News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश प्रतिनिधिमण्डलले मन्त्री सरल सहयात्री पौडलसँग रसुवाको भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र रोजगारीका लागि पीपीपी मोडेलमा सहकार्यबारे छलफल गरेको छ ।
- मन्त्री पौडलले विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र र सरोकारवाला पक्षबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- महासंघ बागमती प्रदेश सचिवालय भवनका लागि हेटौंडा–१७ मा रहेको १ कठ्ठा जग्गा महासंघका नाममा नामसारी भएको छ ।
११ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडलसँग भेटघाट तथा छलफल गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्रबहादुर खत्री एवं कार्यकारी निर्देशक विवेक मानन्धर सहित टोलीले भेटघाटमा रसुवा भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेल मार्फत सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
सोही अवसरमा मन्त्री पौडलले विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र तथा सरोकारवाला पक्षबीचको सहकार्य थप सुदृढ गर्दै ठोस र परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजी क्षेत्रको सहभागिता प्रभावकारी परिचालन गर्ने विषयमा छलफल भएको महासंघ बागमती प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महासंघ बागमती प्रदेश सचिवालयलाई जग्गा प्राप्ति
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सचिवालय भवन निर्माण गर्न आवश्यक जग्गा प्राप्त भएको छ ।
महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष एवं मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ताका छोरा अमित अग्रवालका नाममा हेटौंडा–१७ मा रहेको १ कठ्ठा जग्गा उद्योग वाणिज्य महासंघका नाममा नामसारी गरिएको महासंघले जनाएको छ ।
महासंघ बागमती प्रदेश कोषाध्यक्ष रुद्रबहादुर खत्री, कार्यकारी निर्देशक विवेक मानन्धर, कार्यालय सहायक रश्मी खनाल लगायतको सहभागितामा अध्यक्ष श्रेष्ठलाई भूमि प्रशासन कार्यालय अघि जिल्ला नगर उपाध्यक्ष कृष्णकुमार गुप्ताले जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4