News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२० मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका खगोलशास्त्रीले गाया तथ्याङ्क र मेसिन लर्निङ प्रयोग गरेर निक्स नामक ताराहरूको समूह पत्ता लगाए।
- सन् २०२५ मा अनुसन्धान टोलीले सार्वजनिक आकाशीय सर्वेक्षण तथ्याङ्क र एआई तस्बिर विश्लेषणबाट दुर्लभ भगौडा तारापुञ्जको खोज गरी द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित गर्यो।
- लेखले नेपालका विश्वविद्यालयमा डेटा विज्ञान र मेसिन लर्निङ पढाइ, अन्तर्राष्ट्रिय सहकार्य, र खुला तथ्याङ्क प्रयोग गरी खगोल अनुसन्धानमा योगदान दिन सकिने उल्लेख गरेको छ。
खगोलशास्त्र मानव जिज्ञासा र कल्पनाशक्तिको सबैभन्दा पुरानो वैज्ञानिक यात्रामध्ये एक हो। आधुनिक विज्ञानको सुरुआत हुनुभन्दा धेरै पहिलेदेखि मानिसहरूले आकाश र जमिनको सम्बन्ध खोज्ने प्रयास गरेका हुन्। उनीहरूले ताराहरूको उदय र अस्तसँग ऋतु परिवर्तनको सम्बन्ध खोजे अनि समयचक्रको हिसाब राख्न आकाशलाई नै मार्गदर्शक बनाउँदै आएका छन्।
खेतीपाती गर्ने समयको निर्धारण, समुद्री यात्रा, धार्मिक अनुष्ठान र आफू बसेको संसारलाई बुझ्न मानव सभ्यताले हजारौं वर्षदेखि आकाशतर्फ हेर्दै आइरहेको छ। यसरी नाङ्गो आँखाले नक्षत्रहरूको नक्शाङ्कन गर्ने प्राचीन आकाश–अवलोकनकर्तादेखि लिएर आदिम ब्रह्माण्डतर्फको अर्बौं प्रकाश वर्ष टाढासम्म नियाल्ने आधुनिक खगोलशास्त्रीहरूसम्म आइपुग्दा ब्रह्माण्डप्रतिको हाम्रो बुझाइ ती उपकरण र प्रविधिहरूसँगै अघि बढिरहेको छ, जुन हामीले विकास गर्यौं।
इतिहासको अधिकांश समयसम्म ती उपकरणहरू प्रकाशीय थिए र अन्धकार तथा सफा आकाश भएका पर्वतशिखरहरूमा बनेका गुम्बजभित्र जडित हुन्थे। तर यस्ता अत्याधुनिक पूर्वाधार निर्माण र सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्थ्यो। त्यसैले ब्रह्माण्डको गहिरो अध्ययन गर्ने अवसर मुख्यतः धनी राष्ट्रहरू र तिनका संस्थाहरूको पहुँचमा सीमित रह्यो। विज्ञानले आफूलाई जति नै विश्वव्यापी र सबैका लागि खुला क्षेत्रका रूपमा प्रस्तुत गरे पनि अन्ततः यो धनकै पछि हिंडिरह्यो।
तर बहिष्कारको त्यो समय अब परिवर्तन हुँदैछ। आज खगोलशास्त्र एउटा नयाँ क्रान्तिको सङ्घारमा उभिएको छ- यस्तो क्रान्ति, जसलाई अझ विशाल ऐनाले होइन, कृत्रिम बुद्धिमत्ता, खुला पहुँचयुक्त तथ्याङ्क र कम्प्युटेसनल प्रतिभाको विश्वव्यापीकरणले अघि बढाइरहेको छ। अब दूरबिन मात्रै विशाल ब्रह्माण्ड नियाल्ने एकमात्र साधन रहेन। ‘एल्गोरिदम’ पनि त्यस्तै एउटा साधन बनेको छ। र यही परिवर्तनभित्र नेपाल जस्तो देशका लागि असाधारण अवसर लुकेको छ।
तथ्याङ्कबाट जन्मिएको खोज
सन् २०२० को जुन महिनामा ‘क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी’ का खगोलशास्त्रीहरूले निक्स नामक एउटा नयाँ ताराहरूको संरचना पत्ता लगाएको घोषणा गरे, जुन यसअघि हाम्रो तारापुञ्ज ‘आकाशगङ्गा’ भित्र लुकेको अवस्थामा थियो।
ग्रिक पौराणिक कथामा रातकी देवीको नामबाट नामकरण गरिएको निक्स करिब २५० ताराहरूको समूह हो, जुन हाम्रो आकाशगङ्गाभित्र अत्यन्त समन्वित गतिमा यात्रा गरिरहेका छन्। ती ताराहरू भौतिक रूपमा नजिक भएकाले होइन, बरु एउटै प्राचीन उत्पत्तिसँग जोडिएका कारण एकसाथ देखिएका हुन्। यी ताराहरू आकाशगङ्गाभित्र जन्मिएका थिएनन्। बरु, अर्बौं वर्षअघि हाम्रो आकाशगङ्गासँग ठोक्किएर विलय भएको एउटा सानो तारापुञ्जको अवशेष थिए। मूल तारापुञ्ज हराइसके पनि त्यसका ताराहरू अझै पनि एउटै ब्रह्माण्डीय प्रवाहसँगै बगिरहेका छन्, जुन एउटा पानीजहाज दुर्घटनाबाट बाँचेका यात्रुहरू जस्तै देखिन्छन्।
यस खोजलाई विशेष बनाउने कुरा ‘केवल के पत्ता लाग्यो’ भन्ने होइन, ‘कसरी पत्ता लाग्यो’ भन्ने पनि हो।
निक्स कुनै नयाँ दूरबिन निर्माण गरेर वा अत्यन्त महँगो अवलोकन अभियान सञ्चालन गरेर पत्ता लगाइएको थिएन। यसको खोज पहिल्यै उपलब्ध विशाल तथ्याङ्कहरूको बुद्धिमत्तापूर्ण विश्लेषणबाट सम्भव भएको थियो। अनुसन्धानकर्ताहरूले ‘युरोपेली अन्तरिक्ष निकाय’ को ‘गाया’ अभियानबाट प्राप्त आँकडामा मेसिन लर्निङ प्रविधि प्रयोग गरेका थिए।
ज्ञात तारा–समूहको गतिशील विशेषता पहिचान गर्न प्रशिक्षित न्युरल नेटवर्कहरूले निक्सलाई एउटा असामान्य संरचनाका रूपमा चिह्नित गरे- यस्ता ताराहरूको समूह, जसको गति सामान्य तारापुञ्जीय संरचनाले व्याख्या गर्न सक्दैनथ्यो। ‘नेचर एस्ट्रोनोमी’ मा प्रकाशित अध्ययन अनुसार, यी नतिजाहरूले “निक्स एउटा विघटित सानो तारापुञ्जको अवशेष हो भन्ने व्याख्यालाई बलियो समर्थन गर्छ।”
अर्थात्, एउटा लुकेको तारापुञ्ज- जुन हामीले अझ ठूलो दूरबिन बनाएकाले होइन, बरु ब्रह्माण्डीय तथ्याङ्कलाई अझ राम्रोसँग “विश्लेषण गर्ने” पद्धति विकास गरेकाले पत्ता लागेको थियो।
निक्सको शिक्षा केवल वैज्ञानिक होइन; यो रणनीतिक पनि छ। यो खोजका लागि कुनै गोप्य प्रविधि, अर्बौं डलरको वेधशाला वा हिमालको टाकुरामा रहेको विशाल दूरबिनसम्म प्रत्यक्ष पहुँच आवश्यक परेन। आवश्यक थियो- सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्क, कम्प्युटेसनल उपकरण र सही प्रश्न सोध्न सक्ने अनुसन्धान क्षमता। आधुनिक खगोलशास्त्र क्रमशः यही दिशातर्फ अघि बढिरहेको छ- जहाँ नयाँ खोज केवल आकाश हेरेर होइन, पहिले नै अभिलेख गरिएका विशाल आँकडाहरूलाई बुद्धिमत्तापूर्वक विश्लेषण गरेर सम्भव भइरहेको छ।
सन् २०२५ मा हाम्रो अनुसन्धान टोलीले एआईमा आधारित तस्बिर विश्लेषण प्रविधिको प्रयोग गरेर एउटा दुर्लभ ‘भगौडा’ तारापुञ्जको खोज गर्यो। यो अनुसन्धानको नतिजा विश्वप्रसिद्ध खगोलशास्त्रीय जर्नल ‘द एस्ट्रोफिजिकल जर्नल लेटर्स’ मा प्रकाशित भयो। विशेष कुरा के थियो भने यसका लागि हामीले कुनै ठूलो वा विशेष दूरबिन प्रयोग गरेका थिएनौं। यो अनुसन्धान सार्वजनिक रूपमा उपलब्ध आकाशीय सर्वेक्षण आँकडाहरू र मेसिन लर्निङ उपकरणहरूको प्रयोगमा आधारित थियो। महत्त्वपूर्ण कुरा थियो- विशाल तथ्याङ्कलाई प्रशोधन गर्ने क्षमता, सूक्ष्म ढाँचाहरू पहिचान गर्ने दक्षता र त्यसलाई वैज्ञानिक रूपमा व्याख्या गर्ने योग्यता।
खुला तथ्याङ्कका अवसरहरू
नेपालसँग अर्बौं डलरका वेधशाला वा आफ्नै अन्तरिक्ष संस्था छैन। यहाँका विश्वविद्यालयहरू सीमित स्रोतसाधन र कमजोर अनुसन्धान पूर्वाधारसँग सङ्घर्ष गरिरहेका छन्। प्रतिभाशाली विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक बन्ने बाटोमा धेरै कठिनाइ पार गर्नुपर्छ- यस्ता कठिनाइ, जुन समृद्ध देशका विद्यार्थीले प्रायः भोग्नुपर्दैन। त्यसैले लामो समयसम्म समग्र नेपाली वैज्ञानिकहरूका अगाडि प्रायः दुईवटा मात्र विकल्प हुन्थे : आफ्नो सपना पूरा गर्न विदेश जानु वा पर्याप्त अवसर र सहयोग नभएको अवस्थामा सीमित दायरामै काम गरिरहनु।
आधुनिक खगोल अनुसन्धान अब क्रमशः सार्वजनिक रूपमा उपलब्ध विशाल तथ्याङ्कमा आधारित हुँदै गएको छ। यी तथ्याङ्कहरू विश्वभरका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सहकार्यद्वारा सङ्कलन गरिन्छन् र खुला पहुँच अन्तर्गत सबैका लागि उपलब्ध गराइन्छन्। यसको अर्थ, आज काठमाडौंमा बसेको कुनै विद्यार्थी वा अनुसन्धानकर्ताले पनि नासा वा युरोपका प्रतिष्ठित अनुसन्धान संस्थाहरूले प्रयोग गर्ने तथ्याङ्कसँग काम गर्न सक्छ।
उदाहरणका लागि, युरोपेली अन्तरिक्ष निकायको ‘गाया’ उपग्रहले हालसम्म करिब दुई अर्ब ताराहरूको स्थिति, गति र चमकको विस्तृत जानकारी तयार गरेको छ र सार्वजनिक रूपमा उपलब्ध गराएको छ। त्यस्तै, ‘जेम्स वेब टेलिस्कोप’ ले प्रारम्भिक ब्रह्माण्डका यस्ता अद्भुत तस्बिरहरू सार्वजनिक गरिरहेको छ, जुन केही वर्षअघि कल्पना समेत गर्न कठिन थियो। यी तस्बिरहरूले ब्रह्माण्डको सुरुआती अवस्था, पहिलो तारापुञ्ज र तारा निर्माणका प्रक्रियाबारे नयाँ जानकारी दिइरहेका छन्।
अर्कोतर्फ, पूर्ण रूपमा सञ्चालनमा आएपछि ‘भेरा रुबिन अब्जरभेटरी’ ले प्रत्येक तीन रातमा सम्पूर्ण दक्षिणी आकाशको तस्बिर खिच्नेछ। यसले हरेक रात करिब १५ टेराबाइट तथ्याङ्क उत्पादन गर्ने अनुमान गरिएको छ। यो भनेको आधुनिक ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ हरू जस्तै- ‘च्याटजीपीटी’ प्रशिक्षणमा प्रयोग गरिने सार्वजनिक पाठ्य सामग्रीको परिमाणसँग तुलना गर्न सकिने स्तरको तथ्याङ्क हो।
यति धेरै तथ्याङ्क कुनै एक अनुसन्धान टोलीले मात्रै पूर्ण रूपमा विश्लेषण गर्न सम्भव हुँदैन। यी तथ्याङ्कभित्र सुपरनोभा विस्फोट, क्षुद्रग्रह, परिवर्तनशील तारा, गुरुत्वीय लेन्स र अन्य क्षणिक खगोलीय घटनाहरूको विशाल जानकारी लुकेको हुनेछ।
महत्त्वपूर्ण कुरा के हो भने यी सबै तथ्याङ्क सङ्ग्रह अब केवल धनी देशका वैज्ञानिकहरूको पहुँचमा सीमित छैनन् र ती सबै सार्वजनिक रूपमा उपलब्ध हुनेछन्। कम्प्युटर, इन्टरनेट र आवश्यक ज्ञान भएको कुनै पनि अनुसन्धानकर्ताले यी तथ्याङ्क प्रयोग गरेर नयाँ खोज गर्न सक्छ। यही कारणले आजको खगोलशास्त्रमा सबैभन्दा मूल्यवान् वस्तु केवल ठूलो दूरबिन होइन, तथ्याङ्कलाई बुझ्ने क्षमता बन्दै गएको छ।
काठमाडौंमा बस्ने एउटा विद्यार्थीले, यदि ऊसँग सामान्य आधुनिक ल्यापटप, भरपर्दो इन्टरनेट र पाइथन तथा मेसिन लर्निङको उचित तालिम छ भने, आज विश्वकै अग्रपङ्क्तिको खगोलभौतिकीय अनुसन्धानमा अर्थपूर्ण योगदान दिन सक्छ।
ब्रह्माण्डदेखि विद्यालयसम्म : एआईको यात्रा
एआईले खगोल अनुसन्धानलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्न आवश्यक छ; किनकि नेपालले यस क्षेत्रमा योगदान दिन सक्छ भन्ने कुरा केवल कल्पना वा भावनात्मक आशामा आधारित होइन, वास्तविक र व्यावहारिक सम्भावनामा आधारित छ। आजको खगोलशास्त्रमा सबैभन्दा ठूलो चुनौती केवल आकाश हेर्नु होइन, बरु त्यसबाट आउने अकल्पनीय परिमाणको तथ्याङ्कलाई बुझ्नु हो। यहींनेर एआई उपकरण अत्यन्त उपयोगी बनेर उभिएको छ।
उदाहरणका लागि, तारापुञ्जहरूको वर्गीकरणलाई हेरौं। आधुनिक सर्वेक्षणहरूले करोडौं तारापुञ्जहरूका तस्बिर सङ्कलन गरिसकेका छन्। कुनै तारापुञ्ज चक्राकार छ, कुनै गोलाकार, कुनै विकृत छ भने केही आपसमा ठोक्किने प्रक्रियामा छन्। विगतमा यस्ता तस्बिरहरू वैज्ञानिकहरू वा स्वयंसेवकहरूले एक–एक गरेर हेरेर वर्गीकृत गर्थे। तर ब्रह्माण्ड यति विशाल छ कि यो काम मानव श्रमले मात्र पूरा गर्न सकिंदैन।
आज एआई उपकरणहरूले केही घण्टामै लाखौं आकाशगङ्गाका तस्बिर विश्लेषण गरेर तिनको प्रकार छुट्याउन सक्छन्। यसबाट वैज्ञानिकहरूले तारापुञ्जहरूका आकार, उमेर, वातावरण र तारा निर्माण प्रक्रिया बीचको सम्बन्ध अझ राम्रोसँग बुझिरहेका छन्। सबैभन्दा उत्साहजनक कुरा के हो भने यस्ता अनुसन्धानका लागि आवश्यक धेरै तथ्याङ्क सार्वजनिक रूपमा उपलब्ध छन्। त्यसैले नेपालका विद्यार्थी र अनुसन्धानकर्ताहरूले पनि आफ्नै कम्प्युटरबाट यस्ता परियोजनामा योगदान दिन सक्छन्।
अर्को रोचक उदाहरण गुरुत्वीय लेन्सको खोज हो। आइन्स्टाइनको ‘सामान्य सापेक्षता सिद्धान्त’ अनुसार अत्यन्त विशाल खगोलीय पिण्डहरूले प्रकाशको मार्गलाई मोड्न सक्छन्। परिणामस्वरूप टाढाको कुनै आकाशगङ्गाको प्रकाश आकाशमा घेरा वा चाप जस्तो देखिन सक्छ। यस्ता गुरुत्वीय लेन्सहरू वैज्ञानिकहरूका लागि प्राकृतिक दूरबिनसरह हुन्। तिनको प्रयोग गरेर ‘डार्क म्याटर’ को वितरण अध्ययन गर्न सकिन्छ र अत्यन्त टाढाको ब्रह्माण्डलाई अझ स्पष्ट रूपमा हेर्न सकिन्छ।
समस्या के हो भने यस्ता लेन्सहरू अत्यन्त दुर्लभ हुन्छन्। लाखौं तस्बिरहरू बीच लुकेका केही सय वा केही हजार उदाहरण मात्र भेटिन सक्छन्। एआईले यही कामलाई नाटकीय रूपमा सहज बनाएको छ। लाखौं तस्बिर स्क्यान गरेर सम्भावित गुरुत्वीय लेन्सहरू छिटो र भरपर्दो ढङ्गले पहिचान गर्न सक्ने प्रणालीहरू अहिले विकसित भइसकेका छन्। आगामी वर्षहरूमा नयाँ पुस्ताका दूरबिनहरूले अझ धेरै तथ्याङ्क उत्पादन गर्नेछन् र त्यसभित्र लुकेका हजारौं नयाँ गुरुत्वीय लेन्सहरूको खोजमा एआईको भूमिका झन् महत्त्वपूर्ण हुनेछ। यो त्यस्तो क्षेत्र हो, जहाँ राम्रो तालिम प्राप्त नेपाली अनुसन्धानकर्ताहरूले विश्वस्तरको योगदान दिन सक्छन्।
एआईको प्रयोग केवल आकाशगङ्गा वा गुरुत्वीय लेन्स खोज्नमा सीमित छैन। आज वैज्ञानिकहरूले सौर्यमण्डल बाहिरका ग्रहहरूको वायुमण्डल अध्ययन गर्न पनि एआई प्रयोग गरिरहेका छन्। जब कुनै ग्रह आफ्नो ताराको अगाडिबाट गुज्रिन्छ, त्यसबेला ग्रहको वायुमण्डलबाट छानेर आएको प्रकाशमा केही सूक्ष्म रासायनिक सङ्केतहरू देखिन्छन्। यी सङ्केतहरू अत्यन्त कमजोर हुने भएकाले परम्परागत विश्लेषणबाट छुट्याउन गाह्रो हुन्छ।
तर एआईमा आधारित विश्लेषण प्रविधिले विशाल तथ्याङ्कभित्रका यस्ता सूक्ष्म ढाँचाहरू पहिचान गर्न सक्छ। यसरी वैज्ञानिकहरूले कुनै ग्रहको वायुमण्डलमा पानीको वाष्प, मिथेन, कार्बन डाइअक्साइड वा बादलहरूको सम्भावित उपस्थितिबारे जानकारी प्राप्त गरिरहेका छन्।
आधार निर्माण : अवसरलाई उपलब्धिमा बदल्ने बाटो
अवसर आफैं परिणाममा रूपान्तरण हुँदैन। एआई र खगोलशास्त्रको नयाँ समीकरणले प्रदान गरेको सम्भावनालाई नेपालले वास्तविक उपलब्धिमा बदल्न चाहन्छ भने त्यसका लागि योजनाबद्ध संस्थागत र नीतिगत कदम आवश्यक छन्।
नेपालका प्रमुख विश्वविद्यालयहरूका भौतिकशास्त्र र गणित विभागहरूले कम्प्युटेसनल मेथड, डेटा विज्ञान र मेसिन लर्निङ सम्बन्धी विशेष पाठ्यक्रम समावेश गर्नुपर्छ, जसलाई शुरुदेखि नै वैज्ञानिक प्रयोगसँग जोडिएको हुनुपर्छ। खगोलभौतिकीलाई केवल सैद्धान्तिक विषयका रूपमा होइन, कम्प्युटेसनल विज्ञानका रूपमा पनि पढाइनुपर्छ- जहाँ विद्यार्थीले अध्ययनको पहिलो वर्षदेखि नै वास्तविक खगोलीय तथ्याङ्क विश्लेषण गर्ने कोड लेख्न शुरु गरून्।
अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग सहकार्य कार्यक्रम स्थापना गर्नु पनि अत्यन्त आवश्यक छ। ‘इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन’ को ‘अफिस अफ एस्ट्रोनोमी फर डेभलपमेन्ट’ जस्ता प्लेटफर्म मार्फत पाठ्यक्रम विकास, अनुसन्धान मार्गदर्शन र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन सकिन्छ।
विश्वस्तरीय, भरपर्दो इन्टरनेट पहुँच विश्वविद्यालयहरूका लागि विलासिता होइन; विश्वव्यापी डेटा–आधारित विज्ञानमा सहभागी हुन आवश्यक आधार हो। मेसिन लर्निङमा आधारित अनुसन्धान सञ्चालन गर्न सक्ने साना ‘कम्प्युटिङ क्लस्टर’ हरू समेत अनुसन्धान क्षमता निर्माण गर्न चाहने संस्थाहरूका लागि प्राथमिक बजेट क्षेत्र हुनुपर्छ। आज धेरै अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यहरूले न्यून आय भएका देशका अनुसन्धानकर्ताहरूलाई ‘क्लाउड कम्प्युटिङ’ पहुँच उपलब्ध गराउन थालेका छन्। यस्ता साझेदारीहरूले कम लागतमा स्थानीय पूर्वाधारलाई सशक्त बनाउन सक्छन्।
आजसम्म नेपालका प्रतिभाशाली विद्यार्थीको ठूलो हिस्सा आफ्नो वैज्ञानिक भविष्य विदेशमै खोज्न बाध्य भएको छ। यो प्रतिभा पलायन केवल तलबको अन्तरका कारण होइन; यसको मुख्य कारण नेपालमा “गम्भीर विज्ञान सम्भव छैन” भन्ने गहिरो मानसिकता हो। यदि नेपाली अनुसन्धानकर्ताले नेपालभित्रै बसेर अन्तर्राष्ट्रियस्तरका अनुसन्धान प्रकाशित गर्न थाले भने त्यो धारणालाई क्रमशः बदल्न सकिन्छ। केही मात्र भए पनि विश्वस्तरीय अनुसन्धान उपलब्धिहरूले ठूलो मनोवैज्ञानिक प्रभाव पार्न सक्छन्।
खगोलशास्त्र कम्प्युटेसनल विधिको उत्कृष्ट प्रयोगशाला पनि हो। आधुनिक खगोलशास्त्रीहरू केवल दूरबिन चलाउने वैज्ञानिक मात्र होइनन्; उनीहरू विशाल तथ्याङ्क विश्लेषण गर्ने, जटिल सफ्टवेयर निर्माण गर्ने, कृत्रिम बुद्धिमत्ता मोडेल प्रशिक्षण गर्ने र ‘हाई–पर्फर्मेन्स कम्प्युटिङ’ प्रयोग गर्ने प्राविधिक विशेषज्ञ पनि हुन्। यसरी तयार भएका जनशक्तिले केवल खगोल अनुसन्धान क्षेत्रमा मात्र होइन; सफ्टवेयर उद्योग, स्वास्थ्य सेवा, कृषि प्रविधि, वित्तीय विश्लेषण र डेटा विज्ञानका अन्य क्षेत्रमा समेत उच्च मूल्यका रोजगारी निर्माण गर्न सक्छन्।
उदाहरणका लागि, कुनै खगोलीय सर्वेक्षणबाट प्राप्त लाखौं तस्बिरहरूमा तारापुञ्ज वा सुपरनोभा पहिचान गर्न बनाइएको सफ्टवेयर प्रणाली विकास गर्ने प्राविधिकले त्यही सीप प्रयोग गरेर अस्पतालका ‘मेडिकल इमेज’ हरूमा क्यान्सरका सङ्केत पहिचान गर्ने प्रणाली, बैङ्किङ क्षेत्रमा धोखाधडी पत्ता लगाउने एल्गोरिदम वा कृषि क्षेत्रमा बालीको स्वास्थ्य निगरानी गर्ने प्लेटफर्म निर्माण गर्न सक्छ।
खगोलशास्त्रका लागि विकसित एआई उपकरणहरू अन्य क्षेत्रमा पनि उपयोगी हुन्छन्। आकाशका तस्बिरहरूमा अत्यन्त कमजोर सङ्केत पहिचान गर्न प्रशिक्षित कम्प्युटर भिजन प्रणालीहरू उपग्रह चित्र विश्लेषणमा प्रयोग गर्न सकिन्छ; जसले खेतबारीको अवस्था निगरानी गर्न, बाढी र पहिरोको पूर्वसूचना दिन, हिमताल फुट्ने जोखिम मूल्याङ्कन गर्न र वनविनाश अनुगमन गर्न मद्दत गर्छ। त्यसैगरी, ताराहरू वा तारापुञ्जहरू वर्गीकरण गर्न सिकाइएका एआई मोडेलहरूले एक्स–रे, एमआरआई वा सीटी–स्क्यान जस्ता चिकित्सकीय तस्बिरहरूमा रोगका प्रारम्भिक सङ्केत पहिचान गर्न पनि सहयोग गर्न सक्छन्।
खगोलशास्त्रबाट विकसित प्रविधिले समाजलाई फाइदा पुर्याएको यो पहिलो उदाहरण भने होइन। आज स्मार्टफोनदेखि डिजिटल क्यामेरासम्म प्रयोग हुने सीसीडी सेन्सरको प्रारम्भिक विकास र परीक्षणमा खगोलशास्त्रीहरूको ठूलो भूमिका थियो। अत्यन्त कमजोर आकाशीय प्रकाश सङ्कलन गर्न विकसित गरिएको यही प्रविधि पछि चिकित्सा इमेजिङ, औद्योगिक निरीक्षण, उपग्रह प्रणाली तथा दैनिक उपभोगका डिजिटल क्यामेराहरूमा व्यापक रूपमा प्रयोग हुन थाल्यो। अर्थात्, ब्रह्माण्ड बुझ्न गरिएको अनुसन्धानले अन्ततः पृथ्वीमा नयाँ प्रविधि र उद्योगहरू जन्माउन पनि सक्छ।
त्यसैले खगोलशास्त्रमा गरिएको एउटा लगानीले केवल ब्रह्माण्डबारे ज्ञान बढाउने मात्र होइन; यसले कृषि, स्वास्थ्य, वातावरणीय व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र डिजिटल अर्थतन्त्रका लागि आवश्यक प्राविधिक सीप र प्रविधि विकास गर्ने आधार समेत तयार गर्छ। यही कारणले विकसित देशहरूले खगोलशास्त्रलाई खर्चिलो विलासिता नभई दीर्घकालीन नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रको इन्जिनका रूपमा हेर्ने गरेका छन्।
अन्त्यमा
एआई कुनै जादुई समाधान होइन र वैज्ञानिक क्षमता निर्माणमा नेपालले सामना गरिरहेका चुनौती वास्तविक तथा संरचनागत छन्। तर खुला तथ्याङ्क र मेसिन लर्निङ मार्फत खगोल अनुसन्धानको लोकतन्त्रीकरण विज्ञानको इतिहासमै वैज्ञानिक पहुँचको सबैभन्दा वास्तविक विस्तारमध्ये एक हो। काठमाडौंमा बसेको कुनै अनुसन्धानकर्ताले विश्वस्तरको खोजमा योगदान दिन नसक्ने जो बाधाहरू पहिले थिए, ती आज इतिहासकै सबैभन्दा कम भएका छन्। ती पूर्ण रूपमा हटेका छैनन्- तर यदि इच्छाशक्ति र लगानी छ भने ती पार गर्न सकिने स्तरसम्म झरेका छन्।
अब त्यसलाई उपयोग गर्ने समय आएको छ।
(पौडेल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो), काठमाडौंका वैज्ञानिक सल्लाहकार समिति सदस्य तथा दक्षिण कोरियाको सियोलस्थित योन्सेई विश्वविद्यालयका प्राध्यापक हुन्।)
प्रतिक्रिया 4