+
+
Shares

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु, यसरी चुनिनेछ वडादेखि केन्द्रसम्मको नेतृत्व

केन्द्रमा २३२ सदस्यीय जम्बो समिति

कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ ।

केशव सावद केशव सावद
२०८३ असोज ३ गते ८:३०

२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नसकिने भनेको छ ।

महाधिवेशनअन्तर्गत ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन, १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले १६ असोजदेखि सुरु हुने केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि १९ असोजमा मतदान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ ।

जसमध्ये १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन, भने ६१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेस विधानमा गरिएको छ । विधानमा सात प्रदेश सभापतिहरू र प्रतिनिधिसभा संसदीय दलको नेता केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था राखिएको छ ।

‘प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ,’ कांग्रेस विधानको धारा २१ को उपधारा (१५) मा भनिएको छ ।

यसअघि १४औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय थियो । जसअनुसार १३४ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था थियो भने, ३३ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।

त्यसअघि १३ औं महाधिवेशनबाट कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने विधानमा व्यवस्था गरेको थियो । विधानअनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गरिएको थियो ।

१३ औं महाधिवेशनबाट संशोधन भएको विधानमा बाँकी २१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बीच गत पुसमा सम्पन्न विशेष महाधिवेशनले अघिल्लो विधानबमोजिम १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा तीन जना थप गरेर ११ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमध्ये तीन जना सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउने छन् ।

कांग्रेसले आठ जना सहमहामन्त्रीहरू ‘कलस्टर’अनुसार महाधिवेशनबाट निर्वाचित हुने पुरानो व्यवस्थालाई निरन्तरता दिँदै थप तीन जनालाई सभापतिले मनोनीत गर्ने नयाँ वैधानिक व्यवस्था गरेको छ ।

‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यहरूमध्येबाट नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदित मनोनयन गरेका एक महिलासहित तीन जना सहमहामन्त्री,’ विधानको धारा २१ (३) मा उल्लेख छ ।

कांग्रेसले ‘ल्याटरल इन्ट्री’ (विशेष प्रवेश) मार्फत पार्टीमा प्रवेश गरेकाहरूलाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिने गरी विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार अब कांग्रेसमा सात जना ‘ल्याटरल इन्ट्री’मार्फत पार्टीमा प्रवेश गरेकाहरू केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।

‘विभिन्न पेसा, व्यावसाय र विषयगत क्षेत्रमा क्रियाशील रही विशेष प्रवेशको मध्यमबाट नेपाली कांग्रेसमा आवद्ध भएका महाधिवेशन प्रतिनिधिहरूमध्येबाट दुई महिलासहित सात जना सदस्य,’ विधानको धारा २१ (९) मा भनिएको छ ।

१५औं महाधिवेशनबाट कांग्रेसले युवालाई केन्द्रीय कार्यसमितिमा समेट्न युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनपाउने गरी विधान संशोधन गरेको छ । जसअनुसार कांग्रेसमा अब ३५ वर्ष मुनिका २१ जना युवालाई केन्द्रीय कार्यसमितिमा देख्नपाइने छ ।

संशोधिन विधानले १५औं महाधिवेशनमा हरेक प्रदेशबाट कम्तीमा पनि एक जना ३५ वर्ष मुनिका महिला केन्द्रीय सदस्यमा निर्वाचित हुने सुनिश्चित गरेको छ ।

‘३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुला सात जना गरी २१ जना सदस्य,’ विधानको धारा २० (१०) मा लेखिएको छ ।

कांग्रेसले नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था पनि गरेको छ । जसअनुसार ६ जना १५औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।

‘नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुनेगरी तोकिएबमोजिमका क्षेत्रबाट निर्वाचित हुने ६ जना,’ विधानको धारा २० (११) मा उल्लेख गरिएको छ ।

संशोधित विधानले कांग्रेस सभापतिलाई केन्द्रीय कार्यसमितिमा ६१ जना मनोनयन गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ । यसअघि सभापतिले ३३ जना मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।

सभापतिले मनोनीत गर्दा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त, विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यान दिनु पर्नेछ ।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ६१ जना सदस्य मनोनीत गर्नेछ,’ विधानमा उल्लेख छ ।

संशोधित विधानमा कोषाध्यक्ष मनोनीत गरिने पुरानै वैधानिक व्यवस्थालाई निरन्तरता दिइएको छ । विधानमा लेखिएको छ, ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक ।’

१३ औं महाधिवेशनसम्म कांग्रेसको कोषध्यक्ष पनि निर्वाचित हुनुपर्ने व्यवस्था थियो । १४औं महाधिवेशनमा विधान संशोधन गर्दा कोषाध्यक्ष निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यबाट मनोनीत गर्ने प्रावधान राखिएको थियो ।

शनिबारबाट वडा अधिवेशन

वडा क्षेत्रभित्रका क्रियाशील सदस्यहरू कांग्रेसको वडा अधिवेशनमा सदस्य हुन्छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्ने छ ।

कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तरर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् ।

गाउँपालिका वडा अधिवेशनबाट कम्तिमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जनालाई वडा सदस्यमा निर्वाचित हुने छन् ।

कांग्रेस विधानमा नगर–उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ ।

यस्तै महानगरपालिकाको वडा अधिवेशनबाट कम्तिमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।

कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।

वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनु पर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरुप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान छ ।

कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तिमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।

यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ ।

कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।

वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिको चयन

गाउँ–नगर/उपमहानगर/महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन् ।

१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिला, एक श्रमिक वा पेशागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ ।

यस्तै ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधनिक व्यवस्था छ । ।

त्यसैगरी १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने छन् ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको ५० प्रतिशत संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नु पर्ने विधानमा उल्लेख छ ।

विधानमा भनिएको छ, ‘अपाङ्गता भएका र दलित क्रियाशील सदस्य मध्येबाट एक–एक जना प्रतिनिधि ।’ विधानअनुसार कांग्रेसको वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिन्छन् ।

वडा सभापतिको योग्यता के ?

कांग्रेसले वडा कार्यसमितिको सभापतिका लागि योग्यताको मापदण्ड तोकेको छैन । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन भएको पार्टीको विधानमा वडा कार्यसमिति सभापतिको उम्मेदवारका लागि योग्यता खुलाइएको छैन ।

यसअघि कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्यमात्रै गाउँ–नगर/उपमहानगर/महानगर वडा कार्यसमिति सभापतिको उम्मेदवार बन्न पाउने प्रावधान थियो ।

संशोधित विधानमा गाउँ/नगरपालिका सभापति, प्रदेश सभा सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति र केन्द्रीय सभापतिको उम्मेदवार बन्न आवश्यक योग्यता पनि तोकिएको छैन ।

तर, १५ औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ मा भने उम्मेदवारको योग्यता र मनोनयनसम्बन्धी (वडा सभापतिबाहेक) व्यवस्था गरिएको छ ।

जसअनुसार गाउँ नगरपालिका सभापति, प्रदेश सभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवको हकमा पाँच वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ ।

यस्तै, जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिएको हुनुपर्नेछ । तर, ३५ वर्ष मुनिका युवा, समायोजन भइ आएका र पेशागत–श्रमिक क्षेत्रका सदस्यको हकमा यो सीमा लागू नहुने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा केन्द्रीय पदाधिकारीका लागि १० वर्ष र केन्द्रीय सभापतिको हकमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने पनि भनिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?