+
+
Shares

कर्णालीका मुख्यमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता

‘कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन । यसले सरकारको सेवा प्रवाह साँच्चै नागरिकले अनुभूति गर्ने खालको हुनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १३ गते १८:१४

१३ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री शाहीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूसँग सम्झौता गरेका हुन् ।

सम्झौतापश्चात उनले विकास बजेट समयमै कार्यान्वयन गर्न र प्रदेश सरकारको सेवा प्रवाह नागरिकले अनुभूति गर्ने गरी प्रभावकारी बनाउन मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए ।

कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै मुख्यमन्त्री शाहीलेसम्झौताले सरकारको कामको गति बढाउनुपर्ने बताए ।

‘कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन । यसले सरकारको सेवा प्रवाह साँच्चै नागरिकले अनुभूति गर्ने खालको हुनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने ।

अब मन्त्रीहरूले सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सचिवहरूले मातहतका कार्यालयको काम तथा बजेट कार्यान्वयनको नियमित अनुगमन गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।

तोकिएको समयभित्र बजेट खर्च भए–नभएको तथा योजना र कार्यक्रम प्रभावकारी रूपमा अघि बढे–नबढेको विषयमा गम्भीरतापूर्वक निगरानी गर्न उनले निर्देशन दिए ।

‘यसले एउटा अनुशासन कायम गर्ने हो,’ उनले भने, ‘कामप्रतिको लगाव राख्ने हो । र, समग्र हिसाबले प्रदेश सरकार साँच्चै आफ्ना नागरिकप्रति जिम्मेवार र जवाफदेही छ, भन्ने सन्देश दिने हो ।’

अनुगमनलाई प्रविधिसँग जोड्ने

मुख्यमन्त्री शाहीले प्रदेश सरकारका योजना तथा कार्यक्रमको अनुगमन प्रणालीलाई प्रविधिमैत्री बनाउने बताए । योजना अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन छुट्टै प्रणाली विकास गर्ने उनको भनाइ थियो ।

विकास आयोजनाको प्रगति, बजेट कार्यान्वयन र सम्बन्धित निकायको कामलाई एउटै प्रणालीबाट नियमित अनुगमन गर्ने व्यवस्था मिलाइने उनले बताए ।

कार्यसम्पादन सम्झौतामा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कीत लामा कार्की र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल सहभागी थिए ।

मुख्यमन्त्री शाहीले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रमुख सचिव अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू रमेशकुमार केसी, लक्ष्मीकुमार बिक र कानुन सचिव निधिराज न्यौपानेसँग सम्झौता गरेकी छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री टेकराज पछाईसँग पनि कार्यसम्पादन सम्झौता गरिने जनाइएको छ ।

मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका सचिवसँग समेत छिट्टै कार्यसम्पादन सम्झौता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?