News Summary
Generated by OK AI. Editorially reviewed.- नेता श्याम घिमिरेले आफूहरू शेरबहादुर देउवा समूह छोडेर गगन थापा समूहमा नपुगेको भन्दै कांग्रेसको मूलधारमा फर्किएको बताए ।
- उनले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको र आन्तरिक असहमति पार्टीभित्रै समाधान गर्नुपर्ने बताए ।
- घिमिरेले पुनरावलोकनको फैसला नआउँदै अधिवेशन रोक्न आग्रह गरिए पनि प्रक्रिया अघि बढेपछि महाधिवेशनमा सहभागी भएको बताए ।
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू कुनै गुट छोडेर अर्को समूहमा प्रवेश नगरेको बताएका छन् । उनले आफूहरू कुनै नयाँ समूहमा प्रवेश नगरी कांग्रेसको मूलधारमा फर्किएको दाबी गरेका हुन् ।
नेता घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह छोडेर सभापति गगन थापा नेतृत्वको समूहमा प्रवेश गरेको भन्ने टिप्पणी पनि अस्वीकार गरे ।
‘हामीले शेरबहादुर देउवाको गुट छोडेर गगन थापाको गुटमा प्रवेश गरेका होइनौं । हामी पार्टीमै, पार्टीको मूलधारमा आएका हौं,’ उनले भने, ‘पार्टीको मेनस्ट्रिम भनेको महाधिवेशन हो । हामी महाधिवेशनमा भाग लिँदै पार्टीको प्रक्रियामा सहभागी भएका हौं ।’
आफूहरूमाथि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विगतमा देउवा समूहबाट लाभ लिएको र अहिले समूह परिवर्तन गरेको आरोप लाग्ने गरेकोप्रति पनि उनले असन्तुष्टि जनाए ।
‘हामीलाई जुम्राजस्तो भनिएको छ । हिजो चुसेर छोडे, अहिले छोडेर हिँडे भन्ने टिप्पणी गरिएको छ,’ उनले भने, ‘हामीले के चुस्यौं ? हामी नेपाली कांग्रेस हौं । यो पार्टीमा हाम्रो पनि वर्षौंको लगानी छ ।’
नेता घिमिरेले अनलाइनखबरसँगको कुराकानीमा आफूहरू सुरुदेखि नै पार्टी विभाजनको पक्षमा नरहेको प्रष्ट्याएका छन् । पार्टीभित्रका असहमति र विचारगत मतभेदलाई आन्तरिक रूपमा समाधान गर्नुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए ।
‘हामी कतै पार्टी छोडेर आएका होइनौं । हिजो पनि केही असहमति थिए र त्यसका लागि हामीले लडाइँ लड्यौं,’ घिमिरेले भने, ‘तर, पार्टी फुटाउने कुरासँग हाम्रो सहमति छैन । पार्टीभित्रै आन्तरिक लडाइँ लडौंला, विचार समूहका फरक–फरक धारणा हुन्छन्, तर पार्टी नै फुटाउने हदसम्म हामी जाँदैनौं ।’
अदालतमा पुनरावलोकनको निर्णय नआएसम्म अधिवेशन प्रक्रिया रोक्न आग्रह गरिए पनि प्रक्रिया अघि बढेपछि आफूहरू नियमित महाधिवेशनको प्रक्रियामा सहभागी भएको घिमिरेले बताए ।
‘निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो । सर्वोच्च अदालतले पनि त्यसैलाई मान्यता दियो । पुनरावलोकनका लागि निस्सा दिएपछि फैसला नहुन्जेल अधिवेशन रोकिदिनुस् भनेर जाँदा पनि रोकिएन,’ उनले भने, ‘अधिवेशन अघि बढिसकेपछि त्यसमा भाग नलिनु भनेको पार्टीको प्रक्रियाबाट बाहिरिनु हो । पार्टीको प्रक्रियाबाट बाहिरिनु भनेको राजनीतिबाटै बाहिरिनुजस्तो हुन्थ्यो । त्यसैले हामी महाधिवेशनको प्रक्रियामा सहभागी भएका हौं ।’
प्रतिक्रिया 4