेको हुन्छु । तर, भरोशा लाग्दो पाउदिनँ ।
५. रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
केही छैन । किनकि, म पुनः जन्मको कुरालाई विश्वास नै गर्दिनँ । बरू, राम्रो किताब पढ्नुहोस् । राम्रो फिल्म हेर्नुहोस् । तपाईंले एउटै जन्ममा दुईचार अरू जीवन बाँच्ने अवसर पाउनु हुनेछ । म यो कुरामा चाहिँ मनैदेखि विश्वास राख्ने गर्छु ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
संघर्षबाट उठेर आएको मान्छे हुँ । सानातिना कुराहरूको खासै तनाव लिदिनँ । कहिलेकहीं समस्या भइहाले गीत सुन्छु । साइक्लिङ गर्छु । फुटबल खेल्न जान्छु । किताब लिएर महानन्द नदीको किनारतिर पुग्छु । हल्का भइजान्छु ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मनपर्छ ?
चैत वैशाखमा जब डढेलो लाग्छ । अनि, डढेलो लागेको दुईचार दिनमा जब वर्षात् हुन्छ, पानीले भिजेको खराने माटोको सुगन्ध मलाई सबै भन्दा मिठो लाग्छ । यस्तो बेला म आफ्नै बाल्यकाल सम्झिन्छु । आफ्नै गाउँ सम्झिन्छु । नोस्टाल्जिक बन्छु ।
अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?
सधैं डाउन टू अर्थ नै रहनू । तिम्लाई यस्तै राम्रो देख्छ ।
तपाईंलाई अत्यन्तै प्रभाव पारेको कुनै पात्र, व्यक्ति अथवा घटना कुनै छ ?
प्राइमेरी स्कूलकी गुरूमा शकुन्तला राई।
म त्यो गाउँमा हुर्किएको हुँ, जहाँ प्राइमेरी स्कूल सकेर हाईस्कूल पुग्नलाई ३ घण्टा हिँड़्नुपर्थ्यो । यस्तो अन्काउन्टर गाउँमा यी गुरूमा आएर हामीलाई अक्षर चिनाउनु भो । जीवनलाई सहज ढंगले बुझ्न सिकाउनु भयो । धर्म भन्दा मानवता सधैं माथि हुन्छ भनेर बुझाउनु भयो । र सब भन्दा ठूलो कुरा पढ्नु पर्छ भन्ने चेत दिल र दिमागमा उमारिदिनु भयो ।
उहाँ नहुनु हुँदो त म आज यहाँ हुन्थिनँ ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
सके, आजको समय लेखिराखिदिनुहोस् । नभए, दुईचार बिरूवा रोपेर छाडिदिनुहोस् । सबभन्दा ठूलो कुरा भएको खोला नदीलाई बचाइँराखिदिनुस् । यी सब कुरा आउँदो पुस्तालाई काम लाग्नेछ । निश्चय काम लाग्नेछ ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं।
प्रतिक्रिया 4