+
+
Shares

तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृत्यु, एकको खुट्टा भाँचियो

विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागदौड मच्चियो । सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मृत्यु भयो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ असोज १३ गते १३:२६

१३ असोज, विराटनगर ।  तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ । एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।

सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको भने दाहिने खुट्टा भाँच्चिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति तास खेलिरहेको स्थानबाट ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका व्यक्तिहरूको भागाभाग हुँदा  कोइराला सामान्य घाइते भएका थिए ।

पक्राउ परेपछि स्वास्थ्य जाँच गर्दा अवस्था सामान्य देखिएपछि सोमबार राति कोइरालासहित सात जनालाई हिरासतमा ल्याएर राखिएको मिश्रले जानकारी दिए । खुट्टा भाँच्चिएका घाइतेको भने श्री अस्पतालमा उपचार भइरहेको छ ।

हिरासतमा रहेका अन्य सात जनासँगै रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए । पक्राउ परेका अन्यले उठाउन खोज्दा नउठेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

कोशीमा उपचार हुन नसकेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा चिकित्सकले मंगलबार करिब ११ बजे मृत घोषित गरेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मिश्रका अनुसार उनको शव नोबेल अस्पतालमै छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको कारण भने तत्काल खुल्न बाँकी रहेको मिश्रले बताए ।

सोमबार राति प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरूको भागभाग भएको थियो । सुरुमा प्रहरीलाई त्यहाँ तास खेलिरहेको जानकारी थिएन । प्रहरी पुगेपछि दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । उनी एम्बुलेन्स चालक हुन् ।

पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?