News Summary
Generated by OK AI. Editorially reviewed.- कुवेत फर्किन त्रिभुवन विमानस्थल पुगेका एक श्रमिकको श्रम स्वीकृति नवीकरण नभएको भन्दै अध्यागमनले रोकेपछि उनले २३ हजार रुपैयाँ पठाएर उडान भरेका छन् ।
- श्रम स्वीकृति नवीकरणका लागि वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली नचल्दा र समय कम हुँदा ती श्रमिक बिचौलियाको सम्पर्कमा परेका थिए ।
- अध्यागमन कार्यालयले यसबारे जानकारी नभएको बताउँदै त्यस्तो काममा संलग्न कर्मचारीमाथि कारबाही हुने जनाएको छ ।
५ असोज, काठमाडौं । कुवेतमा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवा बिदा सकेर फर्किन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । बोर्डिङ पाससमेत लिइसकेका उनलाई श्रम स्वीकृति नवीकरण नभएको भन्दै अध्यागमन अधिकारीले रोके ।
श्रम स्वीकृति नवीकरण गर्नुपर्ने जानकारी नभएका ती युवा विमानस्थल पुगेपछि समस्या परे । त्यतिबेला उनको उडान छुट्न करिब एक घण्टा मात्रै बाँकी थियो । तत्काल श्रम स्वीकृति नवीकरणका लागि वैदेशिक रोजगार विभागको प्रणाली समेत नचलेपछि उनी थप समस्यामा परे ।
आज बिहान ७:४५ बजेको उडान मार्फत उनी कुवेत जाने तयारीमा थिए । तर, ७ बजे विमानस्थलमा रोकिएपछि उनले श्रम स्वीकृति नवीकरणका लागि अनलाइन मार्फत एप्लाई गर्न खोजे । तर, अनलाइन सिस्टम नचलेपछि उनी समस्यामा परे ।
यही क्रममा उनलाई विभिन्न नम्बरबाट फोन आउन थाल्यो । ‘समस्या समाधान गरिदिने’ भन्दै एक व्यक्तिले २८ हजार रुपैयाँ मागेको उनका आफन्तको दाबी छ ।
त्यसपछि ‘दीपक मल्ल’ नाम गरेका व्यक्तिले ह्वाट्स एपमार्फत सम्पर्क गरी आफ्नै नाममा रहेको एनआईसी एसिया बैंकको क्यूआर कोड पठाए । ती श्रमिकले तत्काल आफूसँग २३ हजार रुपैयाँ मात्रै रहेको बताएपछि उक्त रकम पठाएका थिए ।
बाँकी ५ हजार रुपैयाँ भने कुवेत पुग्नुअघि नेपालमा रहेका आफन्त मार्फत पठाउन भनिएको थियो । रकम नदिए कुवेत पुगेपछि समेत समस्या हुने भन्दै दबाब दिइयो ।
मल्लको क्यूआरमा २३ हजार रुपैयाँ पठाएपछि श्रम स्वीकृति नवीकरण नगरी ती श्रमिक कुवेत उडेका थिए ।
सम्बन्धित व्यक्तिले ह्वाट्स एपमा पठाएको अडियोमा भनिएको छ, ‘अहिले २३ हजार जति हालिदिनू, ५ हजार जति कुवेत पुग्नुभन्दा पहिला कसैलाई भनेर नेपालबाटै हाल्न लगाइदिनू न, त्यसपछि इन्ट्री जानू ।’
रकम पठाइएको प्रमाणमा ‘दीपक मल्ल’ को नाममा रहेको एनआईसी एसिया बैंकको क्यूआर कोडमा २३ हजार रुपैयाँ पठाइएको देखिन्छ । बाँकी ५ हजार रुपैयाँका लागि समेत ती श्रमिकका आफन्तलाई ह्वाट्स एपमार्फत पटक–पटक सम्पर्क गरिएको थियो ।
समस्या समाधानका लागि आफन्तले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्दा श्रम स्वीकृति नवीकरण गरेर पुन: अध्यागमन पार गर्ने वा उडान छुटेमा महँगो मूल्यमा अर्को टिकट काटेर कुवेत जानुपर्ने विकल्प रहेको बताइएको थियो ।
अध्यागमनका कर्मचारीको मिलेमतोमा २३ हजार रुपैयाँ दिएपछि श्रम स्वीकृति नवीकरण नभई इन्ट्री पास गराइएको थियो ।
यो विषयमा अध्यागमन अधिकारीहरूले भने जानकारीमा नरहेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीले यो विषयमा आफूहरूलाई जानकारी नआएको बताए । श्रम स्वीकृति नवीकरण नगरी रकम लिएर कसैलाई पठाइएको भए त्यसमा संलग्न कर्मचारीमाथि कारबाही हुने उनले बताए ।
‘त्यस्तो गर्न मिल्दैन, त्यसरी श्रम स्वीकृति नवीकरण नभई पैसा लिएर पठाइएको रहेछ भने त्यस्ता कर्मचारीमाथि कारबाही हुन्छ,’ उनले भने ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक बिदामा नेपाल आएर पुन: गन्तव्य मुलुक फर्किंदा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, यस्तो प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा श्रमिक विमानस्थल पुगेपछि समस्यामा पर्ने गरेका छन् ।
त्यसमाथि सरकारी अनलाइन प्रणालीमा प्राविधिक समस्या आउँदा उडानको समय नजिकिएका श्रमिक थप अप्ठ्यारोमा पर्ने गरेका छन् । यही अवस्थाको फाइदा उठाउँदै बिचौलियाले श्रमिकसँग रकम असुल्ने जोखिम समेत देखिएको छ ।
प्रतिक्रिया 4