+
+
Shares

महाधिवेशन प्रतिनिधि राख्न काठमाडौंमा होटल बुक गर्दै कांग्रेस 

समिति सदस्य केन्द्रीय सदस्य नारायण भट्टराईले महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंका सुन्धारा, ठमेल, बागबजार, सिनामंगल, गौशालालगायतका क्षेत्रका होटल बुक गरिने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १४:४६

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर १५ औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ ।

महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो ।

समितिका सदस्य लेखनाथ पोख्रेलले भने, ‘विशेष महाधिवेशनको बेला गरिएको व्यवस्थापनलाई आधार मानेर १५ औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाइरहेका छौं ।’

समिति सदस्य केन्द्रीय सदस्य नारायण भट्टराईले महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंका सुन्धारा, ठमेल, बागबजार, सिनामंगल, गौशालालगायतका क्षेत्रका होटल बुक गरिने जानकारी दिए ।

भट्टराईले भनेका स्थानका होटलहरू अपुग भए आवश्यकताअनुसार कलंकी र गंगबु क्षेत्रका होटल पनि बुक गरिने पोख्रेलले बताए । उनका अनुसार समितिमा रहेका सदस्यहरू अधिवेशनका लागि गृहजिल्लामा भएका कारण होटलहरू बुक भने भइनसकेको पनि बताए ।

‘हामी सबै जिल्लातिरै छौं । होटलको व्यवस्थापबारे भर्चुअल बैठक भएको छ,’ पोख्रेलले भने, ‘होटल व्यवसायीहरूसँग कुराकानी भएको छ । काठमाडौं फर्किएपछि थप कुराकानी हुन्छ ।’

उनले कुन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई कुन क्षेत्रका होटलहरूमा राख्दा सहज हुन्छ भन्नेबारे परामर्श भइरहेको पनि बताए । ‘डाटा कलेक्सन गर्ने काम गरिरहेका छौं । कुन प्रदेशकालाई कहाँ राख्ने भन्ने बारे हामी छलफलमै छौं,’ पोख्रेलले भने ।

कांग्रेसले केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यद्वय नारायण भट्टराई, दिनेश सुनार, लेखनाथ पोख्रेल सदस्य छन् । समितिमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष र हरेक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जनालाई पनि सदस्य राखिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस महाधिवेशन १८ असोज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने छ । प्रतिकूल मौसमका कारण कांग्रेसले केन्द्रीय महाधिवेशनको उद्घाटन मिति दुई दिनपछि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?