+
+
Shares

बाढीपहिरोले ६२० मेगावाट बिजुली प्रणाली बाहिर

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ९ असोजको बाढीपहिरो र १० भदौको भोटेकोशी बाढीका कारण ६ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षा र भोटेकोशी बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा ६ सय २० मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।
  • कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ९ असोजको बाढीपहिरोबाट १ सय ९० मेगावाट र भोटेकोशी बाढीबाट ४ सय ३० मेगावाट उत्पादन प्रणालीबाहिर परेको बताए ।
  • भोटेकोशी र त्रिशूली बाढीले प्राधिकरण तथा सहायक कम्पनीका संरचनामा ८ अर्ब ७४ करोड रुपैयाँ बराबर क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।

१२ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा भोटेकोशी बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा करिब ६ सय २० मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमा ९ असोजको बाढीपहिरोका कारण १ सय ९० मेगावाट र भोटेकोशी बाढीका कारण ४ सय ३० गरी ६ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको बताए ।

९ असोजको अविरल वर्षापछि आएका बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको बताए । तीमध्ये अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार प्राधिकरणको सहायक कम्पनी मार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा समेत पहिरो पसेको छ । उक्त संरचना सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब ९० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसक्दा ७ वटा जलविद्युत् आयोजनाको करिब १ सय ९० मेगावाट उत्पादन प्रणालीमा जोडिन सकेको छैन ।

राहुघाट सबस्टेसनमा कनेक्सन भए पनि बाढीका कारण अवरुद्ध भएको अवस्थामा प्राधिकरणको सहायक कम्पनीको ४० मेगावाट राहुघाट जलविद्युत् आयोजना बाहेक १ सय २७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको श्रेष्ठले बताए ।

हाल बाढी तथा संरचनामा भएको क्षतिका कारण ६ वटा विद्युत् आयोजना गरी २ सय ३० मेगावाट क्षमता प्रणालीबाट बाहिर रहेको प्राधिकरणको विवरण छ ।

तर, सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध २ सय ६२ मेगावाट क्षमताका जलविद्युत् आयोजना पुन: सञ्चालनमा आएका छन् । त्यस्तै मर्स्याङ्दी करिडोरमा अवरुद्ध १ सय ९० मेगावाट क्षमताका आयोजना पनि सञ्चालनमा आइसकेका छन् ।

बाढीका कारण अवरुद्ध १ सय ४४ मेगावाट कालीगण्डकी जलविद्युत् केन्द्र पनि सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रसारण लाइनमा पनि क्षति

बाढीका कारण प्रसारण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

क्षतिग्रस्त स्थानसहित अन्य ठाउँमा समेत निरीक्षण गर्न प्राविधिक टोली परिचालन गरिएको र विस्तृत क्षति विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

यी क्षेत्रमा विद्युत् अवरुद्ध

बाढीका कारण केही दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएका जिल्लामा म्याग्दी, बागलुङ, तनहुँ झापुटार सबस्टेसन क्षेत्र, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, प्युठान र रोल्पा थिए ।

प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँ झापुटार सबस्टेसन क्षेत्र र पूर्वी रुकुममा विद्युत् आपूर्ति पुन: सुरु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म विद्युत् आपूर्ति सुरु गर्ने तयारी छ भने मनाङमा भोलिसम्म आपूर्ति पुन: सञ्चालन गर्ने योजना छ ।

१० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी प्रसारण लाइन तथा विभिन्न जलविद्युत् केन्द्रमा पुगेको क्षतिका कारण करिब ४ सय ३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।

उक्त क्षेत्रमा प्राधिकरण तथा सहायक कम्पनीका संरचनामा भएको क्षतिको प्रारम्भिक अनुमान ८ अर्ब ७४ करोड रुपैयाँ रहेको श्रेष्ठले बताए ।

प्राधिकरणले क्षतिग्रस्त उत्पादन, प्रसारण र वितरण संरचनाको अवस्था मूल्यांकन गर्दै पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?