News Summary
Generated by OK AI. Editorially reviewed.- भन्सार विभागका अनुसार चालु आवको पहिलो दुई महिनामा कुल वस्तु आयात ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिभन्दा ३१.५८ प्रतिशत बढी हो ।
- भदौसम्म वस्तु निर्यात ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशत बढी हो ।
- १० भदौको रसुवा–भोटेकोशी बाढीपछि रसुवागढी नाका क्षतिग्रस्त हुँदा चीनसँगको व्यापार कोरलामा सरेको छ, जहाँ दुई महिनामा ८ अर्ब ३३ करोडको वस्तु आयात भएको छ ।
७ असोज, काठमाडौं । १० भदौ २०८३ मा आएको रसुवा–भोटेकोशी बाढीको असर वैदेशिक व्यापारमा न्यून देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन–भदौ) सम्मको तथ्यांक अनुसार उत्तरी नाकातर्फको व्यापारमा केही असर गरे पनि समग्र वैदेशिक व्यापारमा उछाल आएको देखिन्छ ।
विभागका अनुसार भदौ मसान्तसम्म कुल वस्तु आयात ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबर रहेको छ । जुन अघिल्लो गत आव २०८२/८३ भदौ महिनासम्मको तुलनामा ३१.५८ प्रतिशत धेरै हो ।
गत आव दुई महिनामा ३ खर्ब ५ अर्बको वस्तु आयात भएको थियो । वस्तु आयातमा भएको बढोत्तरीले अर्थतन्त्र क्रमश: चलायमान हुँदै गरेको संकेत गरेको छ ।
विभागका अनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबर वस्तु आयात भएकोमा भदौमा मात्र २ खर्ब १४ अर्ब बराबरको वस्तु आयात भएको छ ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १० असारमा आएको बाढीका कारण विदेशबाट आएको राहत र उद्धार सामग्रीले समेत आयात वृद्धिमा योगदान गरेको हो । दुई महिनामै शून्य भन्सार दर लाग्ने वस्तु आयात ४६ अर्ब ५९ करोड बराबर भएको छ ।
भदौसम्म वस्तु निर्यात ७६ अर्ब ५८ करोड बराबर भएको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ६१.८६ प्रतिशत बढी हो । गत आव भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको थियो ।
भदौसम्म आयात र निर्यात दुवैमा आएको उछालले कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड बराबर पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ३५.६४ प्रतिशत बढी हो । तर, निर्यातमा भएको उल्लेख्य वृद्धिले व्यापार घाटा वृद्धि भने केही कम देखिन्छ ।
भन्सार विभागका अनुसार पहिलो दुई महिनामा ३ खर्ब २४ अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको छ । भदौसम्म आयात–निर्यात अनुपात ५.२४ रहेको छ ।
कुल वैदेशिक व्यापारमा आयातले आफ्नो हिस्सा केही गुमाएर ८३.९८ प्रतिशतमा कायम भएको छ । अघिल्लो आव यो ८६.५८ प्रतिशत थियो । निर्यात हिस्सा १६.०२ प्रतिशत देखिएको छ । जुन अघिल्लो आवको तुलनामा १९.३३ प्रतिशत धेरै हो ।
कुल निर्यातले थेग्दैछ पेट्रोलियम पदार्थ आयात
चालु आव पहिलो दुुई महिनाको तथ्यांक केलाउँदा कुल निर्यातबाट आर्जन भएको वैदेशिक मुद्राले कम्तीमा पेट्रोलियम पदार्थ खरिद गर्न सक्ने अवस्था कायम छ ।
विभागका अनुसार भदौसम्म कुल ७३ अर्ब ९७ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ । कुल वस्तु निर्यात ७६ अर्ब ५८ करोड छ । वनस्पति तेल तथा घिउ आयात ४८ अर्ब ५७ करोड रहेको छ ।
त्यस्तै सवारीसाधन आयात र पार्टपुर्जा आयात दुई महिनामै २९ अर्ब २८ करोड बराबर पुगेको छ । मल आयात २४ अर्ब ९१ करोड बराबर भएको छ । मेसिन र पार्टपुर्जा आयातमा २४ अर्ब ९१ करोड विदेशिएको छ । आइरन र स्टिल आयातमा २३ अर्ब ४६ करोड विदेशिएको देखिन्छ ।
यसैगरी निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेल समूहको ४१ अर्ब २८ करोड रुपैयाँ बराबर छ । धागो निर्यात ३ अर्ब ४६ करोड बराबर भएको छ । कफी, चिया तथा मसला निर्यात ३ अर्ब ४ करोड बराबर भएको छ ।
डिजेल र पेट्रोलभन्दा धेरै कच्चा सोयाबिन तेल आयात
पहिलो दुई महिनामा डिजेल र पेट्रोलभन्दा बढी कच्चा सोयाबिन तेल आयात भएको छ । भदौसम्म ३८ अर्ब ५ करोडको सोयाबिन तेल आयात भएको छ । डिजेल दोस्रो स्थानमा छ । दुई महिनामा २८ अर्ब ३ करोडको डिजेल आयात भएको छ । पेट्रोल आयात १६ अर्ब १३ करोड बराबर भएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यास आयात १६ अर्ब २ करोड बराबरको भएको छ । स्मार्टफोन ९ अर्ब ७४ करोड, ल्यापटप र नोटबुक २ अर्ब ७८ करोड र सुन आयात १ अर्ब १ करोडको भएको छ ।
निर्यातको अग्रस्थानमा सोयाबिन तेल
वस्तुतर्फ निर्यातको पहिलो स्थानमा सोयाबिन तेल छ । जुन ३६ अर्ब ४ करोड रुपैयाँ बराबर भएको छ । जुट वा यस्तै प्रकारका वस्तुबाट बनाइएका धागो/कपडा निर्यात २ अर्ब २३ करोड बराबर छ ।
सूर्यमुखी फूलको तेल निर्यात २ अर्ब ८ करोड बराबर छ । पाम तेल निर्यात १ अर्ब ९३ करोड बराबर भएको छ । कार्पेट/टेक्सटायल आयात १ अर्ब ७६ करोडको भएको छ । अलैँची निर्यात १ अर्ब ६५ करोड बराबर भएको छ ।
भारत र चीनसँग धेरै व्यापार
तथ्यांक अनुसार नेपालका मुख्य व्यापारिक साझेदार देश भारत र चीन हुन् । दुई महिनामा भारतबाट २ खर्ब २१ अर्बको वस्तु आयात भएको छ । भारततर्फ निर्यात ६५ अर्ब ४४ करोड बराबर भएको छ ।
चीनबाट ७६ अर्ब ४० करोडको वस्तु आयात भएको छ । २९ करोड ३३ लाख बराबरको वस्तु निर्यात भएको छ । तेस्रो स्थानमा अर्जेन्टिना छ । त्यहाँबाट २८ अर्ब २० करोडको वस्तु आयात भएको छ । साउदी अरबबाट ९ अर्ब ८४ करोड र अमेरिकाबाट ६ अर्ब ५७ करोडको वस्तु आयात भएको तथ्यांक छ । अमेरिकामा निर्यात ४ अर्ब १५ करोड बराबर भएको छ ।
रसुवाको व्यापार कोरलातिर
१० भदौको बाढीपछि रसुवागढी नाका पूर्णतया क्षतविक्षत भयो । यसको असरले चीनसँगको व्यापार मुस्ताङको कोरला सरेको छ ।
तथ्यांक अनुसार दुई महिनामै कोरलाबाट ८ अर्ब ३३ करोडको वस्तु आयात भइसकेको छ । साउनमा मात्र कोरलाबाट ५८ करोडको वस्तु आयात भएको थियो ।
रसुवागढी नाकाबाट साउनमा ५ अर्ब ६७ करोडको वस्तु आयात भएको थियो । भदौमा ७ अर्ब ९१ करोड पुगेसँगै नाका अवरुद्ध हुन पुग्यो ।
नेपालको वस्तु आयात/निर्यातको सबैभन्दा ठूलो विन्दु भने वीरगञ्ज हो । यस नाकाबाट कुल आयातको ४९.१५ प्रतिशत र निर्यातको ४४.०५ प्रतिशत व्यापार भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया 4