+
+
Shares

कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा दिएको जानकारीअनुसार कृष्णभिरको समस्याको दीर्घकालीन समाधानका दुई विकल्पमा प्राविधिक अध्ययन अघि बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरको पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट निर्माणको अध्ययन सुरु गरेको छ।
  • सडक विभागका महानिर्देशक डा. विजय जैशीले करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन आउने र त्यसपछि ठेक्का प्रक्रियामा जाने बताए।
  • फिस्लिङ र बेनिघाटतर्फ वैकल्पिक सडक निर्माण पनि सुरु भएको छ, जहाँ फिस्लिङतर्फ १.५ किलोमिटर भिर काट्ने काम अघि बढेको छ।

५ असोज, काठमाडौं । सरकारले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा हुने पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट (पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक लैजाने प्रविधि) निर्माण गर्ने विकल्पमा अध्ययन सुरु गरेको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा दिएको जानकारीअनुसार कृष्णभिरको समस्याको दीर्घकालीन समाधानका दुई विकल्पमा प्राविधिक अध्ययन अघि बढाइएको छ ।

उनका अनुसार कृष्णभिर क्षेत्रमा सुरुङ निर्माण गर्ने वा अगाडितिर भायोडक्ट बनाएर सडक जोड्ने दुई विकल्पमा अध्ययन भइरहेको छ । त्यसका लागि प्राविधिक अध्ययन सुरु भइसकेको र करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने उनले बताए ।

प्राविधिक प्रतिवेदन आएपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ ।

‘कृष्णभिरमा लङटर्मको लागि यसको भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरेर स्टडी सुरु भइसकेको छ,’ जैशीले समितिमा भने, ‘दुई महिनाजतिमा टेक्निकल रिपोर्ट आउँछ । त्यसपछि हामी ठेक्कामा जान्छौं ।’

कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित हुँदै आएको छ । पछिल्लो समय गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीको प्रभावले साविकको सडकको भाग भत्किएको छ । भदौ १४ गते कृष्णभिर खण्डको सडक भत्किएको थियो ।

तत्कालका लागि भत्किएको सडकको माथितिरबाट ट्र्याक खोलेर सवारी साधन आउ–जाउको व्यवस्था मिलाइएको छ । तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन रूपमा जोखिम कम गर्ने गरी विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको जैशीले जानकारी दिए ।

संसदीय समितिको बैठकमा सडक विभागका महानिर्देशक डा. विजय जैशी लगायत

उनका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुल पारिपारि सडक लैजाने वैकल्पिक मार्ग निर्माणको काम पनि सुरु भइसकेको छ । फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम सुरु भएको उनले बताए ।

उक्त वैकल्पिक सडक तयार भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ ।

‘साढे एक किलोमिटर फिस्लिङतिर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने, ‘यो भिर काटिसकेपछि यो राजमार्गले धेरै दु:ख दियो भने एकदमै छिटो चलाउन सकिने भएर काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?