News Summary
Generated by OK AI. Editorially reviewed.- एन्थ्रोपिकले क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास भएको दाबी गर्दै रिपोर्ट सार्वजनिक गरेको छ।
- रिपोर्टअनुसार एआई एजेन्टले मालवेयर विकास, फिसिङ, डेटा चोरी र सुरक्षा कमजोरी पहिचानजस्ता काम स्वचालित रूपमा गर्न थालेका छन्।
- कम्पनीले अलिबाबासँग सम्बन्धित खाताबाट क्लडमा १५ करोड १० लाखभन्दा बढी एक्सचेन्ज गरेर क्वेन मोडल सुधार्न अनधिकृत डिस्टिलेसन गरिएको आरोप लगाएको छ।
२६ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका घटनाहरू डिसेम्बर २०२५ देखि अगस्ट २०२६ सम्मका हुन्।
रिपोर्टअनुसार एआईको प्रयोग अब सामान्य प्रश्नोत्तर वा सामग्री तयार पार्ने काममा मात्र सीमित छैन। आक्रमणकारीहरूले एआईलाई लक्ष्य पहिचान गर्ने, सुरक्षा कमजोरी खोज्ने, मालवेयर बनाउने, फिसिङ अभियान चलाउने, चोरी गरिएको डेटा व्यवस्थापन गर्ने र सामाजिक सञ्जालमा नक्कली सूचना फैलाउने काममा समेत प्रयोग गर्न थालेका छन्।
एन्थ्रोपिकले आफ्नो रिपोर्टमा एआईको भूमिकालाई ‘सहयोगी’ बाट ‘एजेन्ट’ बन्नतर्फ अघि बढिरहेको बताएको छ। यसको अर्थ- एआईलाई मानिसले लक्ष्य र निर्देशन दिएपछि अनुसन्धान, परीक्षण र अन्य धेरै चरण आफैं सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको छ।
कम्पनीका अनुसार पहिले एआईले आक्रमणकारीलाई सुझाव वा कोड उपलब्ध गराउने काम गर्थ्यो। अहिले भने एआई एजेन्ट र मल्टिएजेन्ट सिस्टमले आफैं सूचनाहरू सङ्कलन गर्ने, कामलाई साना भागमा बाँड्ने, विभिन्न प्रणाली परीक्षण गर्ने अनि नतिजा तयार पार्ने काम गर्न थालेका हुन्।
आक्रमणकारीको क्षमता बढाउँदै एआई
रिपोर्टमा एन्थ्रोपिकले एआईका कारण जटिल साइबर हमला गर्न आवश्यक पर्ने जनशक्ति र प्राविधिक सीपको आवश्यकता घट्दै गएको जनाएको छ।
पहिले यस्ता हमला गर्न ठूलो बजेट, दक्ष प्राविधिक जनशक्ति र लामो तयारी आवश्यक पर्थ्यो। अहिले भने एक जना वा सानो समूहले एआईको सहयोगमा पहिले धेरै मानिसले गर्नुपर्ने काम छोटो समयमा गर्न सक्ने अवस्था देखिएको कम्पनीको दाबी छ।
एन्थ्रोपिकका अनुसार एआईले साइबर हमलाका लगभग सबै चरणमा आक्रमणकारीलाई सहयोग गरिरहेको छ। यसमा लक्ष्यको प्रारम्भिक अध्ययन, इन्टरनेटमा खुलेका सिस्टम खोज्ने काम, सुरक्षा कमजोरी पहिचान, फिसिङ सामग्री तयार गर्ने, मालवेयर विकास, चोरी गरिएका प्रमाण प्रयोग गरेर प्रणालीभित्र प्रवेश गर्ने तथा डेटा बाहिर पठाउने काम समावेश छन्।
कम्पनीले यसलाई ‘एआई सहयोगी साइबर हमला’ मात्र नभई कतिपय अवस्थामा ‘एआई सञ्चालित साइबर अभियान’ भनेको छ। यस्ता अभियानमा मानिसले मुख्य लक्ष्य छनोट गरे पनि बाँकी धेरै काम एआई एजेन्टले स्वचालित रूपमा गर्ने गरेको रिपोर्टमा उल्लेख छ।
रुससँग सम्बन्धित मानिएको एआईबाट साइबर जासुसी गरेको आरोप
रिपोर्टमा एन्थ्रोपिकले जीटीजी-२०००६ नाम दिएको गतिविधिले एआई प्रयोग गरेर युक्रेन, युरोप र अन्य क्षेत्रका सरकारी तथा रक्षा निकायलाई लक्षित गरेको उल्लेख छ।
एन्थ्रोपिकले उक्त समूहको गतिविधि सार्वजनिक रिपोर्टमा माइक्रोसफ्टसँग जोडिएको ‘मिडनाइट ब्लिजार्ड’ समूहसँग मिल्दोजुल्दो रहेको जनाएको छ। मिडनाइट ब्लिजार्ड एउटा रुसी प्रायोजित साइबर जासुसी समूहका रूपमा परिचित छ।
कम्पनीले यसलाई रुसी राज्यसँग सम्बन्धित हुन सक्ने साइबर जासुसी समूहका रूपमा वर्गीकरण गरेको हो।
सो समूहले एआई प्रयोग गरेर सरकारी मन्त्रालय, रक्षा तथा गुप्तचर निकाय, दूतावास, कूटनीतिक संस्था, अनुसन्धान संस्था र रक्षा सामग्री उत्पादन गर्ने कम्पनीलाई लक्षित गरेको थियो। समूहले एआईको प्रयोग गरी इमेल तथा रिमोट एक्सेस प्रणालीको अध्ययन गरेको, सम्भावित लक्ष्यको सूची बनाएको र फिसिङ क्याम्पेनका लागि पूर्वाधार तयार गरेको एन्थ्रोपिकको दाबी छ।
आक्रमणका क्रममा प्रयोग गरिएका उपकरण सुरक्षा प्रणालीबाट पहिचान भएमा एआई एजेन्टले तिनलाई परिमार्जन गरी पुनर्निर्माण गर्ने गरेको पनि रिपोर्टमा उल्लेख छ। यसको अर्थ, कुनै मालवेयर सुरक्षा प्रणालीबाट पत्ता लागेको अवस्थामा आक्रमणकारीले म्यानुअल रूपमा कोड परिवर्तन गरिरहनुपर्दैन। बरु एआई एजेन्टले आफैं कमजोरी वा पहिचानको कारण विश्लेषण गरेर मालवेयर परिमार्जन गर्न र फेरि प्रयोग गर्न सक्ने देखिएको छ।
रिपोर्टअनुसार उक्त समूहले २० भन्दा बढी संस्थालाई लक्षित गरेको थियो। युक्रेनी सरकार, सेना र कूटनीतिक निकायका इमेल प्रणालीमा अनधिकृत एक्सेस गर्ने प्रयास गरिएको थियो। यस्तै, ड्रोन उत्पादन तथा आपूर्ति शृङ्खलासँग सम्बन्धित कम्पनीबाट प्राविधिक कागजात र सफ्टवेयरसम्बन्धी जानकारीसमेत चोर्ने प्रयास भएको थियो।
सहजै फिसिङ र डेटा चोरी
एन्थ्रोपिकका अनुसार उक्त समूहले होटेलका वाइफाई सेवा सञ्चालन गर्ने कम्पनीलाई समेत निसान बनाएको थियो। ती कम्पनीको सिस्टममा पहुँच बनाएर होटेलमा जोडिएका प्रयोगकर्ताको ट्राफिक र उपकरणसम्बन्धी जानकारी सङ्कलन गरिएको थियो।
आक्रमणकारीहरूले डोमेन नेम सिस्टम (डीएनएस) नै परिवर्तन गरेर प्रयोगकर्तालाई नक्कली वेबसाइटमा पुर्याउने प्रयाससमेत गरेको देखिन्छ। त्यसपछि नक्कली अपडेट वा अन्य सोसल इन्जिनियरिङका माध्यमबाट विन्डोज, एन्ड्रोइड र आईओएस उपकरणमा मालवेयर पठाइएको थियो।
रिपोर्टमा ह्वाट्सएप अकाउन्टमा समेत पहुँच बनाइएको उल्लेख छ। आक्रमणकारीहरूले पीडितको ह्वाट्सएप अकाउन्टलाई अर्को उपकरणसँग जोडेर म्यासेज र कुराकानी सङ्कलन गर्ने प्रयास गरेका थिए। कम्तीमा दुई जना पूर्वउच्चपदस्थ युक्रेनी अधिकारीलाई यसरी लक्षित गरिएको एन्थ्रोपिकको दाबी छ।
त्यस्तै, उत्तर अफ्रिकाको एउटा सरकारी प्रविधि निकायमा भएको आक्रमणमा पनि तीन लाखभन्दा बढी राष्ट्रिय परिचयसम्बन्धी विवरण र पाँच लाखभन्दा बढी कम्पनीको व्यावसायिक दर्ता विवरण चोरी भएको रिपोर्टमा उल्लेख छ।
एआई प्रयोग गरेर चोरी गरिएको डेटा ठूलो परिमाणमा छुट्याउने, वर्गीकरण गर्ने र बाहिर पठाउने कामसमेत भएको एन्थ्रोपिकले जनाएको छ।
कम्पनीका अनुसार पहिले आक्रमणकारीले डेटा सङ्कलन गरेपछि त्यसलाई व्यवस्थापन गर्न मानिसहरूको ठूलो समूह आवश्यक पर्थ्यो। अहिले एआईले यस्तो कामलाई छिटो र स्वचालित बनाइदिएको छ।
एक जना आक्रमणकारी, दर्जनौं लक्ष्य
रिपोर्टमा ‘जीटीजी-१०००७’ नाम दिइएको अर्को अभियानमा चिनियाँ भाषी आक्रमणकारीहरूले एआईलाई साइबर हमला र कमजोरी खोज्ने मुख्य उपकरणका रूपमा प्रयोग गरेको उल्लेख छ।
एन्थ्रोपिकका अनुसार यो समूह चीनको हुनान प्रान्तको चाङ्सा क्षेत्रमा रहेको हुन सक्ने देखिएको थियो। समूहमा विश्वविद्यालयका विद्यार्थीसमेत संलग्न रहेको कम्पनीको आकलन छ। उनीहरूले एआईलाई विभिन्न कामका लागि छुट्टाछुट्टै जिम्मेवारी दिने गरी प्रयोग गरेका थिए।
एउटा एआई एजेन्टले त विदेशी सरकारी नेटवर्कको प्रारम्भिक अध्ययन गर्थ्यो। अर्कोले सुरक्षा उपकरणका कमजोरी खोज्थ्यो। अर्कोले मालवेयर विकास गर्थ्यो भने अर्को प्रणालीले ओपन सोर्सबाट सूचना सङ्कलन गर्थ्यो।
यसरी विभिन्न एआई एजेन्टलाई एउटै अभियानमा जोडेर काम गराइएको रिपोर्टमा उल्लेख छ। एउटा मुख्य एआई एजेन्टले कामलाई साना भागमा बाँडेर अन्य सहायक एजेन्टलाई जिम्मेवारी दिने गरेको थियो। ती एजेन्टहरूले समानान्तर रूपमा काम गर्थे।
उक्त समूहले शिक्षा, खुद्रा व्यापार, ऊर्जा, प्रविधि, स्वास्थ्य, वित्त, उत्पादन तथा सरकारी क्षेत्रका करिब ५० संस्थालाई लक्षित गरेको एन्थ्रोपिकको दाबी छ। एउटा एडटेक कम्पनीबाट विद्यार्थीको व्यक्तिगत डेटा चोरी भएको र दक्षिणपूर्वी एसियाको सरकारी निकायबाट नागरिकको नाम, फोन नम्बर र ठेगानाजस्ता विवरण निकालिएको रिपोर्टमा उल्लेख छ।
प्रतिस्पर्धी एआई मोडलका लागि डेटा निकाल्ने प्रयास
एन्थ्रोपिकको रिपोर्टमा ‘इलिसिट डिस्टिलेसन’ अर्थात् अनधिकृत रूपमा एउटा एआई मोडलबाट अर्को मोडललाई सिकाउने गतिविधि बढेको उल्लेख छ।
यसरी काम गर्दा प्रतिस्पर्धी कम्पनीले एआई मोडललाई ठूलो सङ्ख्यामा प्रश्न सोध्छ। त्यसबाट प्राप्त उत्तर, तर्क गर्ने शैली र समस्या समाधान गर्ने तरिका सङ्कलन गरेर आफ्नै मोडललाई तालिम दिइन्छ।
एन्थ्रोपिकले यस्ता गतिविधिमा अलिबाबासँग सम्बन्धित खाताहरूले क्लडसँग ठूलो सङ्ख्यामा अन्तरक्रिया गरेको आरोप लगाएको छ। कम्पनीका अनुसार मेदेखि जुलाई २०२६ सम्म अलिबाबासँग जोडिएका खाताबाट क्लडमा १५ करोड १० लाखभन्दा बढी एक्सचेन्जभएको थियो। यसलाई एन्थ्रोपिकले आफूले देखेको सबैभन्दा ठूलो अनधिकृत डिस्टिलेसन अभियान भनेको छ।
एन्थ्रोपिकको दाबीअनुसार उक्त गतिविधिका लागि ३ हजार ५०० भन्दा बढी खाता प्रयोग गरिएको थियो। कतिपय अवस्थामा त एकै दिनमा करिब ३० लाख एक्सचेन्जसमेत गरिएको थियो।
यी खाताबाट क्लडलाई एउटै प्रकारका प्रश्न पटकपटक सोधिएको थियो। त्यसबाट क्लडको प्रश्न बुझ्ने, विश्लेषण गर्ने र उत्तर तयार गर्ने तरिका अध्ययन गरिएको एन्थ्रोपिकले जनाएको छ। त्यसपछि प्राप्त विवरणलाई अलिबाबाको ‘क्वेन’ मोडल सुधार गर्न प्रयोग गरिएको कम्पनीको आरोप छ।
एन्थ्रोपिकले अलिबाबाले आफ्नो नियम उल्लङ्घन गरेको दाबी गरे पनि अलिबाबाबाट यसको प्रतिक्रिया आएको छैन।
कम्पनीले अलिबाबाबाहेक डीपसिक, मुनसट एआई, जिपु एआई, साओमी, सेन्सटाइम र मिनिम्याक्ससँग सम्बन्धित गतिविधि पनि पत्ता लगाएको दाबी गरेको छ। एन्थ्रोपिकका अनुसार यी कम्पनीसँग सम्बन्धित खाताले क्लडका क्षमता अध्ययन गरी आफ्ना प्रणालीमा प्रयोग गर्ने प्रयास गरेका थिए।
एआईबाट नक्कली समाचार र राजनीतिक प्रभाव
एन्थ्रोपिकको रिपोर्टमा एआई प्रयोग गरी सूचना हेरफेर गर्ने अभियानका नौवटा उदाहरण दिइएको छ।
रिपोर्टअनुसार विभिन्न देशमा सक्रिय समूहले क्लड प्रयोग गरेर नक्कली सामाजिक सञ्जाल खाता, नक्कली समाचार वेबसाइट, राजनीतिक प्रचार सामग्री, नक्कली कागजात र लक्षित व्यक्तिविरुद्धका आरोपका फेहरिस्त तयार गरेका थिए।
एउटा मिसनमा त करिब ७० वटा नक्कली समाचार वेबसाइट बनाइएको थियो। ती वेबसाइटहरू स्वतन्त्र समाचार संस्थाजस्तो देखिन्थे। ती साइटमा प्रकाशित सामग्री फैलाउन ७० वटा एक्स अकाउन्टसहित २५० भन्दा बढी नक्कली कमेन्ट गर्ने खाता प्रयोग गरिएको थियो।
उक्त नेटवर्कले करिब २० भाषामा कम्तीमा ८ हजार ९१३ सामग्री प्रकाशित गरेको एन्थ्रोपिकको दाबी छ। ती सामग्रीमध्ये केही वास्तविक समाचारलाई राजनीतिक उद्देश्यअनुसार पुनर्लेखन गरेर तयार गरिएका थिए। एउटै समाचारलाई विभिन्न देशका दर्शक वा पाठकअनुसार फरक राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो।
नक्कली पत्रकारका नाममा सामग्री प्रकाशित गरेर ती वेबसाइटलाई वास्तविक समाचार संस्थाजस्तो देखाइएको थियो। एआईबाट तयार गरिएका प्रोफाइल तस्बिर र बनावटी परिचय प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली व्यक्तित्व निर्माण गरिएको रिपोर्टमा उल्लेख छ।
एन्थ्रोपिकले यस्तो गतिविधिलाई ‘इन्फ्लुएन्स-एज-ए-सर्भिस’ अर्थात् पैसा लिएर सूचना र जनमत प्रभावित पार्ने सेवा भनेको छ। यसरी केही कम्पनी वा समूहले क्लाइन्टको राजनीतिक उद्देश्यअनुसार सामग्री, वेबसाइट र सामाजिक सञ्जाल अभियान सञ्चालन गरिरहेका छन्।
मलेसियाको चुनावमै प्रभाव
रिपोर्टमा मलेसियालाई लक्षित गरी सञ्चालन गरिएको अर्को राजनीतिक प्रभाव (मिसन) बारे पनि उल्लेख गरिएको छ।
एन्थ्रोपिकका अनुसार उक्त अभियानमा करिब १ हजार नक्कली एक्स अकाउन्ट, नक्कली समाचार वेबसाइट र विभिन्न व्यक्तिविरुद्ध बनाइएका कागजात प्रयोग गरिएको थियो।
यस अभियानले जनगणना र निर्वाचनसम्बन्धी तथ्याङ्क प्रयोग गरी मलेसियाका २२२ सङ्घीय संसदीय क्षेत्रका मतदाताका व्यवहार विश्लेषण गर्ने प्रयास गरेको थियो। जाति, धर्म र राजपरिवारसँग सम्बन्धित संवेदनशील विषयका आधारमा मतदातालाई लक्षित गर्ने संरचना बनाइएको रिपोर्टमा उल्लेख छ।
क्लड प्रयोग गरेर नक्कली अकाउन्ट सञ्चालन गर्ने ड्यासबोर्ड, समाचार पुनर्लेखन प्रणाली र राजनीतिक सामग्री तयार गरिएको एन्थ्रोपिकले जनाएको छ। केही सामग्रीमा विदेशी समाचारलाई पुनर्लेखन गरी स्रोत हटाइएको थियो; ताकि ती सामग्री स्थानीय रूपमा तयार गरिएको स्वतन्त्र समाचारजस्तो देखियोस्।
त्यही अभियानमा विपक्षी नेता र नागरिक समाजका संस्थाविरुद्ध प्रमाणविहीन आरोपसहितका नक्कली विवरण तयार गरिएको पनि रिपोर्टमा उल्लेख छ।
बङ्गलादेशमा एआईबाट नक्कली बङ्गाली समाचार
एन्थ्रोपिकले बङ्गलादेशमा पनि एआई प्रयोग गरेर नक्कली समाचार तयार गर्ने अभियान पत्ता लगाएको जनाएको छ।
कम्पनीका अनुसार गाइवान्धा जिल्लामा आधारित एक व्यक्तिले २९ वटा क्लड खाता पालैपालो प्रयोग गरी प्लेटफर्मका सीमा र सुरक्षा प्रणाली छल्ने प्रयास गरेका थिए।
ती व्यक्तिले बनाएको सफ्टवेयरले प्रत्येकपटक १५ वटा शीर्षक, तीनवटा विस्तृत झुटा समाचार र १५ वटा तस्बिरका लागि निर्देशन तयार गर्ने गरेको रिपोर्टमा उल्लेख छ।
यसबाट कम्तीमा १ हजार ५०० शीर्षक, ३०० झुटा समाचार र १ हजार ५०० तस्बिरका निर्देशन तयार गरिएको एन्थ्रोपिकको दाबी छ। ती सामग्री फेसबुक लाइभ, युट्युब र टिकटक मार्फत ग्रामीण क्षेत्रका दर्शकमाझ पुर्याउने उद्देश्य राखिएको थियो।
रिपोर्टअनुसार सामग्रीहरू एक राजनीतिक दलको पक्षमा र उसका विपक्षीविरुद्ध तयार गरिएका थिए। तर उक्त दल स्वयंले अभियान सञ्चालन वा आर्थिक सहयोग गरेको प्रमाण भने फेला नपरेको एन्थ्रोपिकले जनाएको छ।
निगरानी र दमनमा एआईको प्रयोग
एआई प्रयोग गरेर राजनीतिक कार्यकर्ता, पत्रकार, अल्पसङ्ख्यक समुदाय र सरकारविरोधी व्यक्तिको निगरानी गरिएको विवरणसमेत छ।
चीनसँग सम्बन्धित केही गतिविधिमा उइघुर समुदाय, तिब्बती समूह, हङकङका लोकतन्त्र समर्थक, फालुन गङ र ताइवानका धार्मिक तथा राजनीतिक समूहका सदस्यलाई लक्षित गरिएको कम्पनीको दाबी छ।
एउटा अभियानमा एआईलाई ठूलो सङ्ख्यामा सामाजिक सञ्जाल पोस्ट पढाएर व्यक्तिको स्थान, राजनीतिक धारणा, सामाजिक समूह र कमजोर पक्षको अनुमान गर्न लगाइएको थियो। त्यसपछि सम्भावित रूपमा लक्षित गर्न मिल्ने व्यक्तिको सूची तयार गरिएको रिपोर्टमा उल्लेख छ।
उइघुर समुदायलाई लक्षित अर्को गतिविधिमा एआई प्रयोग गरेर सिरियामा रहेका उइघुर व्यक्तिसँग अरबी भाषामा सम्पर्क गर्ने, उनीहरूको जवाफ अनुवाद गर्ने र भर्तीसम्बन्धी संवाद तयार गर्ने प्रयास भएको एन्थ्रोपिकले जनाएको छ।
त्यस्तै, चीनसँग सम्बन्धित अर्को गतिविधिमा धार्मिक नेता र प्रवासी समुदायका व्यक्तिविरुद्ध चिनियाँ भाषामा ‘डोजियर’ तयार गरिएको थियो। जन्ममिति, जन्मस्थान, बसाइँसराइ, सामाजिक सञ्जाल खाता र चीनसँग सम्बन्धित गतिविधिजस्ता विवरण सङ्कलन गरी सरकारी रिपोर्टजस्तो ढाँचामा प्रस्तुत गरिएको थियो।
एआई सेवा प्रदायक आफैं आक्रमणकारीको लक्ष्य
एन्थ्रोपिकको रिपोर्टको अर्को महत्त्वपूर्ण निष्कर्ष एआई सेवा प्रदायक र तिनका ग्राहकको पूर्वाधार आफैं आक्रमणकारीका लागि लक्ष्य बन्न थालेको हो।
एआई सेवा प्रयोग गर्न आवश्यक एपीआई की, सेसन टोकन र लगइन विवरण चोरी गरेर आक्रमणकारीले आफ्ना गतिविधि सञ्चालन गरेको कम्पनीले जनाएको छ।
कुनै संस्थाको एपीआई की चोरी भएपछि आक्रमणकारीले त्यसैको खर्चमा आफ्ना काम चलाउन सक्छन्। साथै, यस्ता गतिविधि वास्तविक ग्राहकको अकाउन्टबाट भएजस्तो देखिने भएकाले पहिचान लुकाउन पनि सजिलो हुन्छ।
रिपोर्टमा केही समूहले सस्तो मूल्यमा क्लड उपलब्ध गराउने भन्दै नक्कली वेबसाइट चलाएको पनि उल्लेख छ। प्रयोगकर्ताले त्यस्ता वेबसाइटबाट सेवा लिन खोज्दा उनीहरूको लगइन विवरण र एआईसम्बन्धी टोकन चोरी गरिएको थियो।
कतिपय नक्कली सेवा प्रदायकले ग्राहकको ट्राफिक वास्तविक क्लडमा नपठाई अर्को मोडलमा पठाउने गरेको पनि एन्थ्रोपिकले जनाएको छ। यसरी प्रयोगकर्ताले क्लड चलाइरहेको ठान्दा उनीहरूको खाता विवरण भने आक्रमणकारीको हातमा पुग्ने जोखिम हुन्छ।
साइबर आक्रमणमा मान्छेकै भूमिका धेरै
रिपोर्टले एआई धेरै काम स्वचालित रूपमा गर्न सक्षम भए पनि आक्रमणको मुख्य उद्देश्य र लक्ष्य निर्धारणमा मानिसकै भूमिका रहेको स्पष्ट पारेको छ।
एन्थ्रोपिकका अनुसार एआईले आक्रमणलाई छिटो, ठूलो र कम खर्चिलो बनाउन सक्छ। तर कुन व्यक्ति वा संस्थालाई लक्षित गर्ने, चोरी गरिएको डेटा कसरी प्रयोग गर्ने र त्यसबाट आर्थिक वा राजनीतिक लाभ कसरी लिने भन्ने निर्णयमा मानिसहरू अझै संलग्न हुन्छन्।
यसकारण एआई आफैंले सबै निर्णय गरेको भन्ने बुझाइ सही नहुने कम्पनीको भनाइ छ। एआईले आक्रमणकारीको क्षमता बढाएको भए पनि त्यसको उद्देश्य र प्रयोगको जिम्मेवारी मानिस र संस्थाकै हुने देखिन्छ।
रिपोर्टमा एआईका कारण साइबर सुरक्षाको परम्परागत ढाँचा चुनौतीमा परेको उल्लेख छ। पहिले सुरक्षा प्रणालीले कुनै मालवेयर पहिचान गरेपछि आक्रमणकारीलाई नयाँ उपकरण बनाउन समय लाग्थ्यो। अब एआईको प्रयोगबाट मालवेयर परिमार्जन, पुनः परीक्षण र पुनः प्रयोग छिटो हुन सक्ने भएकाले आक्रमणकारी र सुरक्षाकर्मीबीचको प्रतिस्पर्धा झन् तीव्र बन्नेछ।
प्रतिक्रिया 4