१२ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा भने जिल्लाका कुनै पनि पालिकामा डेङ्गीका नयाँ बिरामी नथपिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चार पालिकामा मात्रै डेङ्गी सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ११ पुरुष र १० महिला छन् ।
सूचना अधिकारी पुडासैनीका अनुसार बनेपा नगरपालिकामा १३ जना (छ पुरुष र सात महिला), मण्डनदेउपुर नगरपालिकामा छ जना (दुई पुरुष र चार महिला) तथा नमोबुद्ध नगरपालिकामा एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ ।
धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहमा भने हालसम्म डेङ्गीको कुनै पनि सङ्क्रमित दर्ता नभएको कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पुडासैनीले मनसुनी जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताए ।
उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा व्यक्तिगत सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।
प्रतिक्रिया 4