News Summary
Generated by OK AI. Editorially reviewed.- खराब मौसमका कारण सन् २०२६ को शरदकालीन मनास्लु आरोहण सिजन कुनै आरोहण नभई औपचारिक रूपमा टुङ्गिएको छ।
- क्याम्प ३ सम्म पुगेका आरोहीहरू तीव्र हावा र निरन्तर हिमपातपछि बेसक्याम्प र सामागाउँतर्फ फर्किएका छन्।
- समिट फोर्स, हिमालय समिट क्लब र अन्य टोलीले जीवनलाई पहिलो प्राथमिकता दिँदै सुरक्षित रूपमा घर फर्कने निर्णय गरेका छन्।
७ असोज, गोरखा। मनास्लु आरोहणको सपना बोकेर हिमाल पुगेका आरोहीहरू यसपटक शिखर नपुगी फर्किएका छन्। खराब मौसमले यात्रा रोकिने भएपछि आरोहीहरूले आफ्नो जीवनलाई पहिलो प्राथमिकता दिँदै सुरक्षित फर्कने निर्णय गरेका हुन्। सातोरी एडभेन्चर्सका फुर्ते शेर्पा भन्छन्, ‘हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ। खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किंदैछ। अझै पनि हिमालमा रहनुभएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस्। कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन। अर्को वर्ष भेटौँला, मनास्लु।’
मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पा लेख्छन्, ‘तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीलाई शिखरमा पुग्ने योजना पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ।’ आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ।
‘महिनौँको तयारीपछि बल्लतल्ल पुगेको शिखरबाट फर्कन यसै सहज हुँदैन, तर हिमाल सधैँ यहीँ रहिरहनेछ। मनास्लु सधैँ यहीँ छ। आउँदो वर्ष पुनः फर्कनुहोला। हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि। सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन। कहिलेकाहीँ, सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो’, भन्दै उस्तै सभ्य र सालिन भाषा प्रयोग गर्दै हिमालय समिट क्लबले आफ्ना आरोहीलाई पनि घर फर्काएको छ।
समिट क्लबले भनेको छ, ‘विनम्रता, धैर्यता र प्रकृतिप्रतिको सम्मानको अर्को पाठ सिकाएकोमा धन्यवाद, मनास्लु ! अनि यस मनास्लु यात्रामा हामीसँग जोडिनु भएकोमा र आफ्नो विश्वास तथा सहयोगका लागि विश्वभरका हाम्रा सम्पूर्ण आदरणीय अतिथिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। सन् २०२७ मा फेरि भेटौँला।’
सन् २०२६ को लागि शरदकालीन मनास्लु आरोहण सिजन कसैले पनि आरोहण नै नगरी औपचारिक रुपमा टुङ्गिएको छ। बङ्गालको खाडीबाट नेपालतर्फ आउँदै गरेको गहिरो न्यून चापीय प्रणालीको प्रभाव विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा पनि देखिएको हो। जसका कारण हिमालमुनि रहेका सयौँ पर्वतारोही र गाइडलाई असर परेको छ। दुई सातादेखि लगातार मौसमले साथ नदिएपछि आफूहरू मनास्लु आरोहण नगरी धमाधम फर्किएको आरोही नाङ्स्याल छोदेनले बताए।
मनास्लुको क्याप ३ सम्म पुगेका आरोही चुचुरोमा नपुगी फर्किनुपरेको उनले जानकारी दिए। ‘यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुपर्यो, जीवन रह्यो भने हिमालले त पर्खन सक्छ’, उनले भने, ‘अहिले त बेसक्याप पनि रित्तिसक्यो। हामी केही आरोही र शेर्पाको टोलीहरू बेसक्यापमा टेण्ट निकाल्दै छौँ। हामी पनि अब सामागाउँ झर्ने तयारीमा छौँ।’
यो सिजनमा रोप फिक्सिङ (डोरी बाँध्ने) कार्यदलका केही सदस्यबाहेक अन्यले मनास्लु आरोहण गर्न नपाएको छोदेनको भनाइ छ। उनका अनुसार मनास्लुको क्याम्प ३ सम्म पुगेका आरोही मङ्गलबार बेसक्याप झरेका र बुधबार बिहानदेखि सामागाउँ फर्कन थालेका हुन्। केही कम्पनीका आरोही अक्टोबरमा आरोहण गर्ने तयारीमा रहेका र अधिकांश आरोही काठमाडौँ फर्कन लागेका आरोही नाङ्स्याल छोदेनले बताएका छन्।
मनास्लु आरोहणको तयारीमा रहेका अमेरिकी आरोही चार्ली एङ्गलले भनेका छन्, ‘आज धेरै मानिसहरू हिमालबाट तल झर्दैछन्। केही मानिसहरू अझै पनि आफैँ तल आउन सकेका छैनन्। उद्धार कार्य अझै जारी छ। अनि मौसमको अवस्था हेर्दा, अबको एक हप्ता वा १० दिनसम्म पर्खनुपर्ने स्थिति आउन सक्छ जस्तो देखिन्छ। त्यसो भए हामी के गर्दैछौँ त ? खासै केही छैन। हामी पर्खिरहेका छौँ, मौसमलाई नियालिरहेका छौं। के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्दैछौँ र त्यसैका आधारमा निर्णय लिनेछौँ।’
यसअघि सन् २०२२ को शरद ऋतुमा प्रतिकूल मौसमका कारण सयौँ आरोहीहरू मनास्लु आरोहण नगरी फर्किनुपरेको थियो। निरन्तर वर्षा र हिमपातका कारण हिमाल चढ्न अनुकूल नभएपछि यो वर्ष पनि आरोही हिमालै नचढी फर्किनु परेको हो।
हालका लागि मौसम प्रतिकूल भए पनि फेरि यसै याममा आरोहण गर्न सक्ने सम्भावना नरहेको बेसक्यापमा रहेका प्रबल लामाले जानकारी दिए। ‘विभिन्न देशबाट आएका आरोही कसैको भिसा सिद्धिएको हुन्छ। आफूमात्र गएर भएन। सरसामान लैजानुपर्छ, गाइड, शेर्पा लैजानुपर्छ। त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन’, लामाले भभने, ‘म सन् २०१२ देखि मनास्लु आउन थालेको हुँ। यो वर्षजस्तो भारी वर्षा र हिमपात कहिल्यै आएको थाहा थिएन।’
सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा विगत दुईसातादेखि निरन्तर पानी परिरहेको सामागाउँका वीरबहादुर लामाले बताए। हाल सामागाउँ बेसक्याम्पबाट फर्किएका आरोहीहरूले होटल खचाखच भरिएको उनले जानकारी दिए। ‘केही मनास्लु सर्किट हुँदै पैदल हिँडेर फर्कने तयारीमा छन् भने अधिकांश हेलीमा फर्किरहेका छन्’, लामाले भने।
उच्च हिमाली वातावरण द्रुत गतिमा बदलिरहेको छ। हिमपात, वर्षा, हावाको बेग र हिमालको अस्थिरता, यी सबैले हिमाल आरोहणमा निर्णय लिन महत्वपूर्ण भूमिका खेल्छन्। यही विषयको भेउ नपाउँदा सन् २०१२ मा र ११ जना आरोहीको ज्यान गयो।
आठ हजार १६३ मिटर अग्लो मनास्लुलाई प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त शिखरका रूपमा लिइँदै आइएको छ। यसका आरोहण मार्गहरूले हिमखानी भरिएका भूभाग, क्याम्प १ र २ बीचको सक्रिय आइसफल तथा माथिल्लो भेग ठाडो, भिरालो पाखा एवं सेराक्स छन्।
केहीदिनको अप्रत्याशित भारी हिमपातपछि, मनास्लुमा करिब पाँच फिट नयाँ हिउँ जम्मा भएसँगै हिमालको स्थिति पूर्ण रूपमा परिवर्तन भएको छ। क्याम्प ३ र क्याम्प ४ बीचको बाटो हिमपहिरोको तीव्र जोखिमयुक्त क्षेत्रमा पर्ने बताइएको छ।
हालै गएको हिमपहिरोले डोरी टाँग्ने टोलीलाई समेत प्रभावित पारिसकेको छ। असोज आठ र नौ गतेदेखि नेपालमा अर्को ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना रहेकाले आरोही लैजाने कम्पनीहले यस यामको मनास्लु आरोहण प्रयास यहीँ अन्त्य गर्ने कठिन निर्णय लिएका छन्।
विश्वको आठौँ अग्लो मनास्लु आरोहण गर्न यो सिजनमा सधैँभन्दा धेरै करिब पाँचसय आरोहीले अनुमति लिएका थिए। पाँचसय जना नेपाली उच्च हिमाली गाइड र सहयोगी कर्मचारी मनास्लुमा आएका थिए। गत वर्ष ४१० जनाले अनुमति लिएका थिए भने यस वर्ष ४९३ जनाले त्यो अनुमति पाएका छन्। अघिल्लो वर्ष विभिन्न ६७ देशका ४१ समूहका अरोहीबाट सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ।
प्रतिक्रिया 4