News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगले २७ राष्ट्रिय गौरवका आयोजनामध्ये २४ निर्माणाधीनको प्रगति दयनीय रहेको र तत्काल सम्पन्न हुने अवस्था नभएको जनाएको छ ।
- महाकाली, बबई, सिक्टा, सुनकोशी मरिन, बुढीगण्डकी र पूर्व–पश्चिम विद्युतीय रेलमार्गलगायत धेरै आयोजनामा वर्षौं बित्दा पनि न्यून प्रगति र लागत वृद्धि देखिएको छ ।
- सरकारले सूचीकृत गरेका तीन आयोजना भने पूरा भई माथिल्लो तामाकोशी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् ।
९ असोज, काठमाडौं । नेपाल सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ । जसमध्ये ३ आयोजना सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने २४ निर्माणाधीन छन् ।
निर्माणाधीन सबैजसो आयोजनाको गति दयनीय रहेको राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणले देखाएको छ । आयोगका अनुसार निर्माणाधीन सबैजसो आयोजनाको आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ को प्रगति उल्लेख्य छैन । जसले गर्दा कुनै पनि आयोजना तत्काल सम्पन्न भई सञ्चालनमा आउन सक्ने अवस्था समेत देखिँदैन ।
आयोगका अनुसार नेपालमा आव २०४५/४६ देखि सुरु भएका आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् । दुई दर्जन आयोजनामध्ये कतिपय आयोजना सम्पन्न हुने मिति स्वयं सरकारलाई समेत थाहा छैन ।
यसरी आयोजना कार्यान्वयनमा समस्या आउने गरी दुष्चक्रमा फस्नुमा पूर्वतयारी नभई आयोजनाको काम थाल्नु, वातावरणसँग सम्बन्धित कानुनी अड्चन, निर्माण सामग्री अभाव, स्थानीयसँगको तनाव तथा स्रोत र निर्माण मोडाटिली नै तय गर्न नसक्नुजस्ता कारण छन् ।
महाकाली सिँचाइ : १९ वर्षमा ३१ प्रतिशत भौतिक प्रगति
महाकाली सिँचाइ आयोजना २०६३/६४ देखि सुरु भएको हो । आयोगका अनुसार २०८२/८३ सम्म यो आयोजनाको भौतिक प्रगति ३१ प्रतिशतमात्र छ । अघिल्लो आव २०८१/८२ सम्म २६.६५ प्रतिशत भौतिक प्रगति थियो ।

यो आयोजना २०८७/८८ मा सक्ने लक्ष्य सरकारको छ । सुरु लागत ३५ अर्ब २ करोड रुपैयाँ रहेको यो आयोजनामा लागत संशोधन भएको देखिँदैन । अहिलेसम्म आयोजनाले १० अर्ब ७१ करोड खर्च गरिसकेको छ । जस अनुसार वित्तीय प्रगति ३०.६ प्रतिशत हुन आउँछ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना : दोब्बरभन्दा धेरै बढ्यो लागत
रानी जमरा कुलरिया सिँचाइ आयोजना २०६६/६७ देखि कार्यान्वयन सुरु भएको हो । यो आयोजनाको गत आवसम्मको भौतिक प्रगति ७४.८ प्रतिशत छ । यो आयोजना सम्पन्न गर्ने लक्ष्य २०८७/८८ सम्म तोकिएको छ । यो आयोजनाको लागत सुरु अनुमानभन्दा दोब्बर धेरैले बढेको छ ।
आयोगका अनुसार यो आयोजनाको सुरु लागत १२ अर्ब ३७ करोड हो । अहिले संशोधित लागत अनुमान २८ अर्ब ७८ करोड बराबर पुगेको छ । २०८१/८२ सम्म भौतिक प्रगति ७१.९२ प्रतिशत रहेकोमा अघिल्लो आवमा सामान्य वृद्धि भएको छ । यो आयोजनाले अहिलेसम्म २१ अर्ब ३२ करोड खर्च गरिसकेको छ ।
बबई सिँचाइ आयोजना : ३८ वर्षमा पनि सकिएन निर्माण
बबई सिँचाइ आयोजना कार्यान्वयन २०४५/४६ देखि सुरु भएको हो । कार्यान्वयन सुरु भएको ३८ वर्षमा यसको भौतिक प्रगति ८१.९७ प्रतिशतमात्र छ । आयोजनाको संशोधित लक्ष्य २०८५/८६ छ । सुरु लागत २ अर्ब ८७ करोड रहेको यस आयोजनाको संशोधित लागत २६ अर्ब ६९ करोड पुगेको छ ।
आव २०८१/८२ सम्म यो आयोजनाको भौतिक प्रगति ७२.७२ प्रतिशत थियो । यस आयोजनाले अहिलेसम्म १८ अर्ब २१ करोड अर्थात् संशोधित लागत अनुमानको ६८.२३ प्रतिशत खर्च गरिसकेको छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : दोब्बर बढ्यो लागत
यो आयोजना कार्यान्वयन २०६८/६९ देखि सुरु भएको हो । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत छ । तर, आयोजनाको लागत भने दोब्बर बढेको छ । सुरुवाती लागत १६ अर्ब ४३ करोड रहे पनि संशोधित लागत अनुमान ३३ अर्ब १९ करोड रहेको छ ।
आव २०८१/८२ सम्म ६२.३२ प्रतिशत रहेको भौतिक प्रगति गत आवमा सामान्य बढेको हो । यो आयोजनाले अहिलेसम्म १९ अर्ब २९ करोड खर्च गरिसकेको छ । जुन संशोधित लक्ष्यको ५८.१३ प्रतिशत हो ।
सिक्टा सिचाइ : २१ वर्षमा आधामात्र प्रगति
सिक्टा सिँचाइ आयोजना कार्यान्वयन २०६१/६२ देखि सुरु भएको हो । कार्यान्वयन थालिएको दुई दशकमा ५१ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । आयोजना सम्पन्न हुने संशोधित लक्ष्य २०८९/९० राखिएको छ । यो आयोजनाको २०८१/८२ सम्मको भौतिक प्रगति ४४.२३ प्रतिशतमात्र थियो ।
आयोजनाको सुरुवाती लागत ४६ अर्ब १९ करोड थियो । अहिले लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । आयोजनाले अहिलेसम्म २४ अर्ब ३३ करोड खर्च गरेको छ । जुन संशोधित अनुमानको ४६ प्रतिशत वित्तीय प्रगति हो ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : ३७ प्रतिशतमात्र भौतिक प्रगति
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयन २०७६/७७ देखि सुरु भएको हो । २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ३७.८१ प्रतिशतमात्र छ । यो आयोजना निर्माण सक्ने लक्ष्य २०८९/९० पुर्याइएको छ । सुरुवाती लागत ४९ अर्ब ४२ करोड रहेको आयोजनाको लागत बढेर ६१ अर्ब ६५ करोड पुगिसकेको छ ।
आव २०८१/८२ सम्म ३६.८३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा गत आवदेखि काम हुन नसकेको विवरणबाट देखिन्छ । सरकारले पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएपछि आयोजनाको काम प्रभावित बनेको छ । अहिलेसम्म यो आयोजनाले १६ अर्ब ८१ करोड बजेट खर्च गरिसकेको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना : भौतिक निर्माण चरणमै पुगेन
सरकारले लामो समयदेखि निर्माण योजना बनाएको यो आयोजना अझै पनि भौतिक निर्माणको चरणमा पुगेको छैन । मुआब्जा वितरण सहित कामले प्रगति १६.५५ प्रतिशत हाराहारी पुगेको देखाएको छ । यो आयोजना कार्यान्वयन गरिसक्ने मिति २०९२/९३ तोकिएको छ ।
यो आयोजना निर्माणमा ४ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अहिलेसम्म ४२ अर्ब ८० करोड खर्च भइसकेको छ । जुन कुल लागतको १०.५४ प्रतिशत बराबर हो । निर्माण र स्रोतको मोडालिटी नटुङ्गिएका कारण यो आयोजना निर्माणको चरणमा कहिले छिर्छ भन्ने अन्याोल कायमै छ ।

एमसीए नेपाल (विद्युत प्रसारण आयोजना) : सक्ने मिति नजिकिँदा १८ प्रतिशतमात्र प्रगति
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल–एमसीए (विद्युत प्रसारण आयोजना) कार्यान्वयन २०७४/७५ देखि सुरु भएको हो । यो आयोजना सम्पन्न हुने मिति २०८५/८६ हो । तर, आयोजनाको भौतिक प्रगति १८.२४ प्रतिशतमात्र पुगेको छ ।
यो आयोजनाको सुरुवाती लागत ६३ करोड अमेरिकी डलर रहेकोमा अहिले बढेर ७४ करोड ७० लाख डलर पुगेको छ । २०८१/८२ सम्म ११.२७ प्रतिशतमात्र भौतिक प्रगति भएको थियो । अहिलेसम्म आयोजनाले १८ करोड २४ लाख डलर बजेट खर्च गरिसकेको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना : कागजी प्रक्रियामै सीमित
नेपालको महत्त्वाकांक्षी परियोजनामध्ये एक पश्चिम सेती जलविद्युत् आयोजनालाई समेत सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । यो आयोजना सन् २०३० सम्म सक्ने लक्ष्य छ । यद्यपि, अहिलेसम्म आयोजना कागजी प्रक्रियामै सीमित छ । झन्डै २ खर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले गति भने लिन सकेको छैन ।

राष्ट्रपति चुरे संरक्षण आयोजना : एक दशकमा ६.७ प्रतिशत प्रगति
राष्ट्रपति चुरे संरक्षण आयोजना आव २०७१/७२ देखि कार्यान्वयन सुरु भएको हो । कार्यान्वयन सुरु भएको एक दशक नाघ्दा यो आयोजनाको भौतिक प्रगति ६.७ प्रतिशतमा सीमित छ । २०८१/८२ मा ६.५५ प्रतिशत प्रगति थियो । अर्थात्, एक वर्षमा यो आयोजनामा खासै प्रगति हुन सकेन ।
आयोजना २०९३/९४ सम्म सक्ने गरी लक्ष्य तोकिएको छ । आयोगका अनुसार यो २० वर्षे गुरुयोजना अनुसार तोकिएको लक्ष्य हो । यस आयोजनामा कुल २ खर्ब ४९ अर्ब ७० करोड बराबर बजेट खर्च गर्ने योजना छ । अहिलेसम्म १६ अर्ब ४२ करोड खर्च भइसकेको छ ।

सुरु लागतको तुलनामा दोब्बर खर्चमा बन्यो मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम अब सम्पन्न हुने अवस्थामा छ । यद्यपि, पटक–पटक आउने बाढीले आयोजना पूर्ण भएको घोषणा गर्न सक्ने अवस्था बनेको छैन । पछिल्लो समय १ असोज २०७८ को बाढीले हेडवर्क्समा क्षति गरेपछि आयोजनाको काम प्रभावित बनेको हो । अहिले भौतिक प्रगति ९९ प्रतिशत पुगेको भए पनि वर्षायाममा नियमित खानेपानी काठमाडौं ल्याउने अवस्था बनेको छैन ।
यो आयोजना सुरु लागतको तुलनामा दोब्बर खर्चमा निर्माण भएको हो । आव २०५५/५६ देखि निर्माण सुरु भएको आयोजनाको सुरु लागत १७ अर्ब रुपैयाँ थियो । तर, संशोधित लागत ३७ अर्ब ६८ करोड पुगेको छ । यस आयोजनाले अहिलेसम्म ३१ अर्ब १४ करोड खर्च गरिसकेको राष्ट्रिय योजना आयोगको तथ्यांक छ ।

काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) : ७ वर्षमा ५ प्रतिशत काम
काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) कार्यान्वयन सुरु भएको ७ वर्ष पुगेको छ । आव २०७५/७६ देखि यो आयोजना थालिएको हो । आयोगका अनुसार २०८२/८३ सम्म यस आयोजनाको भौतिक प्रगति ५.३५ प्रतिशतमा सीमित देखिन्छ । यो आयोजना सम्पन्न गर्ने अनुमानित समय २०८५/८६ हो । कुल लागत ३८ अर्ब ४३ करोड रहेको आयोजनाले अहिलेसम्म १ अर्ब ९० करोड खर्च गरिसकेको तथ्यांक आयोगको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग : १८ वर्षमा ८५ प्रतिशत भौतिक काम
पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको कामसमेत विभिन्न स्थानमा अलपत्र छ । जसले गर्दा कार्यान्वयन सुरु भएको दुई दशकसम्म पनि आयोजनाको भौतिक प्रगति ८४.६८ प्रतिशतमा सीमित छ । यो आयोजना २०६४/६५ देखि सुरु भएको हो । आयोजनाको सुरु लागत ३३ अर्ब ३६ करोड थियो ।
आव २०८४/८५ सम्म सम्पन्न गर्ने संशोधित लक्ष्य राखिएको यो आयोजनाको लागत समेत बढेर ८४ अर्ब ३३ करोड पुगिसकेको छ । यो आयोजनाले २०८२/८३ सम्म ७३ अर्ब ५८ करोड खर्च गरिसकेको छ ।

सुस्त गतिमा हुलाकी राजमार्ग
हुलाकी राजमार्ग आयोजनाको कार्यान्वयन २०६६/६७ देखि सुरु भएको हो । २०८२/८३ सम्म भौतिक प्रगति ७४.४१ प्रतिशत पुगेको छ । यो आयोजना सम्पन्न गर्ने मिति २०८६/८७ तोकिएको छ । सुरु लागत ४७ अर्ब २४ करोड रहेको आयोजनाको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड पुगिसकेको छ । आयोजनाले गत आवसम्म ७३ अर्ब ३८ करोड खर्च गरिसकेको छ । अघिल्लो आवसम्म भौतिक प्रगति ७२.७९ प्रतिशत थियो ।

उत्तर–दक्षिण (कोशी) सडक आयोजना : १७ वर्षमा आधामात्र काम
उत्तर–दक्षिण (कोशी) सडक आयोजना कार्यान्वयन सुरु भएको १७ वर्षमा आधामात्र काम भएको छ । यो आयोजना २०६५/६६ देखि सुरु भएको हो । गत आवसम्म भौतिक प्रगति ४९ प्रतिशतमात्र भएको तथ्यांकले देखाएको छ । सुरु लागत ११ अर्ब ९३ करोड रहेको आयोजनाको लागत बढेर १६ अर्ब २० करोड पुगिसकेको छ । आयोजना सक्ने संशोधित समय २०८५/८६ तोकिएको छ । यस आयोजनाले अहिलेसम्म ७ अर्ब २८ करोड खर्च गरिसकेको छ ।
कालीगण्डकी करिडोरमा ७१.१२ प्रतिशत प्रगति
उत्तर–दक्षिण कालीगण्डकी करिडोर आयोजना २०६७/६८ देखि सुरु भएको हो । २०८२/८३ सम्म यस आयोजनाको भौतिक प्रगति ७१.२३ प्रतिशतमात्र भएको छ । यो आयोजनाको संशोधित लक्ष्य अनुसार २०८८/८९ मा सम्पन्न हुनेछ । सुरुवाती लागत कुल ३० अर्ब ५७ करोड रहेको आयोजनाको संशोधित लागत अनुमान ३५ अर्ब पुगेको छ । आयोगका अनुसार अहिलेसम्म कालीगण्डकी कोरिडोरले २३ अर्ब ४९ करोड खर्च गरिसकेको तथ्यांक छ ।
उत्तर–दक्षिण कर्णाली करिडोर : १३ वर्षमा १३ प्रतिशतमात्र प्रगति
उत्तर–दक्षिण कर्णाली करिडोर कार्यान्वयन १३ वर्षमा १३ प्रतिशतमात्र छ । यो आयोजना कार्यान्वयन २०६९/७० देखि सुरु भएको हो । आव २०८२/८३ सम्म भौतिक प्रगति १३ प्रतिशतमात्र भएको छ । यो आयोजनाको सुरुवाती लागत १८ अर्ब ६६ करोड थियो । अहिले संशोधित लागत २९ अर्ब पुगिसकेको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार अघिल्लो आवमा १२ प्रतिशतमात्र रहेको प्रगति एक वर्षमा एक प्रतिशतमात्र बढेको तथ्यांकले देखिएको छ । यो आयोजनाले अहिलेसम्म ३ अर्ब ३६ करोड खर्च गरेको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : १६ वर्षमा ३.६ प्रतिशत प्रगति
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग २०६६/६७ देखि कार्यान्वयनमा आएको हो । आयोजनाको २०८२/८३ सम्म ३.६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । यो आयोजना अन्तर्गत ९ सय २५ किलोमिटर रेलमार्ग बनाउने लक्ष्य छ । रोचक पक्ष के छ भने यो आयोजना सम्पन्न हुने मिति नै यकिन छैन ।
आयोजनाको सुरु लागत ७० अर्ब ६२ करोड अनुमान गरिए पनि अहिले संशोधित अनुमान १० खर्ब १७ अर्ब पुगेको छ । आयोजना अन्तर्गत बर्दीवास–निजगढ खण्डको ७० किलोमिटरमा काम भइरहेको छ । आयोजनाले अहिलेसम्म ३३ अर्ब ७३ करोड खर्च गरिसकेको तथ्यांक छ ।
काठमाडौं–तराई/मधेस द्रुतमार्ग : संशोधित समय नाघ्दा आधामात्र प्रगति
काठमाडौं/तराई/मधेस द्रुतमार्ग सम्पन्न हुने संशोधित मिति चालु आव २०८३/८४ को चैत मसान्त थियो । तर, यो समयभित्र आयोजना नसक्ने निश्चित भएसँगै आयोजनाको म्याद सरकारले तीन वर्ष थपेको छ । तर, प्रगति अझै पनि ५० प्रतिशतभन्दा तल छ ।

राष्ट्रिय योजना आयोगका अनुसार यो आयोजना २०७३/७४ देखि कार्यान्वयनमा आएको हो । काठमाडौंलाई अहिले पुराना राजमार्गले मात्र जोडिरहेको सन्दर्भमा सबैभन्दा राम्रो विकल्प यो आयोजना थियो । तर, समयमै सम्पन्न नहुँदा काठमाडौंले एकातर्फ निरन्तर सास्ती भोगिरहेको छ भने अर्कातर्फ आयोजनाको लागत समेत बढिरहेको छ । यो आयोजनाका लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । अहिलेसम्म ९२ अर्ब ६८ करोड खर्च भइसकेको छ ।
अनिर्णयको बन्दी बन्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
नेपालमा आयोजना कार्यान्वयनको पूर्वतयारीका दौरान सबैभन्दा बढी गिजोलिएको आयोजना हो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । सरकारले ५० को दशकबाटै यो आयोजना कार्यान्वयनको बहस र पूर्वतयारीको काम थालेको हो । २०७३/७४ देखि यस आयोजनामा बजेट छुट्याउन थालियो ।
तर, वातावरणीय मुद्दा र अदालती प्रक्रियाले यो आयोजना अन्योलमा छ । आयोजना कुन स्तर र मोडेलमा बनाउने समेत निश्चित नभएका कारण आयोजना सम्पन्न हुने मिति नै अनिश्चित छ । यो आयोजनामा १ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

अन्तिम चरणमा पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोष २०७०/७१ देखि कार्यान्वयनमा आएको आयोजना हो । यो आयोजनाको भौतिक प्रगति ९८.३३ प्रतिशत पुगेको छ । यो आयोजना सम्पन्न हुने मिति तोकिएको छैन । यद्यपि, पछिल्लो समय गुरुयोजना अनुसार काम हुने यस्तो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्ने वा नगर्ने भन्नेमा बहस सुरु भएको छ ।
आधा शताब्दी पुराना आयोजना : लुम्बिनी विकास कोष
लुम्बिनी विकास कोष आयोजना कार्यान्वयन २०३४/३५ देखि सुरु भएको हो । यो आयोजना सम्पन्न हुने मिति २०८३ तोकिएको छ । १३ अर्ब २६ करोड लागत रहेको यो आयोजनाले अहिलेसम्म ९ अर्ब १३ करोड बजेट खर्च गरिसकेको छ । आयोजनाको भौतिक प्रगति ९०.५ प्रतिशत छ ।

मुलपानी क्रिकेट एकेडेमी : म्याद सकिन १ वर्ष बाँकी रहँदा ७ प्रतिशतमात्र प्रगति
यो आयोजना २०८०/८१ देखि सुरु भएको हो । आयोजना सम्पन्न हुने मिति २०८४/८५ रहेको छ । तर, २०८२/८३ सम्मको विवरण अनुसार आयोजनाको भौतिक प्रगति ७ प्रतिशतमात्र छ । स्रोत सुनिश्चितता सहित बहुवर्षीय ठेक्का आह्वानपछि ३ वर्षभित्र सक्ने भनिएको यो आयोजना पुन: धेरै समय लाग्ने निश्चित भएको छ । कुल ७ अर्ब ४९ करोडको यो आयोजनामा अहिलेसम्म १९ करोड खर्च भइसकेको छ ।

गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशाला : निर्माण सक्ने मिति नजिकियो, शून्य प्रगति
यो आयोजनालाई सरकारले आव २०८०/८१ देखि कार्यान्वयन थालेको हो । यो आयोजना निर्माण सम्पन्न हुने मिति २०८४/८५ तोकिएको छ । स्रोत सुनिश्चितता सहित बहुवर्षीय ठेक्का आह्वान पश्चात साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्माण सक्ने गरी तोकिएको अवधि नजिकिँदै गर्दा भौतिक प्रगति शून्य अवस्थामा छ । यो आयोजनाको लागत ३ अर्ब ६४ करोड हो । आयोजनाको खर्च अभिलेखमा छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई समेत सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । यो आयोजना धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको थियो । फाउन्डेसन यो आयोजना निर्माणमा असफल भएसँगै स्थानीय सरकारले सञ्चालन गर्ने गरी सरकारले निर्माणको जिम्मा लिएको हो । २०८१/८२ देखि कार्यान्वयन सुरु भएको यो आयोजना कार्यान्वयन सक्ने मिति यकिन छैन ।
तीन आयोजना सम्पन्न
सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेकामध्ये तीन आयोजना भने सम्पन्न भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना २०७८ सालदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । यो आयोजनामा ४९ अर्ब रुपैयाँ लागत लागेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अर्को सम्पन्न भएको गौरवको आयोजना हो । यो आयोजना १६ पुस २०७९ देखि सञ्चालनमा आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत २ जेठ २०७९ देखि सञ्चालनमा आएको छ ।
यी दुवै विमानस्थल तुलनात्मक रूपमा शीघ्र कार्यान्वयनमा आएका आयोजना हुन् । पोखरा विमानस्थल २०७३/७४ र भैरहवा २०७१/७२ मा सुरु भएका थिए ।
प्रतिक्रिया 4