+
+
Shares

निश्चलनाथ पाण्डे : बाबुको कूटनीतिक विरासत बोकेका प्राज्ञिक व्यक्ति

रमेशनाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शुक्रबार भारतका लागि नयाँ राजदूतमा निश्चलनाथ पाण्डेलाई सिफारिस गरेको छ।
  • पाण्डेको नाम संसदीय सुनुवाइ र भारतबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रक्रियामा जानेछ।
  • पाण्डे पूर्वमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन् र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानूनमा स्नातक गरेका छन्।

२ असोज, काठमाडौं । सरकारले शुक्रबार भारतका लागि नयाँ राजदूतमा निश्चलनाथ पाण्डेलाई सिफारिस गरेको छ । अब उनको नाम संसदीय सुनुवाइ हुँदै भारतबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रक्रियामा जानेछ।

भारतका लागि प्रस्तावित राजदूतका निश्चलनाथको परिचय उनको आफ्नै प्राज्ञिक यात्राबाट निर्मित हो । तर नेपालको राजनीतिक वृत्तमा उनको परिचय अर्को रुपमा पनि हुने गरेको छ, पूर्वमन्त्री रमेशनाथ पाण्डेका छोरा।

किनकि उनका बाबु रमेशनाथ नेपालको राजनीतिक तथा कूटनीतिक इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डका पात्र हुन्।

रमेश नाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।

उनले विभिन्न समयमा सूचना तथा सञ्चारसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले। नेपालको परराष्ट्रमन्त्री थिए।

नेपाल माओवादी सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासन, राजनीतिक दलमाथिको नियन्त्रण र अन्तर्राष्ट्रिय दबाबको बीचमा थियो । त्यही संक्रमणकालमा परराष्ट्र मन्त्रालय सम्हालिरहेका पाण्डे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने राजनीतिक अनुहारमध्ये एक थिए।

रमेशनाथको राजनीतिक करियरको एउटा विशेष पक्ष नै राजा ज्ञानेन्द्रसँगको निकटता थियो।

निश्चलनाथले बाबुको बाटो ठ्याक्कै पछ्याएनन्। उनी सांसद, मन्त्री बन्नेतर्फ लागेनन् । दलगत राजनीतिमा पनि प्रवेश गरेनन् । उनी विशुद्ध अध्ययन अनुसन्धान र विष्लेषणका क्षेत्रमा क्रियाशील रहे ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानूनमा स्नातक गरेका निश्चलनाथ लामो समयदेखि नेपालको परराष्ट्र नीति र दक्षिण एसियाली मामिलाका अध्येता हुन्।

उनी अहिले सेन्टर फर साउथ एशियन स्टडिज का निर्देशक छन्। उनीसँग परराष्ट्र मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ फरेन अफेयर्सका कार्यकारी निर्देशकको रुपमा काम गरेको अनुभव पनि छ । उनी निर्देशक भएको बेलामा भने उनका बाबु पनि नेपालको शक्तिशाली राजनीतिक पहुँचमा थिए ।

त्यसपछिका दुई दशकमा निश्चलनाथको परिचय प्राज्ञिक अध्ययनको क्षेत्रमै रह्यो । उनी दक्षिण एसियाको राजनीति, नेपालका दुई ठूला छिमेकी भारत र चीनबीचको शक्ति सम्बन्ध तथा नेपालको रणनीतिक अवस्थाबारे नियमित रूपमा लेख्दै र बोल्दै आएका छन्।

भारतको बेंगलुरुस्थित नेशनल इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिजमा मानार्थ सह–प्राध्यापक तथा सिंगापुरको नेशनल युनिभर्सिटीअन्तर्गत इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजमा नन–रेजिडेन्ट सिनियर फेलोका रूपमा उनी जोडिएका छन् ।

जर्मनीको एसडब्लुपी र र बेलायतको युनिभर्सिटी अफ हलमा पनि उनले अनुसन्धान गरेका छन्।

नेपालले राजदूतका रुपमा उनलाई दिल्ली पठाउँदा उनी दिल्लीका लागि अपरिचित व्यक्ति होइनन् । लामो समयदेखि अध्ययन गरिरहेको, भारतलाई क्षेत्रीय शक्ति र नेपालको छिमेकीका रूपमा विश्लेषण गर्दै आएको उनको व्यक्तित्व दिल्लीमा परिचित नै छ । उनको परिचयमा बाबुको नाम पनि जोडिँदा उनी अपरिचित हुने नै भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?