१२ असोज, काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।
३० भदौमा बसेको इसेवा सञ्चालक समिति बैठकले १२ असोजदेखि लागु हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षे कार्यकाल आजदेखि सम्हालेका हुन् ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्ज्याक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहक केन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुका साथै टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उल्लेखनीय अनुभव छ ।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
इसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवा विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ ।
निवर्तमान सीईओ खड्काको कार्यकाल पूरा
इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । २०७९ असोज १२ मा इसेवा सीईओ नियुक्त खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका हुन् ।
खड्काको व्यवस्थापकीय नेतृत्वमा इसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेको छ । उनको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधि संख्यामा उल्लेख्य वृद्धि हुनुका साथै नयाँ प्रडक्ट तथा फिचर निर्माण, नवप्रवर्तन तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । उनको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ता संख्या १ करोड ४० लाख र मर्चेन्ट संख्या ६ लाख नाघेको थियो ।
प्रतिक्रिया 4