+

एसियन गेम्स खेल्ने भारतीय क्रिकेट टोलीमा परिवर्तन, वरुणको स्थानमा निगम भित्रिए

२०८३ भदौ  ३१ गते २२:२४ २०८३ भदौ ३१ गते २२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका प्रमुख स्पीनर वरुण चक्रवर्ती चोटका कारण जापानविरुद्धको एकमात्र टी–२० अन्तर्राष्ट्रिय र एसियन गेम्स २०२६ दुवैबाट बाहिरिएका छन् ।
  • बीसीसीआईले वरुणको स्थानमा लेगस्पिन अलराउन्डर विप्राज निगमलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेको छ ।
  • एसियन गेम्समा भारतले सोझै क्वाटरफाइनल खेल्नेछ, र नेपाल दोस्रो स्थानमा रहेमा भारतसँग भेट हुन सक्छ ।

३१ भदौ, काठमाडौं । भारतका प्रमुख स्पीनर वरुण चक्रवर्तीले चोटका कारण जापानविरुद्धको एकमात्र टी–२० अन्तर्राष्ट्रिय र एसियन गेम्स २०२६ दुवै गुमाउने भएका छन् ।

भारतले यसअघि गत जेठमै एसियन गेम्सका लागि टोली घोषणा गरेको थियो । तर अफगानिस्तानविरुद्ध दिल्लीमा भएको पहिलो टी–२० खेलका क्रममा साइड स्ट्रेन भएपछि वरुणलाई अन्तिम टोलीबाट बाहिर राखिएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले उनको स्थानमा लेगस्पिन अलराउन्डर विप्राज निगमलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेको छ । त्यस्तै नितिश कुमार रेड्डीलाई एसियन गेम्स टोलीबाट हटाएर वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा राखिएको छ ।

२४ वर्षीय निगम २०२५ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका थिए । उनले त्यस सिजन १४ खेलमा ११ विकेट लिनुका साथै तीव्र गतिमा रन पनि बनाएका थिए ।

यस वर्ष श्रीलंकामा भएको भारत ‘ए’ को एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा सात विकेट र ११६ रनसहित प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।

वरुणको अनुपस्थितिमा भारतले अक्षर पटेल र रवि बिश्नोईलाई पहिलो रोजाइका स्पिनरका रूपमा उतार्ने सम्भावना रहेको छ भने वासिङ्टन सुन्दर र विप्राज निगम वैकल्पिक विकल्प रहनेछन् ।

एसियन गेम्समा भारतले सोझै क्वाटर फाइनल खेल्नेछ । समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तान र जापानसँग खेलेर दोस्रो स्थानमा रहेमा भारतसँग क्वाटरफाइनलमा भेट हुनेछ ।

एसियन गेम्सका लागि भारतीय टोली : श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), रवि बिश्नोई, अभिषेक शर्मा, जसप्रित बुमराह, अक्षर पटेल, हर्षित राना, इशान किशन, अर्शदीप सिंह, शिवम दुबे, वैभव सूर्यवंशी, विप्राज निगम

एसियन गेम्स क्रिकेट भारतीय क्रिकेट टोली वरुण चक्रवर्ती विप्राज निगम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय