News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा १० भदौको बाढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८२ सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् ।
- सम्पर्कविहीन ८२ सुरक्षाकर्मीका परिवारबाट डीएनए सङ्कलन गरेर शव पहिचानको प्रक्रिया अघि बढाइएको छ ।
- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता र मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र शैक्षिक सुविधा दिने निर्णय गरेका छन् ।
२ असोज, काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी आएको तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८२ सुरक्षाकर्मीको अझै पत्तो लाग्न सकेको छैन ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार ४५ सैनिक सम्पर्कविहीन छन् । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरूले उनीहरूको खोजी गरिरहेका छन् ।
त्यस्तै, नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन छन् । रसुवागढी चौकी, इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेसी, हाकु चौकी, मैलुङमा कार्यरत २५ जना प्रहरी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
नेपाल प्रहरीका २८ जना बेपत्ता भएकोमा ३ जनाको भने शव भेटिएको छ । अब २५ जना सम्पर्कविहीन छन् ।

सशस्त्र प्रहरीका १२ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको पनि खोजी जारी छ । सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएकोमा एक जनाको भने शव भेटिएको थियो ।
सम्पर्कविहीन भएकाहरूको खोजी जारी राख्दै उनीहरूका आफन्तले डीएनए जाँचका लागि रगतसमेत दिन थालेका छन् । अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले शव पहिचान गर्न डीएनए जाँचका लागि रगत दिन थालेको प्रहरीले बताएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन भएका ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको छ । सबै परिवारले डीएनए दिइसकेकोले स्याम्पल म्याचको काम अघि बढाइएको छ ।
सम्पर्कविहीन प्रहरी र सशस्त्र प्रहरीका परिवारले पनि डीएनए दिएका छन् ।
के पाउँछन् राहत ?
नेपाली सेना
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार अहिले पीडित परिवार लक्षित हेल्प डेस्क स्थापना गरी काम भइरहेको छ । प्रारम्भिक चरणका सबै कामहरू भइसकेको जंगी अड्डाले बताएको छ ।
प्रारम्भिक चरणमा दिइने राहतसमेत सम्पर्कविहीन ४५ परिवारकै सदस्यलाई वितरण गरिएको छ । बाँकी प्रक्रियाका लागि भने काम अघि बढाइएको जंगी अड्डाले बताएको छ ।
‘बेपत्ताको हकमा कानुनी अड्चन पनि यथावत् छ । कानुनी पाटो सम्बोधन भएपछि थप गर्नुपर्ने कामहरू तथा राहतका लागि पनि अहिले सबै तयारी गरिएको छ,’ जंगी अड्डा स्रोतले भन्यो ।
अहिले सबै पीडित परिवारसँग सम्पर्क र समन्वय गरेर काम भइरहेको जंगी अड्डाले बताएको छ । अन्य क्षतिपूर्ति तथा राहत सैनिक ऐन, नियमावलीअनुसार हुनेछ ।
नेपाल प्रहरी
बाढीमा बेपत्ता भएका प्रहरीका परिवारलाई क्षतिपूर्ति दिनेबारे यसअघि बसेको प्रहरीको पीसीसी (नीति निर्माण समिति)ले निर्णय नै गरिसकेको छ । जसअनुसार बेपत्ता परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।
त्यस्तै ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सिपमूलक तालिम प्रदान गर्ने निर्णय भएको छ ।
साथै, रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका सामग्रीहरूमा क्षति पुगेको र त्यसको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको थियो ।
यसका साथै उनीहरूले प्रहरी नियमावलीबमोजिम पाउनुपर्ने सेवा–सुविधा पनि पाउने छन् ।
सशस्त्र प्रहरी
बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत दिने निर्णय सशस्त्र हेडक्वार्टरले गरेको छ ।
मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाखसमेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय हल्चोकको छ ।
यसका साथै मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत संगठनले गरेको छ ।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको सोही बाढीका कारण मृत्यु भएमा राहतस्वरूप प्रतिव्यक्ति १ लाख तत्काल उपलब्ध गराउने र बाढीमा परी मृत्यृ भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारकसमेत निर्माण गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया 4