+

क्यान अध्यक्ष चन्द भन्छन्- आगामी दिनमा प्लेइङ कन्डिशन सुधार्न पहल गर्छौं

२०८३ असोज  १३ गते १२:२८ २०८३ असोज १३ गते १२:२८

१३ असोज, काठमाडौं । एसियन गेम्सको क्रिकेटमा लगातार वर्षाका कारण चारवटै क्वाटरफाइनल खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा प्रतियोगिताको प्लेइङ कन्डिशन सच्याउन पहल गर्ने बताएका छन् ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा चन्दले चारवटै क्वाटरफाइनल खेल वर्षाका कारण ‘वाशआउट’ हुने परिकल्पना नगरिएको बताए । उनले प्लेइङ कन्डिशन बनाउने क्रममा फुल मेम्बर राष्ट्रहरू संलग्न हुने भएकाले यस विषयलाई त्यतिबेला गम्भीर रूपमा नलिइएको बताए ।

‘चारका चारवटै क्वाटरफाइनल वाशआउट होला भनेर पनि सोचिएन । अब प्लेइङ कन्डिशन बनाउने व्यक्तिहरू फुल मेम्बरहरू हुने भएकाले त्यसबेला गम्भीर रूपमा लिएनौं, गरिएन’ चन्दले भने ।

उनका अनुसार क्यानले प्रतियोगिताको प्लेइङ कन्डिशन पहिले नै स्वीकार गरिसकेको थियो । त्यसैले अहिले त्यस विषयमा विवाद गर्नुभन्दा आगामी प्रतियोगिताका लागि आवश्यक सुधार गर्न पहल गर्नु उचित हुने उनको भनाइ छ ।

‘हामीले प्लेइङ कन्डिशन स्वीकारेका थियौं । यो सिकाइ हो, आइन्दा यस्तो हुँदैन । प्लेइङ कन्डिशन सच्याउने पहल गर्नेछौं । आगामी दिनमा आईसीसी फोरममा कुरा राख्छौं’ चन्दले भने ।

उनले प्लेइङ कन्डिशनमा कमी–कमजोरी देखिए त्यसलाई सुधार गर्नुपर्ने बताए ।

‘अहिलेलाई स्वीकार गर्नुबाहेक अर्को विकल्प छैन । पहिल्यै हामीले प्लेइङ कन्डिशन स्वीकार गरिसकेकाले अहिले विवाद गरिरहने कुरा पनि होइन । अर्को पालिदेखि करेक्सन हुन्छ, हामी लबिङ गर्छौं’ चन्दले भने ।

एसियन गेम्समा लगातार वर्षाका कारण नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनलसहित चारवटै क्वाटरफाइनल खेल रद्द भएका थिए ।

खेल हुन नसकेपछि पूर्वनिर्धारित प्लेइङ कन्डिशनअनुसार वरीयतामा माथि रहेका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

२०औं एसियन गेम्स चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय