+

विदेश घुम्न क्यान पदाधिकारीको हानथाप

२०८३ असोज  २ गते १८:०८ २०८३ असोज २ गते १८:०८

खेलाडीको भिसा, टिकट, बसाइँ, खाना र यातायातदेखि आयोजकसँगको समन्वयसम्मको जिम्मेवारी पाउने ‘टिम म्यानेजर’ मा क्यानकै पदाधिकारीको पालैपालो विदेश यात्रा हुने गरेको छ । स्थायी म्यानेजर राख्ने आवेदन प्रक्रिया अलपत्र छ ।

१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा कार्यालय सहयोगीका रूपमा कार्यरत सुदीप कोइराला एसीसी प्रिमियर कप विजेता नेपाली टोलीसँग ‘असिस्टेन्ट टिम म्यानेजर’ का रूपमा मलेसिया पुगे। क्यानले उनलाई टोलीको असिस्टेन्ट म्यानेजरको जिम्मेवारी दिएर मलेसिया पठाएको थियो।

टोलीको म्यानेजरका रूपमा गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्की पनि मलेसिया गए। उनी टिम म्यानेजरका रूपमा विदेश जाने सूचीमा अग्रपंक्तिमा पर्छन्। पछिल्लो तीन वर्षमा सिनियर टोलीबाट मात्रै उनी तीन पटक टिम म्यानेजर बनेर विदेश पुगिसकेका छन्।

उनीसहित केन्द्रीय सदस्यहरू श्रीधर केसी, विक्रम विष्ट र जयन्तीदेवी भट्ट क्यान नेतृत्वको रोजाइमा बढी पर्ने गरेको देखिन्छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स सिरिजका लागि टिम म्यानेजरमा क्यानका केन्द्रीय सदस्य, कर्णाली प्रदेश क्रिकेट संघका सचिव एवं जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी तोकिएका थिए। तर म्यानेजर नियुक्ति र भिसा प्रक्रियामा ढिलाइ हुँदा उनी नेदरल्यान्ड्स जान पाएनन्।

उक्त सिरिजमा नेपाल म्यानेजरविहीन बन्न पुग्यो। श्रीधर त्यत्तिकैमा रोकिएनन्। त्यसपछि अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा सहभागी नेपाल ‘ए’ टोलीको म्यानेजरको जिम्मेवारी पाए र अस्ट्रेलिया पुगे।

कतिसम्म भने क्यानले श्रीधर र सुदूरपश्चिम प्रदेश क्रिकेट संघका सचिव एवं कञ्चनपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष लक्ष्मण भट्ट दुवैलाई टिम म्यानेजरको पत्र दिँदा विवाद सिर्जना भएको थियो। पछि विवाद मिलाएर दुवै जना अस्ट्रेलिया पुगे।

त्यसअघि गत वैशाखमा घरेलु मैदानमा भएको लिग–२ अन्तर्गतकै सिरिजमा नेपाली टोलीमा कोही पनि टिम म्यानेजर थिएनन्। वैदेशिक भूमिमा हुँदा सदस्य र पदाधिकारीलाई पठाउँदै आएको क्यानले घरेलु भूमिमा भने टिम म्यानेजर राख्न आवश्यक ठानेन।

टिम म्यानेजरका रूपमा जानेले विदेश भ्रमणसँगै प्रतियोगिताअनुसार निश्चित भत्तासमेत पाउँछन्। विदेश भ्रमण र भत्ता दुवै पाइने भएकाले धेरै सदस्यहरू टिम म्यानेजर बन्न तँछाडमछाड गर्ने स्रोतको दाबी छ।

म्यानेजरको जिम्मेवारी के हो ?

यात्रा गर्दा खेलाडीहरूको भिसा, टिकट र भ्रमणसम्बन्धी कागजातको व्यवस्थापनदेखि टोलीको बसाइँ, खाना र यातायातको व्यवस्था मिलाउने जिम्मेवारी टिम म्यानेजरको हुन्छ।

यस्तै खेलाडीले पर्याप्त आराम र समयमा खाना पाएका छन् कि छैनन् र अनुशासन पालना गरेका छन् कि छैनन् भन्ने अनुगमन गर्ने जिम्मेवारी पनि म्यानेजरकै हुन्छ। आयोजक तथा अन्य टोलीसँगको समन्वय र बैठकको तालिका मिलाउने काम पनि म्यानेजरले गर्नुपर्छ।

तर नेपालको टिम म्यानेजरका रूपमा जाने सदस्यहरूलाई आफ्नै जिम्मेवारीसमेत थाहा नहुने नाम उल्लेख नगर्ने शर्तमा क्यान कार्यसमितिका एक सदस्यले भने ।

‘म्यानेजर बनेर गएकाहरूलाई आफूले के–के गर्नुपर्छ भन्ने कुरासमेत थाहा हुँदैन,’ ती सदस्यले भने ।

प्रशिक्षकबाट पनि आलोचना

क्यानले पठाउने टिम म्यानेजरको विषयमा बेलाबखत प्रश्न उठ्ने गरेको छ। भारत र श्रीलंकामा गत माघ–फागुनमा भएको टी–२० विश्वकपका क्रममा टिम म्यानेजरले ड्रेस कोड पालना नगर्ने र समयमा नआउने गरेको भन्दै प्रशिक्षकबाट सार्वजनिक रूपमै आलोचना भएको थियो।

तत्कालीन नेपालका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथासले व्यवस्थापन र सहयोगी कर्मचारीहरू पटकपटक परिवर्तन भइरहँदा टोलीका लागि दीर्घकालीन रणनीति र बलियो कार्यवातावरण बनाउन निकै गाह्रो भइरहेको बताएका थिए।

त्यसबाहेक विभिन्न प्रशिक्षकहरूले पनि क्यानलाई स्थायी टिम म्यानेजर राख्न आग्रह गर्दै आएका छन्। तर क्यानले अहिलेसम्म स्थायी टिम म्यानेजर राख्न सकेको छैन।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल योग्य र सिपयुक्त म्यानेजर नहुँदा खेलाडीको खानपान, बसाइँ र यात्रासम्म भद्रगोल हुने र त्यसले खेलाडीलाई मानसिक रूपमा असर पार्न सक्ने बताउँछन्।

‘योग्य म्यानेजर नहुँदा टोलीलाई अप्ठ्यारो पर्छ। जाँदाखेरिको टिकटदेखि गइसकेपछि समयमा खाना पाउने/नपाउने, के खाने, ट्रेनिङ सुविधा कस्तो छ, आयोजकसँग सहकार्य गर्नेदेखि सबै कुरा म्यानेजरको जिम्मेवारीमा हुन्छ,’ उनी भन्छन्, ‘यी कुराहरू सही तरिकाले व्यवस्थापन नहुँदा असर त पक्कै पनि पर्छ।’

आईसीसीले भनेको थियो- प्रोफेसनल म्यानेजर राख

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धेरै वर्षअघि नै प्रोफेसनल म्यानेजर बनाएर पठाउन भनेको थियो।

‘आईसीसीले हामीलाई के भन्यो भने, यसरी फरक–फरक मान्छेलाई म्यानेजर बनाएर पठाउँदा प्रोफेसनल भएन। पोस्ट नै सिर्जना गर्नुपर्ने भए पनि गरेर प्रोफेसनल म्यानेजर बनाऊ र योग्य मान्छेलाई नै पठाऊ। यसरी पालैपालो नपठाऊ,’ उनी भन्छन्।

क्यानले स्थायी टिम म्यानेजर राख्ने भन्दै २७ वैशाखमा आवेदन खुलाएको थियो। तर उक्त आवेदन कहाँ पुग्यो भन्ने जानकारी स्वयं आवेदन दिनेहरूलाई समेत छैन ।

‘स्थायी म्यानेजर बनाउँदा आफ्ना मान्छेहरू विदेश जाने बाटो बन्द हुने देखेपछि आवेदन प्रक्रिया बीचमै रोकिएको’ क्यानकै एक सदस्यको दाबी छ।

‘असिस्टेन्ट कोच र म्यानेजरमा अध्यक्ष, सचिव र कोषाध्यक्षको भागबन्डा हुन्छ। उहाँहरूले पालैपालो आफ्ना मान्छे पठाउनुहुन्छ,’ ती सदस्यले भने।

क्यानका पूर्वअध्यक्ष पाण्डेको बुझाइ पनि त्यस्तै छ। राजनीतिक व्यक्तिहरू संघमा हावी हुँदा भागबन्डाका आधारमा पालैपालो टिम म्यानेजर तोकेर पठाउने गरिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘हामीसँग त्यो बेलामा त्यति फन्ड नहुँदा म्यानेजर नियुक्त गर्न सक्ने सम्भावना थिएन। तर अहिले टिम म्यानेजर राख्न सक्ने अवस्था छ। तर पोलिटिकल मान्छेहरू बढी हावी भएको हुनाले उहाँहरूले एउटा भागबन्डा गरेजस्तो गरेर कहिले कहाँको, कहिले कहाँको पठाउन थाल्नुभयो कि जस्तो लाग्छ मलाई।’

‘क्रिकेटमा लागेकालाई प्रमोट गर्ने उद्देश्य’

क्यानले भने भोलिन्टियर रूपमा काम गर्ने सदस्यहरूको योगदानको कदर गर्दै उनीहरूलाई टिम म्यानेजरका रूपमा पठाउने गरेको तर्क गर्दै आएको छ।

‘हामी आएपछि मात्रै होइन, पहिलेदेखि नै टिम म्यानेजरका रूपमा प्रदेश र केन्द्रका बोर्ड सदस्यहरूलाई नै जिम्मेवारी दिएर पठाइन्छ,’ क्यानका कोषाध्यक्ष पदम खड्का भन्छन्, ‘खेलाडीलाई पहिचान गराउँदै यहाँसम्म ल्याउन जिल्ला र प्रदेशका साथीहरूको पनि हात होला नि। त्यसकारण क्रिकेटमा लागेकालाई प्रमोट गर्ने उद्देश्यले टिम म्यानेजरका रूपमा पठाउने परम्परा छ।’

टिम म्यानेजरका रूपमा पठाइएका सदस्यहरूले जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको दाबी पनि खड्काको छ।

‘म्यानेजरहरूले कोचसँग समन्वय गर्ने, उनीहरूलाई गाइड गर्ने र टिमको सम्पूर्ण रिपोर्ट क्यानसमक्ष पेस गर्ने जिम्मेवारी निभाइराखेका छन्,’ उनले भने।

नेपाली टोलीका लागि सिपयुक्त स्थायी म्यानेजर आवश्यक रहेको पूर्वकप्तान मल्लको अनुभव छ।

‘एउटा व्यवसायिक विशेषज्ञताको हिसाबले एउटा म्यानेजर हुनु जरुरी छ जस्तो लाग्छ मलाई,’ उनी भन्छन्, ‘हामी क्रिकेटमा पनि एउटा लेभलमा पुगिसकेपछि सायद यो पनि एउटा राम्रो टिम सेटअप गर्नका लागि आवश्यक देख्छु।’

क्यानका कोषाध्यक्ष खड्का भने क्यानको आर्थिक अवस्थाका कारण अहिले टिम म्यानेजर राख्न सक्ने अवस्था नरहेको बताउँछन्।

‘टिम म्यानेजर कतिवटा राख्ने ? एउटा म्यानेजरले भ्याउँदैन। कुरा आएको हो। तर अहिले नेपाल क्रिकेट संघको आर्थिक क्षमताले भ्याउँदैन,’ उनी भन्छन्।

तीन वर्षमा क-कसलाई जिम्मेवारी ?

पछिल्लो तीन वर्षमा नेपाली राष्ट्रिय पुरुष तथा महिला टोलीका लागि स्वदेश तथा विदेशमा टिम म्यानेजर बनेका क्यानका पदाधिकारी तथा सदस्यहरूको विवरण :

नाम पद पटक
विक्रम विष्ट केन्द्रीय सदस्य
श्रीधर केसी केन्द्रीय सदस्य, कर्णाली सचिव, सुर्खेत अध्यक्ष
सुमनराज कार्की गण्डकी प्रदेश सचिव
जयन्तीदेवी भट्ट केन्द्रीय सदस्य
आयुष श्रेष्ठ केन्द्रीय सदस्य
सुभाष जैसवाल मधेस प्रदेश कोषाध्यक्ष, बारा सचिव
वीरेन्द्रबहादुर चन्द केन्द्रीय सदस्य, कञ्चनपुर अध्यक्ष
प्रदीप मजगैयाँ केन्द्रीय सदस्य
चेतनाथ पौडेल सुनसरी तत्कालीन अध्यक्ष
अजयवीर पाण्डे काठमाडौं जिल्ला उपाध्यक्ष
विनय राजभण्डारी कावा अध्यक्ष, लुम्बिनी प्रदेश
प्रबल गौतम लजिस्टिक म्यानेजर
नरसिंह बुढाल एकाउन्टेन्ट
अर्जुन पौडेल केन्द्रीय सदस्य, इलाम अध्यक्ष
खड्गजङ्ग शाही कर्णाली प्रदेश उपाध्यक्ष, कालिकोट अध्यक्ष
माधवकुमार कर्माचार्य केन्द्रीय सदस्य, सर्लाही अध्यक्ष
दिनेश सिंह सुदूरपश्चिम कोषाध्यक्ष, डोटी अध्यक्ष
स्व. सञ्जीव बीसी दैलेख अध्यक्ष
टीकाराम पुरी कोशी प्रदेश सचिव
करण महतारा क्षेत्री केन्द्रीय सदस्य, मकवानपुर अध्यक्ष
राजेश महर्जन भेन्यु अपरेसन
दिवाकर घले केन्द्रीय सदस्य, काठमाडौं अध्यक्ष
विष्णुप्रसाद आचार्य बागलुङ अध्यक्ष
सुनीलकुमार महासेठ मधेस प्रदेश अध्यक्ष, सिराहा अध्यक्ष
सर्वजितराज पाण्डे कोशी प्रदेश अध्यक्ष
लक्ष्मण भट्ट सुदूरपश्चिम प्रदेश सचिव
बासुदेव जोशी सुदूरपश्चिम प्रदेश अध्यक्ष, डडेलधुरा अध्यक्ष
हरिप्रसाद रेग्मी सुदूरपश्चिम प्रदेश तत्कालीन अध्यक्ष
रूपक रञ्जित भक्तपुर तत्कालीन अध्यक्ष
शम्भुप्रसाद शर्मा उदयपुर तत्कालीन अध्यक्ष
देवेन्द्र प्रजु गण्डकी प्रदेश तत्कालीन अध्यक्ष
सरोवर प्रसाईं बाँके जिल्ला तत्कालीन अध्यक्ष
माया रावत सुदूरपश्चिम प्रदेश सदस्य
अम्बिका बुढाथोकी कोशी प्रदेश सदस्य
क्रिकेट खेल खेलाडी नियुक्ति नेपाल क्रिकेट संघ म्यानेजर विवाद

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय