+
+
Shares

सुनवल कांग्रेस अधिवेशन : पूर्वमन्त्री कँडेलले कागजपत्र च्याते, मतदान स्थगित

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर मतदानको तयारी भइरहेका बेला पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरी कागजपत्र च्यातेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा देवेन्द्रराज कँडेलले कागजपत्र च्यातेपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।
  • निर्वाचन समितिले शान्ति–सुरक्षाको कारण देखाउँदै मतदान रोक्दा बाँकी ५ पदाधिकारीका लागि ३५६ मतदाता मतदान गर्न तयार थिए।
  • नवलपरासीका ७ पालिकामध्ये सुनवलबाहेक ६ पालिकामा अधिवेशन सम्पन्न भएको छ, जसमा प्रतापपुरमा केशव अधिकारी र पाल्हीनन्दनमा रविन्द्र सहानी सभापतिमा निर्वाचित भएका छन्।

९ असोज, बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरी कागजपत्र च्यातेका हुन् ।

कँडेलले नेता भरत थापाको हातबाट उम्मेदवारको नामावलीको कागज च्यात्दै माइक खोसेर विवाद उत्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार कँडेलले ‘यो चुनाव हुँदैन’ भन्दै माइक खोसेर फाल्नुका साथै निर्वाचनसम्बन्धी फाइलसमेत च्यातेपछि दुई पक्षबीच विवाद बढेको थियो।

स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै निर्वाचन समितिले शान्ति–सुरक्षाको कारण देखाउँदै मतदान स्थगित गरेको छ। विवादपछि प्रहरीले कँडेललाई सुरक्षा दिँदै सुनवल चौराहसम्म पुर्‍याएको थियो।

सुनवल नगर समितिका बाँकी ५ जना पदाधिकारीका लागि मात्र मतदान हुन बाँकी थियो। नगर समितिका सदस्यका लागि आवश्यक संख्याअनुसार मनोनयन दर्ता भइसकेकाले ती पदमा निर्विरोध चयन भइसकेको थियो।

बाँकी पदाधिकारीका लागि बिहीबार साँझ साढे ६ बजे मतदान गर्ने तयारी गरिएको थियो। मतदानका लागि ३५६ मतदाता कायम थिए।

तर, मतदानको तयारी पूरा गरी समय नजिकिँदै गर्दा कँडेल पक्षले निर्वाचन शुक्रबार सार्नुपर्ने अडान लिएपछि विवाद बढेको थियो। अर्को पक्षले भने निर्वाचनस्थलमा मतदाता उपस्थित भइसकेकाले तोकिएको समयमै मतदान गर्नुपर्ने अडान राखेको थियो।

दुई दिनसम्म सहमतिको प्रयास गर्दा नेतृत्व चयनमा सहमति नजुटेपछि दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

सभापति पदमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने तय भएको थियो। कार्यकर्ताका अनुसार यमलाल पाण्डे भीमबहादुर थापा (भरत) पक्ष र यज्ञप्रसाद पाण्डे देवेन्द्रराज कँडेल पक्षबाट उम्मेदवार बनेका हुन्।

सुनवलको विवादलाई कांग्रेसभित्रको पुरानो राजनीतिक प्रतिस्पर्धासँग जोडेर पनि हेरिएको छ। गत प्रतिनिधिसभा निर्वाचनका क्रममा कँडेल र थापा दुवैले टिकट पाएपछि नवलपरासी कांग्रेसमा उनीहरूबीच राजनीतिक प्रतिस्पर्धा थप तीव्र भएको कार्यकर्ताहरू बताउँछन्। उक्त निर्वाचनमा थापाको उम्मेदवारी कायम रहे पनि कँडेलको उम्मेदवारी रद्द भएको थियो।

यही राजनीतिक प्रतिस्पर्धाको प्रभाव सुनवल नगर अधिवेशनमा समेत देखिएको कार्यकर्ताहरूको दाबी छ। सुनवल थापाको गृहक्षेत्र भएकाले संगठनमा थापा पक्ष बलियो हुनसक्ने आकलनका कारण कँडेल पक्षले मतदान तत्काल गर्न नचाहेको केही कार्यकर्ताको भनाइ छ।

निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक समन्वय र छलफल गरेपछि स्थगित मतदान प्रक्रिया अघि बढाइने बताएका छन्।

नवलपरासीका ६ पालिकामा अधिवेशन सम्पन्न

नवलपरासीका सात स्थानीय तहमध्ये सुनवलबाहेक ६ पालिकामा कांग्रेसको नगर/गाउँ अधिवेशन सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिकामा केशव अधिकारी सभापतिमा निर्वाचित भएका छन्। सभापतिका उम्मेदवार संघर्ष जयसवालले ६८ मत पाउँदा अधिकारीले १३० मत प्राप्त गरे। अधिकारी प्रतापपुर–६ का वडाध्यक्षसमेत हुन्।

त्यस्तै, पाल्हीनन्दन गाउँपालिकामा रविन्द्र सहानी सभापतिमा निर्वाचित भएका छन्। १४० मतदाता रहेको पाल्हीनन्दनमा १३६ मत खसेको थियो। सहानीले ८९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिनेशमणि पटेलले ४७ मत पाए। निर्वाचन अधिकृत सुरेन्द्रबहादुर सिंहका अनुसार सहानी निर्वाचित भएका हुन्।

रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा भने सबै पद सर्वसम्मत चयन भएका छन्।

यससँगै जिल्लाका सात पालिकामध्ये ६ पालिकाको अधिवेशन सकिए पनि सुनवलको नेतृत्व चयन अझै अनिश्चित बनेको छ। दुई पक्षबीचको विवाद समाधान गरेर मात्रै स्थगित मतदान अघि बढ्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?