News Summary
Generated by OK AI. Editorially reviewed.- तिलोत्तमामा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि उमा आधारभूत विद्यालयको खेलमैदानमा सुरु हुने भएको छ ।
- प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्, विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
- क्लबका अध्यक्ष धनेन्द्र पौडेलका अनुसार प्रतियोगिता सञ्चालनमा करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
१० असोज, बुटवल । तिलोत्तमामा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी टोलीका लागि प्रवेश शुल्क निःशुल्क गरिएको क्लबका पूर्वअध्यक्ष लोक पुनले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा लिस्नु युवा क्लब तिलोत्तमा र चरङ्गे युवा क्लब देवदहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए । उनका अनुसार सम्बन्धित वडाबाट १ लाख रुपैयाँ सहयोग उपलब्ध हुने र बाँकी रकम स्थानीय बासिन्दा, खेलप्रेमी, उद्योगी तथा व्यवसायीको सहयोगलगायत स्रोतबाट व्यवस्थापन गरिनेछ । तिलोत्तमा नगरपालिकाबाट पनि आर्थिक सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
अध्यक्ष पौडेलले झरना रनिङ शिल्डलाई निरन्तरता दिन स्थानीय बासिन्दा, खेलप्रेमी तथा उद्योगी–व्यवसायीको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको बताए ।
उनका अनुसार प्रतियोगिता फुटबलमा मात्र सीमित नभई स्थानीयस्तरमा खेलाडी उत्पादन, खेलकुदको विकास तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।
प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग जुटाउने तथा खेलमैदान र व्यवस्थापनका कामलाई व्यवस्थित बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्थानीय संगिता गुरुङ, क्लबका पूर्वअध्यक्ष छत्रबहादुर दर्लामी र पदम थापासहित विभिन्न क्लबका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया 4