+
+
Shares

द्वन्द्वकालका यौनहिंसा पीडित, जसका लागि आएन शान्ति

खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वसाधारणमाथि भएको ज्यादती । त्योभन्दा बढी महिलामाथि भएका हिंसाका शृंखला अनगिन्ती छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८३ असोज १० गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिमको खारामा २०५६ फागुन १० गते प्रहरीले ७५ घर जलाएर २४ भन्दा बढी बालिका, किशोरी र महिलामाथि सामूहिक बलात्कार गरेको पीडितले बताइन् ।
  • खाराकी ४६ वर्षीया राममायाले शान्ति सम्झौतापछि पनि न्याय, राहत र द्वन्द्वपीडितको पहिचान नपाएको गुनासो गरिन् ।
  • उनले प्रहरी देख्दा पुरानो त्रास जाग्ने, सपनामा अपराधी देख्ने र पाठेघरको उपचारमा २ लाख रुपैयाँ खर्च भएको बताइन् ।

९ असोज, रुकुम (खारा) । गत भदौको अन्तिम साता । लगातारको झरीले भिजेका छन्– रुकुमका सडक, पाखा–पखेरा र गाउँहरू ।

झरीको बीच यो पंक्तिकार रुकुम पश्चिमको खारा पुग्यो, युद्धले छियाछिया बनाएको झण्डै २० वर्षपछि । युद्धमा खाराले भोगेको त्रासदीपूर्ण समय र कलान्तमारसम्म त्यसले बिथोलेका जीवनहरूबारे सुन्न र लेख्न ।

१० वर्षे सशस्त्र युद्धको खारा भिडन्त निकै चर्चित छ । तत्कालीन विद्रोही र शाही सेनाबीच भएको खारा भिडन्तले नै माओवादीलाई बन्दुक बिसाउन बाध्य बनाएको थियो । २०५९ र २०६१ सालमा शाही सेनासँग दुई पटकको हारमा ठूलो क्षति ब्यहोरेपछि माओवादीलाई शान्ति मार्ग रोज्नुपरेको थियो ।

खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वसाधारणमाथि भएको ज्यादती । त्यो भन्दा बढी महिलामाथि भएका हिंसाका शृंखला अनगिन्ती छन् ।

विद्रोही माओवादीले एक जना सिपाही मारेको निहुँमा २०५६ साल फागुन १० गते प्रहरीले तत्कालीन खारा गाविसका तीन वटा गाउँका ७५ घर जलाए । सर्वसाधारणमाथि बुट र बन्दुकका कुन्दा बजारे । भाग्न नसकी घरमै रहेका २४ जना बढी बालिका, किशोरी र महिलाहरूमाथि सामूहिक बलात्कार गरे ।

कलान्तरमा मुलुकमा शान्ति छायो । जलेका घरहरू बने । शरीरका घाउँहरू बिर्सिंदै गए, पुरिँदै गए । तर सामूहिक यौन हिंसामा परेका खाराका महिलाका मनमा कहिल्यै शान्ति आएन । बरु शान्तिपछि राज्यले जुन व्यवहार गर्‍यो, त्यसले घाउँहरू झन्झन् बल्झिँदै गए । फलत: आज उप्रान्त पनि उनीहरू युद्धकै आघातमा बाँचिरहेका छन् । तिनै महिलाहरूको प्रतिनिधि कथा हो, ४६ वर्षीया राममायाको ।

०००

राममायाका श्रीमान् भारतमा मजदुरी गर्थे । बेलाबखत आउजाउ गर्थे । उनी घर हेर्थिन्, खेतबारीमा काम गर्थिन् । यसैगरी जीवन चलिरहेको थियो ।

मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको चार वर्षपछि २०५६ साल १० फागुन गते जे भयो, राममायाको जीवन सधैंका लागि फेरियो । त्यसपछि उनको जीवन फेरि कहिल्यै उस्तै रहेन ।

त्यस दिन बिहान करिब ११ बजे २६ वर्षकी राममाया सधैंझैं खाना खाएर घरमा बसिरहेकी थिइन् । साथमा ६ वर्ष र ४ वर्षका छोरा खेल्दै थिए ।

माओवादी खोज्दै हिँडेका दुई जना प्रहरी घरभित्र छिरे । तेरो पोइ खै भनेर केरकार गरे । उनले श्रीमान् मजदुरीका लागि भारत गएको सुनाइन् । तर प्रहरीले उनको कुरा पत्याएन ।

बरु घरमा एक्लै देखेपछि उनीमाथि जबरजस्ती गर्न खोजे । बन्दुकको नाल तेर्स्याउँदै भनेको नमाने मारिदिने धम्की दिए ।

त्यसबेला राममाया ८ महिनाकी गर्भवती थिइन् । उनले आफूलाई केही नगर्न अनुनय गरिन् । रोइन्, कराइन् । आफ्नो गर्भ बसेको पेट देखाइन् । तर उनीहरूले सुनेनन् ।

राममायाले प्रतिकार गर्न खोजिन् । तर दुई सिपाहीको अघि उनी एक्लैको केही लागेन । शरीर गले । हात खुट्टा थाके । निरीह भइन् ।

‘उनीहरूले मलाई लछारपछार गरे । पालैपालो जाइलागे । पीडाले म रोएँ । कराएँ । चिच्याएँ,’ उनले भनिन्, ‘दुखाइ बढ्दै गएपछि मैले होस गुमाएँ ।’

त्यसपछि केके भयो, राममायालाई याद छैन ।

करिब आधा घण्टापछि फेरि केही थान प्रहरी आए । गस्तीमा आएका प्रहरीले गाउँका घरहरू आगो लगाउँदै हिँडेका थिए । मूर्छित अवस्थामा लडिरहेकी राममायालाई लछार्दै प्रहरीले घर बाहिर ल्याए । र, घरमा आगो झोस्न खोजे ।

अर्धबेहोस अवस्थामै राममायाले रोक्न खोजिन् । तर सकिनन् । ‘मान्छे भएको भए बुझ्थे होला,’ उनले भनिन्, ‘मान्छेको भेषमा उनीहरू अरू नै थिए ।’

आँखै अघि घर जल्यो । घरभित्र लत्ता कपडा थिए । सुत्केरी हुँदा खाने अन्नपात थिए । क्षणभरमै आगोले सबै जले । खरानी बनेको घरतिर हेर्दै राममाया रोइरहिन् ।

केही दिनपछि श्रीमान् घर आए । राममायाले श्रीमान्लाई सबै घटना फेहरिस्त सुनाइन् । सोचेकी थिइन्, ‘श्रीमान्ले आफ्नो पीडा बुझ्लान् ।’

तर, श्रीमान् उल्टै रिसाए । इज्जत फालेको भनेर गालीगलोज गरे । घरदेखि निस्केर जान भने । ‘म पीडामा थिएँ । श्रीमान्ले घृणा गर्न थालेपछि भित्रबाटै टुटें । चारैतिर अँध्यारो देखें ।’

दिन, हप्ता र महिना यसैगरी बिते । पेटमा भएको बच्चा जन्मिसकेको थियो । तर पनि श्रीमान् नजिक परेनन् । उनी राममाया रोएरै बसिरहेकी थिइन् ।

समय बित्दै गएपछि श्रीमान्ले कुरा बुझ्दै गए । उनीसँग नजिकन थाले । ‘चिन्तै चिन्ताले मलाई पूरै खाइसकेको थियो । जसोतसो सास अडिएको थियो । मेरो अवस्था देखेर श्रीमान्को मन पग्लेछ । त्यसपछि झगडा गर्न छोडे,’ उनले भनिन् ।

श्रीमान्ले कुरा बुझे पनि उनी बाहिर खुल्न सकिनन् । आफूमाथि भएको अन्यायबारे कसैलाई भन्न सकिनन् । वर्षांैसम्म मनभित्रको बेदना दबाएर राखिन् ।

घटनाको ठिक सात वर्षपछि २०६३ मंसिर ५ गते विद्रोही माओवादीले बन्दुक बिसाए । मुलुकमा शान्ति सम्झौता भयो । देशमा शान्ति आयो । तर राममायाका लागि शान्ति आएन । त्यसपछि जेजे भयो, उनी झन् मानसिक तनावमा पर्दै गइन् ।

एक दिन उनले हिम्मत गरिन् । श्रीमान्लाई लिएर नेता भेट्न गइन् । आफूमाथि भएको अन्याय सुनाइन् । आँसु बगाइन् । तत्कालीन द्वन्द्वपीडितको पहिचान र राहत क्षतिपूर्ति दिन बनेको शान्ति समितिमा गएर नाम टिपाइन् । दुई पटक काठमाडौं पुगेर आफ्नो कुरा राखिन् । तर सरकारले उनलाई पीडित ठानेन । द्वन्द्वपीडितको सूचीमा उनको नाम आएन ।

जबकि, द्वन्द्वकालका घाइते, अपांग, बेपत्ता र मृतक परिवारले पीडितको परिचय पाए । राहत, परिपूरण पाए । तर राममायाले केही पाइनन् ।

राज्यले पीडित नै ठानेन

मुलुकमा शान्ति स्थापना भएको २० वर्ष पुग्यो । तर राममायाको मनमा कत्ति पनि शान्ति छैन । मनभित्रको घाउ आलै छ ।

आफूलाई लागेको घाउबारे न खुलेर बाहिर कतै भन्न सक्छिन् न बोल्न, हास्न सक्छिन् । घाउ बल्झेर मनमा गाँठो परेर बसेको छ । आफूमाथि भएको घटनाले मानसिक आघातमा छिन् । कतिसम्म भने, बर्दीवाल प्रहरीसमेत देख्न सक्दिनन् ।

‘प्रहरी देख्दा फागुन १० गतेको घटना आँखा वरपर घुम्छ । त्यो सम्झेर अहिले पनि झस्किन्छु । कहिलेकाहीँ सपनामा अपराधीलाई देख्छुँ,’ उनले भनिन्, ‘जति पटक देख्छु, ऐंठन पर्छ । बिहान उठ्दा पसिनाले शरीर भिजेको हुन्छ ।’

युद्धमा घटेको घटनाको घाउ मानसिक रूपमा मात्र हैन, शारीरिक रूपमा पनि बल्झिरहेछ । गर्भवती अवस्थामा बलात्कार हुँदा पाठेघरमा समस्या झेलिरहेकी छिन् राममाया । ‘सुरुमा उपचार गर्न सकिनँ । घाउ बल्झिँदै गएपछि उपचार गराएँ । जति औषधि खाँदा पनि सञ्चो भएन,’ उनले सुनाइन्, ‘मनभित्रको पीडा एउटा छ, शरीरको घाउ अर्काे छ ।’

राममायालाई सबैभन्दा धेरै बिझाउने कुरा हो, शान्ति छाएको यतिका वर्ष बित्दा पनि न्याय नपाउनु । युद्धमा मैले यत्रो ठूलो पीडा भोगें, गल्ती नहुँदा पनि सजाय पाएँ,’ उनले भनिन्, ‘तर मैले न्याय पाइनँ । अरू त अरू राज्यले मलाई पीडित नै ठानेन ।’

उनलाई सबैभन्दा दुखेको कुरा हो, द्वन्द्वपीडितको पहिचान नपाउनु ।

राममाया यतिका वर्ष पहिचानका लागि धेरै ठाउँ गइन् । सबैजसो पार्टीका नेता भेटिन् । स्थानीय सरकार धाइन् । प्रदेश सरकार धाइन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन लिएर पुगिन् । क्षतिपूर्ति मागिन् । द्वन्द्वमा पीडित हुनुको राहत, परिपूरण मागिन् ।

‘राहत माग्न जाँदा पीडित भएको प्रमाण मागे,’ उनले भनिन्, ‘बाहिर हेर्दा केही देखिँदैन । तर मनभित्र घाउ नै घाउ छ । त्यो घाउ म कसरी देखाउँ ?’

राममायाले जहाँ जादा पनि केही पाइनन् । बरु पाठेघरको उपचार गर्दागर्दै २ लाख सकियो । भन्छिन्, ‘अब त ऋणधन गर्ने ठाउँ पनि छैन ।’

अरू द्वन्द्वपीडित सरह आफूलाई पीडित नठान्दा सबैभन्दा धेरै पीडा महसुस भएको उनले सुनाइन् । ‘जहाँ धाउँदा, जति रुँदा पनि राज्यले मलाई पीडित ठानेन । वर्षाैं मनभित्र घुम्सिएको घाउ देखेन,’ उनले भनिन्, ‘यही कुराले दिनरात खान्छ ।’

(पीडितको परिचय गोप्य राखिएको छ, परिचय खुल्न सक्ने भएकाले तत्कालीन खारा गाविसको गाउँका नामहरू पनि खुलाइएको छैन ।)

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?