+
+
Shares
सेयर बजार बन्द :

साढे ४५ खर्बको सम्पत्तिमाथि आक्रमण, नियामकको सधैं बेवास्ता

७२ कम्पनीको टीएमएस होस्टिङ पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण हुँदा सोमबार सेयर बजार नै बन्द

सोमबार सेयर बजार बन्द गरिनुको प्रमुख कारण थियो- टीएमएस होस्टिङ पूर्वाधार (सर्भर)मा र्‍यान्समवेयर आक्रमण हुनु ।

कमल नेपाल कमल नेपाल
२०८३ असोज ५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रोकर कम्पनीका टीएमएस होस्ट गर्ने डेटा हब प्रालिको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएपछि सोमबार नेप्सेले सबै सेयर कारोबार स्थगित गर्‍यो।
  • डेटा हबले ७२ कारोबार सदस्य कम्पनीको सर्भर होस्टिङ गर्दै आएको र घटनापछि फरेन्सिक विश्लेषण तथा पुनःप्राप्तिका उपाय अपनाइरहेको जनाएको छ।
  • लगानीकर्ताले बारम्बार कारोबार अवरुद्ध हुँदा सम्पत्ति बन्धक बनेको भन्दै नेप्से, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई गम्भीर हुन आग्रह गरेका छन्।

५ असोज, काठमाडौं । सोमबार सेयर बजार अकस्मात बन्द गरियो । बजार बन्द गरिनुको प्रमुख कारण थियो- ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा सर्भर होस्ट गर्ने डेटा हब प्रालिको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण हुनु ।

कम्पनीका अनुसार असोज ४ गते बिहान करिब साढे ५ बजेतिर टीएमएस होस्टिङ पूर्वाधारमा भएको आक्रमणको पहिचान गरिएको हो । डेटा हबले ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर होस्टिङ गर्दै आएको छ ।

यिनै ७२ कम्पनीको टीएमएस होस्ट गर्ने पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएको हो । यस्तो आक्रमणले डेटा प्रयोग गर्न नसकिनेगरी पहुँच रोक्दछ । डेटा हबले वाईको प्रालिलाई लेखेको पत्रमा स्पष्ट रुपमा र्‍यान्समवेयर आक्रमण भएको उल्लेख गरिएको छ ।

र्‍यान्समवेयर अन्य जडान भएका नेटवर्क तथा प्रणालीमा समेत फैलिएको हुन सक्ने सम्भावना रहेकाले प्रभावित प्रणालीहरूलाई तत्काल अनलाइनमा नल्याइएको डेटा हबले जनाएको छ । कम्पनीले घटनाको पूर्ण प्रभावबारे अनुसन्धान तथा फरेन्सिक विश्लेषण गरिरहेको र आवश्यक सुरक्षा तथा पुनःप्राप्तिका उपाय अपनाइरहेको उल्लेख गरेको छ।

‘डेटा हबको पूर्वाधारमै समस्या आएपछि त्यस्तो आक्रमण नेप्सेको प्रणालीमा आउनबाट रोक्नका लागि आइसोलेसन गरेका हौँ’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने । डेटा हबले पूर्ण रुपमा समस्या समाधान गरेपछि मात्रै कारोबार सञ्चालन गरिने नेप्सेले जनाएको छ ।

‘घटना हुनुअघि सम्पूर्ण पूर्वाधारको सबैभन्दा पछिल्लो ब्याकअप असोज ४ गते बिहान ४ बजे लिइएको थियो, उक्त ब्याकअपलाई हामीले सुरक्षित गरी अलग्गै राखेका छौँ’ डेटा हबले भनेको छ ।

र्‍यान्समवेयरले अन्य जडान भएका नेटवर्क तथा प्रणालीलाई समेत सम्भावित रूपमा प्रभावित गरेको वा त्यहाँ फैलिएको हुन सक्ने भएकाले प्रभावित प्रणालीहरूलाई हालसम्म अनलाइनमा पुनः सञ्चालनमा नल्याइएको कम्पनीले जनाएको छ ।

टीएमएस अन्य सम्बन्धित प्रणालीसँग जडान भएकाले, प्रणालीलाई पुनः अनलाइनमा ल्याउनुअघि फरेन्सिक विश्लेषण गर्न तथा आवश्यक सुधारात्मक उपायहरू कार्यान्वयन गर्न कम्पनीले केही समय माग गरेअनुसार सोमबार नेप्सेले सम्पूर्ण कारोबार स्थगित गर्‍यो । प्रणालीलाई सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउनेगरी काम भइरहेको डेटा हबले जनाएको छ ।

यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै नेप्सेले सोमबारको सबै कारोबार स्थगित गर्‍यो ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार सोमबारको कारोबार स्थगित गरिएको भन्दै नेप्सेले सूचना जारी गर्‍यो । सो नियमअनुसार विशेष परिस्थिति, प्राविधिक समस्या वा प्रणालीगत जोखिम उत्पन्न भएमा नेप्सेले नियमित सेयर कारोबार स्थगित वा बन्द गर्न सक्ने अधिकार राख्दछ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेको नियन्त्रणमा रहने कारोबार प्रणाली (नट्स)लाई सुरक्षित राख्न पर्याप्त व्यवस्था गरिएको दाबी गरे । ‘यद्यपि संसारभर साइबर आक्रामणलाई शून्य बनाउन सकिँदैन, यस्ता जोखिमबाट हुन सक्ने क्षति न्यूनतम गर्न पर्याप्त व्यवस्था गरिएको छ’ पराजुलीले भने ।

लगानीकर्ताले भने बारम्बार कारोबार अबरुद्ध हुने अवस्था आएको भन्दै नियामक निकाय र सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन् । ‘कहिले सर्भर डाउन, कहिले सर्भरमा आक्रमणजस्ता समस्याले कारोबार नै बन्द हुँदा हाम्रो सम्पत्ति बन्धक बन्ने गरेको छ’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसिराम ढकालले भने ।

बारम्बार यस्ता समस्या देखिँदा पनि नेप्से, नियामक धितोपत्र बोर्ड र अर्थ मन्त्रालय गम्भीर नहुनु अर्को दुर्भाग्य रहेको उनले बताए । ‘यो भनेको हाम्रो सम्पत्तिमाथि पनि आक्रमण हो, कतिपय लगानीकर्तालाई आजै सेयर बेचेर पैसा जोहो गर्नुपर्ने बाध्यता होला, तर कारोबार नै नभएपछि हामी अन्यायमा पर्‍यौँ’ ढकालले भने ।

पूँजी बजारमा ८० लाख लगानीकर्ता संलग्न रहेको भन्दै उनले अर्थ मन्त्रालयले नै पहल गरेर नयाँ सुरक्षित, विश्वका ठूला बजारमा प्रयोग भइरहेका प्रविधि अलवम्बन गर्नतिर लाग्नुपर्ने बताए । ‘बारम्बार नयाँ स्टक एक्स्चेन्ज चाहिन्छ भन्नुको कारण पनि नयाँ प्रविधि भित्रिएला, यस्ता विकराल समस्या नआउलान् भन्ने विश्वासले हो’ ढकालले भने। तर सरकारले भने नयाँ स्टक एक्स्चेन्जलाई अनुमति नदिइ हालकै नेप्सेको क्षमता विस्तार गर्ने र आधुनीकीकरण गर्ने भन्दै आएको छ ।

हाल नेपालको पूँजी बजार आकार ४५ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको छ । कतै यति ठूलो सम्पत्ति नै जोखिममा पर्ने हो कि भन्ने त्रास बारम्बार लगानीकर्ताले महसुस गर्ने गरेको उनले बताए ।

‘हामी लगानीकर्ताले आफ्नो सम्पूर्ण कमाइ पूँजी बजारमै लगाएका हुन्छौँ, बेलाबेला हुने यस्ता घटनाक्रमले तर्साउने गरेको छ’ ढकालले भने । यस विषयमा सम्बन्धित पक्षसँग अहिले बुझ्ने काम भइरहेको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?