News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले मलेसियामा यूएईलाई हराउँदै एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर सन् २०२७ को एसिया कपमा स्थान पक्का गर्यो।
- फाइनलमा आसिफ शेखले शतक बनाएपछि नेपालले ३१३ रन बनायो, र यूएई २९८ रनमै रोकियो।
- सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उपाधि बाढीपीडितलाई समर्पित गरे।
२७ भदौ, काठमाडौं । मलेसियाको वायुमास ओभलमा यूएईको अन्तिम विकेट ढलेसँगै नेपाली खेलाडीहरू मैदानभर दौडिए । ड्रेसिङ रुमबाट प्रशिक्षक, अफिसियल र बेन्चका खेलाडीहरू पनि मैदानमा पुगे ।
कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी साटे । त्यो उत्सव केवल एउटा ट्रफीको थिएन, त्यो नेपाल फेरि एसिया कपमा फर्किएको क्षण थियो ।
नेपालले शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान सुरक्षित गर्यो । पहिलो संस्करणमा जस्तै फाइनलमा यूएईलाई नै पराजित गर्दै नेपालले एसोसियट क्रिकेटको सबैभन्दा ठूलो ढोका फेरि खोल्न सफल भयो ।
यूएई अपराजित रूपमा फाइनल पुगेको टोली थियो । नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएपछि दबाबमा परेको थियो । तर कप्तान सन्दीप लामिछानेले भनेजस्तै, त्यो एउटा खेलबाहेक प्रतियोगिताभर नेपालले उत्कृष्ट क्रिकेट खेल्यो ।
‘हामीले राम्रो खेल्यौं । हङकङसँग मात्रै नजिक पुगेर चुक्यौं, त्यसबाहेक सबै खेलाडीले शानदार प्रदर्शन गरे’ सन्दीपले उपाधिपछि भने, ‘यो यात्रा सहज पक्कै थिएन, सम्पूर्ण समर्थकहरूको साथले गर्दा फेरि अर्को उपलब्धि हासिल गर्न सफल भएका छौं ।’

सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले ट्रफी सहित आफ्नो अवार्ड नेपालका बाढीपीडितलाई समर्पित गरे ।
‘म नेपालको बाढीबाट ज्यान गुमाउने सबैजनालाई सम्झिरहेको छु, भावुक भइरहेको छु । सबैप्रति हार्दिक श्रद्धाञ्जली। यो जित सबै तपाईंहरूलाई समर्पित छ’ उनले भने ।
उनले मलेसियामा उपस्थित नेपाली समर्थकप्रति पनि विशेष धन्यवाद व्यक्त गरे।
फाइनलको कथा : आसिफको शतक, गुल्शनको अर्धशतक
टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो र त्यसको सुरुआत पनि योजनाअनुसार भयो । ओपनर आसिफ शेख र अर्जुन कुमालले संयमित तर सकारात्मक साझेदारी गर्दै बलियो जग बसाले ।
अर्जुन ४३ रनमा रनआउट भएपछि आसिफले जिम्मेवारी सम्हाल्दै शानदार शतक पूरा गरे । ओडीआई करियरको दोस्रो शतक बनाएर आसिफ आउट भएपछि गुल्शन झाले आक्रामक अर्धशतक बनाए ।
रोहित पौडेलले ४० रन तथा अन्त्यमा बसिर अहमदले ४ बलमा अविजित १४ रनको क्यामिओ इनिङ खेलेएपछि नेपालले ३०० रनको आँकडा पार गर्दै ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।

बलिङमा नेपालले सुरुवाती सफलता पाउन केही कुर्नुपरेको थियो । यूएईका ओपनरमध्ये एक तनिश सुरीले लगातार आक्रामक शट खेलिरहेका थिए । नेपालले अर्का ओपनर अदीब उसमानीको विकेट प्राप्त गर्दा यूएईले पाँचौं ओभरमा ४५ रन बनाएको थियो ।
त्यसपछि आएका अक्षदीप नाथ सन्दीपको शर्ट बलमा फसे भने तनिश करण केसीको बलमा डिप स्क्वायर लेगमा छक्काको प्रयासमा क्याचआउट भएपछि यूएई ५६-३ को अवस्थामा पुगेको थियो । त्यहाँबाट राहुल चोपरा र कप्तान हरप्रित भाटियाले ४७ रनको साझेदारी बनाए ।
रोहित पौडेलको बलमा हरप्रित कभरमा क्याचआउट हुँदा यूएईको स्कोर १०३-४ भएको थियो । त्यसपछि आयान अफजल खान गुल्शन झाको बलमा ठूलो शटको प्रयासमा लङअनमा क्याच आउट हुँदा यूएई २३औं ओभरमा ११९-५ को स्थितिमा थियो । त्यसपछि भने खेल रोचक बन्दै गयो ।
शोहेब खानले राहुल चोपरासँग मिलेर राम्रो साझेदारी बनाएपछि यूएई संयमित बनेर लक्ष्यतर्फ अघि बढेको थियो । दुवैले अर्धशतक बनाएर खेलिरहेका थिए र साझेदारी ८३ रनको भइसकेको थियो ।
३९औं ओभरमा शोहेब ललितलाई ठूलो शट प्रहार गर्ने क्रममा मिसटाइम हुँदा ५२ रनमा क्याचआउट भए । त्यसपछि आएका खुजाइमा बिन तनभिरले पनि केहीबेर राम्रो शटहरू खेलिरहेका थिए र राहुललाई साथ दिइरहेका थिए ।
यूएई ४५ ओभरमा २४८-६ को अवस्थामा थियो जब ३० बलमा ५७ रन आवश्यक थियो । खुजाइमा दीपेन्द्रको बलमा बोल्ड भए भने त्यसपछि इबरार अहमद र हैदर अली पनि करण केसीको बलमा क्याचआउट भएपछि नेपालले खेल जित्ने पक्का देखिएको थियो ।
त्यसबेला राहुल ह्यामस्ट्रिङको समस्या झेलिरहेका थिए । एक समय उनले सन्दीपलाई शानदार छक्का प्रहार गरेपछि पिचमै लडेका थिए । उनलाई अर्कोतर्फबाट पर्याप्त साथ भने पुगेन । उनी १०० रन बनाएर अविजित रहेपनि नेपालले खेल जित्यो ।

सेमिफाइनलको पुनरागमन
नेपालले समूह ‘ए’ मा ४ मध्ये ३ खेल जितेर समूहविजेता बन्दै सेमिफाइनल खेलेको थियो । समूह चरणको पहिलो खेलमा बहराइनलाई केवल ८७ रनमा अलआउट गर्दै नेपालले उक्त खेल ७ विकेटले जितेको थियो ।
त्यसपछि नेपालले घरेलु टोली मलेसियालाई १०३ रनमा अलआउट गर्दै उक्त खेल ६ विकेटले जित्यो । साउदी अरेबिया विरुद्ध नेपालले १९१ रनको लक्ष्य ५ विकेटको क्षतिमा पूरा गर्यो ।
समूह चरणको अन्तिम खेलमा हङकङ विरुद्ध २६२ रन पछ्याउँदा नेपाल १६ रनले पराजित भएको थियो । उक्त हारका बाबजुद नेपाल समूहविजेताकै रूपमा सेमिफाइनल खेल्दै थियो ।
ओमानसँगको सेमिफाइनलमा पहिलोपटक सुरुवाती ब्याटिङको मौका पाएको नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको थिएन ।
१४७ रनको योगफल बनाएको नेपालले अब खेल जित्ने आधार आफ्नो सबैभन्दा बलियो पक्ष रहेको बलिङ थियो । त्यही बलिङ, त्यसमा पनि स्पीन बलरहरूले नेपाललाई शानदार जित दिलाए ।
नेपालले ओमानलाई ६० रनमै अलआउट गरेर फाइनलमा स्थान बनाएको थियो । त्यसबेला कप्तान सन्दीपसँगै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल मिलेर घातक बलिङ गर्दै नेपाललाई जित दिलाए ।
सेमिफाइनलको त्यो पुनरागमनले नेपाललाई एसिया कप खेल्ने बाटोमा जीवितै राख्यो । उपाधि जितेपछि सन्दीपले लेखिएको कुरा भएरै छाड्ने प्रतिक्रिया दिएका थिए ।
‘हामीले जस्तो खेल्यौं मलाई लाग्छ यी कुराहरू डेस्टिनीमै थियो, नतिजा पनि त्यही अनुसार नै आयो’ उपाधि जितेपछि सन्दीपले भनेका थिए ।

दोस्रोपटक एसिया कप
नेपालका लागि प्रिमियर कप केवल एउटा प्रतियोगिता होइन, एसिया कप पुग्ने भरपर्दो बाटो बनेको छ । सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करण जित्दै नेपाल एसिया कपमा पुगेको थियो। त्यसपछि भारत र पाकिस्तानविरुद्ध खेलेको ऐतिहासिक अनुभव नेपाली क्रिकेटको महत्वपूर्ण अध्याय बन्यो ।
अब दोस्रो पटक प्रिमियर कप जितेसँगै नेपालले फेरि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता एसियाली शक्तिशाली टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।
नेपालले सन् २०२३ को ओडीआई एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमै प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा पराजय भोगेको भएपनि नेपाली क्रिकेटको स्तरबारे त्यसबेला एसिया मात्र नभएर विश्वका धेरै दर्शकले देखेका थिए ।
अब सन् २०२७ को जुनमा बंगलादेशमा हुने एसिया कपमा नेपाल फेरि एकपटक पाइला टेक्दै छ । प्रतियोगिताको अन्य विवरण भने टुङ्गो लाग्न बाँकी छ ।
प्रतिक्रिया 4