६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि इंगित गर्दै सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको उल्लेख गर्दै त्यो अर्थमा आफ्नो दुरी नरहेको धारणा राखे ।
बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोख्रेलले ‘तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन’ भनेका थिए ।
‘तपाईं र मेरो दुरी छैन’ महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने,’ पार्टी भित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ ।’ तपाईंलाई नेता मानेकै छु तर नेतृत्व मिलेन। तपाईंले कार्यकर्तालाई समान रूपले हेर्ने दृष्टिकोण राख्नुपर्यो ।’
राजनीतिक, वैचारिक, सैद्धान्तिक सबै कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले यही कारण मान्छेहरुले आफूहरूलाई मान्न छोडेको धारणा महासचिव पोख्रेलको थियो ।
‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ,’ महासचिव पोख्रेलको आशय थियो,’ प्रतिवेदनमा रियलाइजेसन गर्ने, तर व्यवहार चाहिँ यथावत् रहने कुराले ठिक हुँदैन ।
उनले पार्टीकै सुधारका लागि निकै मिहिनेत गरेर कार्यदलको प्रतिवेदन तयार भएको उल्लेख गर्दै त्यसलाई वेवास्ता गर्न नमिल्ने धारणा राखेका थिए । जनताले जे गरेका छन्, त्यो कुरा नबुझी गरिने निर्णयले कहीँ पनि नपुर्याउने पोख्रेलको धारणा थियो ।
ओलीले सोमबारको बैठकमा महासचिव पोख्रेललाई कुनै भूमिका दिएका थिएनन् । त्यसपछि हिजो नै गुण्डु पुगेर पोख्रेलले उनलाई बैठकको तरिकाबारे असहमति राखेका थिए । पोख्रेलले नै अहिले अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया 4