News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि काठमाडौंमा शुरू भएको छ, जहाँ आन्तरिक पुनर्गठन र नीतिगत सुधारमा छलफल भइरहेको छ।
- पार्टीले नेतृत्व परिवर्तनको चर्चालाई अफवाह भन्दै बैठकको मुख्य एजेण्डा पार्टीलाई समग्र रूपमा नयाँ उचाइमा पुर्याउने कार्यभार भएको प्रस्ट पारेको छ।
- तीन दिन चल्ने बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने र त्यसबाट पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिने एमालेको विश्वास छ।
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट शुरु भएको छ ।
महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका विषयमा छलफल शुरु भएको हो ।
नेतृत्व परिवर्तनको चर्चालाई ‘अफवाह’ भन्दै एमालेले पार्टीलाई समग्र रूपमा नयाँ उचाईमा पुर्याउने कार्यभार बैठकको मुख्य एजेण्डा भएको प्रस्ट पारेको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य ऐनबहादुर महरकाअनुसार पार्टीको सचिवालयले यसअघि नै निर्वाचनको समीक्षा र पुनर्गठनको सन्दर्भमा सुझाव सङ्कलनको प्रक्रिया थालनी गरिसकेको छ ।
अहिले शुरु भएको केन्द्रीय कमिटी बैठकले पार्टीलाई लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहका रूपमा सुदृढ गर्दै देशका वर्तमान कार्यभारहरू पूरा गर्न सक्ने गरी सशक्त बनाउने लक्ष्य लिएको महरले बताए ।
तीन दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले आफ्ना विचार राख्ने अवसर पाउने र त्यसबाट पार्टीलाई एकतावद्ध बनाउने ठोस निष्कर्ष निस्कने विश्वास नेतृत्वले लिएको छ ।
‘यो केवल नेतृत्व पुनर्गठनको विषय होइन । हामी पार्टीको नीति, व्यवहार र कार्यशैलीमा व्यापक सुधार गर्दै जनअपेक्षाअनुरूपको सुदृढ सङ्गठन निर्माण गर्ने दिशामा छौं,’ उनले भने, ‘हाम्रो पार्टी विधि र पद्धतिबाट चल्छ । हामी छलफलमा खुला छौँ, निर्णय प्रक्रियामा सामूहिक छौँ र कार्यान्वयनमा एकतावद्ध छौँ ।’
एमालेमाथि भइरहेको राजनीतिक आक्रमणलाई चिर्न राष्ट्रिय शक्तिहरूको ध्रुविकरण र लोकतन्त्रको रक्षाका लागि यो बैठक ‘कोशेढुङ्गा’ सावित हुने महरको दाबी छ ।
प्रतिक्रिया 4