+
+
Shares

सम्भावित विपद्‌मा उच्च सतर्कता अपनाउन राष्ट्रिय सभाको अपिल

रासस रासस
२०८३ असोज ८ गते १८:१४

८ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

बिहीबारको बैठकमा अध्यक्ष दाहालले अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका हुन् ।

नेपाल मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई अति भारी वर्षाको सम्भावना देर्खिएको हो ।

विभागले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा ग्रेगान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले पूर्वतयारी अपनाउन आह्वान गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तहलगायतका सरकारी संयन्त्रलाई सक्रिय एवं पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिम तथा त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्नसमेत सम्बद्ध सबैलाई निर्देश गरेका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?