+
+
Shares

कैलाली कांग्रेसका कार्यवाहक विवाद : केन्द्रले बडुवाललाई दियो, थारु भड्किए

‘आमाको काजकिरियामा रहेका बेला यस्तो निर्णय सुन्दा झन् पीडा भयो’

‘गत भदौ २९ गते मेरी श्रद्धेय माताको निधन भएपछि म काजकिरियाको अत्यन्तै पीडादायी र पारिवारिक दायित्वमा व्यस्त रहेको अवस्थामा पार्टीले गरेको यो निर्णयप्रति मेरो गम्भीर आपत्ति छ,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २०:२५

७ असोज, काठमाडौं । नेपाली कांग्रेसले कैलाली जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी भीम बडुवाललाई दिएपछि यसअघि कार्यवाहक सभापतिकै भूमिकामा काम गरिरहेका खेमराज डगौरा थारु भड्किएका छन् ।

थारुलाई जिल्ला सभापति नारायणदत्त भट्टले आफू राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि दैनिक कार्यसञ्चालनका लागि कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

तर, बुधबार कांग्रेसले अधिवेशन प्रक्रियामा नसघाएको भन्दै सभापति भट्टको जिम्मेवारी खोसेर बडुवाललाई कार्यवाहक सुम्पिएको थियो ।

त्यसैविरुद्ध थारुले एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

‘नेपाली कांग्रेस कैलालीको कार्यवाहक सभापतिको जिम्मेवारी अन्य व्यक्तिलाई तोकिएको भन्ने जानकारीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कैलालीमा सभापति नारायणदत्त भट्ट ज्युले मलाई कार्यवाहक दिएर कार्यरत रहेको थियो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय समितिका महामन्त्री प्रदीप पौडेल ज्युले कैलाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी अन्य व्यक्तिलाई दिएको भन्ने जानकारी प्राप्त भएको छ ।’

पार्टीको जिम्मेवार पदमा रहेर लामो समयदेखि निरन्तर पार्टी संगठन, विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएर काम गर्दैआएको अवस्थामा शोकमा रहेका बेला गरिएको यस निर्णयले आफूलाई गम्भीर र मर्माहत बनाएको उनले भनेका छन् ।

‘गत भदौ २९ गते मेरी श्रद्धेय माताको निधन भएपछि म काजकिरियाको अत्यन्तै पीडादायी र पारिवारिक दायित्वमा व्यस्त रहेको अवस्थामा पार्टीले गरेको यो निर्णयप्रति मेरो गम्भीर आपत्ति छ,’ उनले भनेका छन् ।

‘आमाको निधनको पीडा र शोकमा डुबिरहेका बेला आफूले जीवनभर समर्पण गरेको पार्टीबाटै यस्तो निर्णय सुन्नुपर्दा मैले शब्दमा व्यक्त गर्न नसकिने दु:ख र पीडा महसुस गरेको छु,’ थारुले अगाडि भनेका छन् ।

आफू शोकमै रहेकै अवस्थामा पनि असोज १ गते जिल्ला भेला आयोजना गरी पार्टीको नियमित कामलाई निरन्तरता दिएको उनले स्मरण गराएका छन् । ‘त्यसक्रममा पार्टीको संगठनात्मक गतिविधिमा कुनै बाधा अवरोध उत्पन्न भएको अवस्था थिएन,’ उनले भनेका छन् ।

आफूले कांग्रेसमा पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई विचार, सिद्धान्त, लोकतन्त्र र संगठनप्रतिको निष्ठाका आधारमा जीवनको महत्वपूर्ण समय समर्पित गरेको उनले बताएका छन् ।

‘पार्टीका कठिन दिनमा समेत संगठनको पक्षमा उभिँदै, गाउँ– गाउँ पुग्दै कार्यकर्तासँग जोडिँदै र पार्टीलाई बलियो बनाउन निरन्तर योगदान दिँदै आएको छ,’ उनले भनेका छन्, ‘तर आज त्यही त्याग, तपस्या र योगदानको प्रतिफलका रूपमा आएको यो व्यवहारले स्वाभाविक रूपमा प्रश्न जन्माएको छ के पार्टीका लागि गरेको त्याग र योगदानको मूल्य यति नै हो ?’

यस्तो छ खेमराज डगौरा थारुको पूरा प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?