+
+
Shares

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान, अमेरिका र दक्षिण कोरियाको प्रतिबद्धता

उत्तर कोरियाको पूर्ण निशस्त्रीकरणमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले न्युयोर्कमा भेटेर उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्।
  • तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्वका लागि त्रिपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन्।
  • उनीहरूले उत्तर कोरियाले अपहरण गरेका व्यक्तिको समस्या समाधान, साइबर गतिविधि नियन्त्रण र ताइवान जलडमरूमध्यमा शान्ति कायम राख्ने विषयमा पनि जोड दिएका छन्।

६ असोज, काठमाडौं । जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो । सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति पनि गरेका जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

बैठकपछि सार्वजनिक संयुक्त धारणा अनुसार, तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न त्रिपक्षीय सहकार्यलाई महत्वपूर्ण आधारका रूपमा लिँदै ठोस ढंगले सहकार्य जारी राख्ने बताएका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय विपद् उद्धार तथा राहत प्रयासमा सहयोग बढाउने र दक्षिण–पूर्वी एसियामा सीमापार हुने आपराधिक गतिविधिविरुद्धका उपायलाई थप सुदृढ गर्ने विषयमा पनि सहमति जनाएका छन् ।

त्यसैगरी, इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त)सहित अन्य क्षेत्रमा आगामी पुस्ताको आणविक रिएक्टर अर्थात् स्मल मोड्युलर रिएक्टर (एसएमआर) तैनाथ गर्ने योजनालाई तीव्रता दिन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

उत्तर कोरियाको विषयमा तीन विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुरूप उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणका लागि सहकार्य जारी राख्ने बताएका छन् । साथै, उत्तर कोरियाले अपहरण गरेका व्यक्तिहरूसँग सम्बन्धित समस्याको तत्काल समाधान आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन् ।

उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आम्दानी जुटाउने साइबर गतिविधिलाई नियन्त्रण गर्न पनि तीन देशले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

बैठकमा चीनलाई ध्यानमा राख्दै क्षेत्रीय सुरक्षा अवस्थाबारे समेत छलफल भएको थियो । बल वा दबाबका माध्यमबाट यथास्थिति एकपक्षीय रूपमा परिवर्तन गर्ने प्रयासप्रति तीन देशले चासो व्यक्त गर्दै ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्व कायम राख्नुको महत्वमा जोड दिएका छन् ।

यसैबीच, जापानी विदेशमन्त्री मोतेगी र अमेरिकी विदेशमन्त्री रुबियोबीच छुट्टै भेटवार्ता पनि भएको थियो । उनीहरूले चीनसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्दै जापान–अमेरिका गठबन्धनलाई थप सुदृढ बनाउन नजिकबाट सहकार्य गर्ने सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?