१४ असोज, काठमाडौं। रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५, स्याफ्रुबेसीका सिङ्गी धिन्डुप तामाङ (५८) काठमाडौं स्वयम्भूको एलो गुम्बामा आश्रय लिएर बसेको एक महिना नाघ्यो।
भोटेकोशी बाढीबाट विस्थापित भएर गुम्बामा आइपुगेका उनी एक्लै हुँदा झस्किन्छन, स्याफ्रुको सम्झना आइरहन्छ। ‘एक्लै हिँड्दा गुम्बामा छु, घर बाढीमा बग्यो, सम्पत्ति गयो भन्ने महसुस हुन्छ,’ उनले भने।
गुम्बामा बिहान-बेलुकाको छाक टरेको छ। सामूहिक बसाइ छ। तर सिङ्गीलाई बाढीले लगेको घर, आफन्त र छिमेकीको याद आइरहन्छ। उनका अनुसार स्याफ्रुबेसीका १३७ परिवारको ३०० हाराहारीमा विस्थापित भएकाहरू गुम्बामा छन्।

‘१३७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छौँ,’ उनले भने, ‘१२६ जनाको मृत्यु भएको छ। ५२० जना जीवित छौँ।’ बाँचेकाहरूको सरकारले उद्धार गरेर धुन्चे हुँदै नुवाकोटको बटार ल्यायो। त्यसपछि उनीहरू रसुवा समाजको सहयोगमा काठमाडौंको गुम्बामा बसिरहेका छन्।
बाँचेकाहरूको कोही न कोही बाढीमा परेका छन्। बालबाल जोगिएका सिङ्गीले बुहारी गुमाएका छन्। ‘आफन्त नगुमाएको यहाँ कोही पनि छैन,’ उनले भने।
आफन्तसँगै थातथलो पनि गुमाएका छन् स्याफ्रुवासीले। ‘भागेर माथि पुगेर हेर्दा बजार, गाउँ केही बाँकी थिएन। तीन वटा गाउँ नै बाढीले साफ गरेको छ,’ उनले भने, ‘पालिका र चौकी भएको ठाउँ बगरमा परिणत भएको छ। घरबाट पैसा, मोबाइल केही निकाल्न पाइएन।’

गुम्बाले ठाउँ दिएको छ तर यसरी कहिलेसम्म बस्ने भन्ने प्रश्नले रुमलिएका छन् उनीहरू। ‘गुम्बाले खाट र बिस्तराको व्यवस्था गरिदिएको छ। सुरुमा सबै भुइँमा सुत्थ्यौँ। पछि आवश्यक सामान ल्यायौँ। अरूले पनि पंखा लगायतका सामग्री ल्याइदिए। अहिले बस्न सुविधा छ। तर गुम्बामा कति दिन बस्न सकिन्छ भन्ने निश्चित छैन। एक महिना बसौँला, दुई महिना पनि बस्नुपर्ने हुनसक्छ,’ उनले भने।
तर, घर फर्किंदा बस्ने ठाउँ छैन। जाने बाटो छैन। खाने सामल हुँदैन। ‘खेती गरेर खाउँ भने उत्पादन गर्न ६ महिना लाग्छ। हामी पहिलेदेखि व्यवसाय गरेर बसेका मान्छे हौँ,’ उनले भने, ‘गएर के खाने ? कहाँ बस्ने ? हाम्रो त केही छैन नि।’
स्याफ्रुमै फर्किन चाहन्छन्
तत्काल अस्थायी भए पनि बासको प्रतीक्षामा छन् उनीहरू। ‘राज्यले हामीलाई स्याफ्रुमै छाप्रा बनाएर बस्न दिए हुन्छ। त्यसपछि स्थायी रूपमा चार कोठासम्मको एउटा घर बनाइदिए हुन्थ्यो,’ सिङ्गीले भने, ‘पछि हामी कमाएर थप बनाउँला। ठूलो परिवारलाई चार कोठासम्मको घर आवश्यक छ।’

स्याफ्रुबाहेक अर्को ठाउँमा जग्गा-जमिन छैन। त्यसैले उनीहरू आफ्नै थातथलो फर्किन चाहन्छन्। ‘त्यहीँ जाने सोचमा छौँ। अर्को ठाउँमा गएर बस्न कहाँ दिन्छन् र ? त्यहीँका बासिन्दा हौँ। हाम्रो आस्था छ। भूगोल छ। संस्कृति छ। सबै आफन्तहरू छन्। काठमाडौंमा त अहिले दुई–चार दिन संस्थाले दिन्छ होला, त्यसपछि के हुने भन्ने थाहा छैन नि,’ उनले भने।
राज्यले निःशुल्क, निर्ब्याजी पैसा लगानी गरिदिए पछि फिर्ता गर्ने उनी बताउँछन्। ‘आफैँ कमाएर राज्यको पैसा फिर्ता गर्ने व्यवस्था मिलाइदियो भने व्यवसाय गरेर खान इच्छुक छौँ,’ सिङ्गीले भने।
सामूहिक घेवा, खर्च छैन
बाढीमा परेकाहरू भेटिने आशा नभएपछि बौद्ध धर्मअनुसार उनीहरूले सामूहिक घेवा सुरु गरेका छन्। छुट्टाछुट्टै गर्नुपर्ने हो, तर घर नभएपछि सामूहिक पूजापाठ गरिरहेका छन्।

‘बौद्ध धर्मअनुसार सात–सात दिनमा पूजा गर्नुपर्छ। ४९ दिनमा ठूलो घेवा गर्नुपर्छ। घेवा नसकिएसम्म कतै हिँड्नु हुँदैन। अर्को ठाउँमा जान पनि हुँदैन,’ उनले भने, ‘छुट्टाछुट्टै गर्ने अवस्था छैन। ७६ जनाको एकै ठाउँमा सामूहिक गरिरहेका छौँ। अरू गुम्बामा पनि कतै १०, कतै ७ जनाको सामूहिक काजकर्म चलिरहेको छ।’
तर, अहिले घेवा गर्न आर्थिक समस्या परेको उनीहरूले बताए। ‘घेवा गर्न पैसा चाहिन्छ। बत्ती बाल्न पैसा चाहिन्छ। हाम्रो धर्मअनुसार खाना खुवाउनुपर्छ। लामालाई दान गर्नुपर्छ,’ ४९ दिनमा ठूलो घेवा हुन्छ। सिङ्गीले भने, ‘हाम्रो सुन गयो, पैसा गयो, चाँदी गयो, हिरा गयो। घर गयो, सबै गयो। ज्यान मात्रै छ। घेवा गर्न आर्थिक समस्या छ।’
राज्यले महिनामा १५ हजार रुपैयाँ दिने भनेर कार्ड बनाइदिएको छ। तर रकम हातमा नपरेको गुनासो पीडितहरूको छ। ‘आजभोलि बाहिर खुट्टा टेक्नेबित्तिकै पैसा चाहिन्छ। त्यसैले राज्यले सबैभन्दा छिटो मृतकको पहिचान र घोषणा गरेर राहत वितरण गरिदिनुपर्यो। हाम्रो आशा यही हो,’ उनले भने।
होल्डिङ सेन्टरमा उकुसमुकुस
स्याफुकै प्रतिमा लामा (४०) दृष्टिविहीन हुन्। होल्डिङ सेन्टरमा बस्दा मानसिक अवस्था नै बिग्रन लागेको उनी बताउँछिन्।
‘हामी चाँडोभन्दा चाँडो यहाँबाट बाहिरिन चाहन्छौँ। यहाँ बस्दाबस्दा हाम्रो मानसिक अवस्था बिग्रिसक्यो,’ उनले भनिन्, ‘यहाँ सबै सामूहिक बसेका छौँ। आफ्नो छुट्टै बसोबास चाहिन्छ। एक महिनादेखि यहीँ बसिरहँदा हामीलाई पीडा भएको छ। सरकारले अब तपाईंहरू आफ्नो ढंगले सुरु गर्नुहोस् भनेर आर्थिक सहयोग गरिदियो भने कोठा खोजेर सिफ्ट हुन सक्थ्यौँ।’
कामी ग्याल्पो तामाङ (६५) ले पनि उस्तै समस्या सुनाए। ‘यहाँ बस्दाबस्दै बिरामी भइएला जस्तो छ। मान्छे धेरै छन्। हल्ला हुन्छ। निदाउन पाएको छैन,’ उनले भने, ‘निद्रा नपुगेर पागल हुन थाल्यौँ। छिटो–छिटो सरकारले जहाँ भए पनि सानो–सानो जग्गा दिएर राखिदियोस्।’
अस्थायी बसोबास भएमा घेवापछि उनीहरू होल्डिङ सेन्टर छोड्न चाहन्छन्। अहिले होल्डिङ सेन्टरमा सामूहिक रूपमा बस्नुपर्ने बाध्यता छ।

‘चार–पाँच जना एउटै ठाउँमा सुत्दा सास फेर्नसमेत गाह्रो हुन्छ। कोही खुट्टा फ्र्याक्चर भएका छन्। कोही रुघाखोकी लागेका छन्। कोही अरू समस्याले बिरामी भएका छन्,’ उनले भने, ‘सधैँ यहाँ बस्न सक्दैनौँ। कोठा खोज्न गयो भने तपाईंहरू को हो भनेर सोध्छन्। हामी पीडित हौँ भन्दा कोठा छैन भन्छन्। हामीसँग केही छैन भनेर पनि होला, काठमाडौंमा हामीलाई कोठा पाउन गाह्रो छ,’ सिङ्गीले भने।
आफूहरू शरणार्थी जस्तो भएर बस्नु परेको गुनासो उनीहरूले गरे। ‘कसैको कागजपत्र छैन। एउटा शरणार्थीको जस्तो गरेर बसिरहेका छौँ। कति दिनसम्म यहाँ बस्ने ?,’ कार्सङ तामाङले प्रश्न गरे।
एकीकृत बासको आश
स्याफ्रुवासीले एकीकृत बसोबासको व्यवस्था होस् चाहेका छन्। ‘स्याफ्रुबेसीका जति हुनुहुन्छ, उहाँहरूलाई एकै ठाउँमा एकीकृत बसोबास होस् भन्ने हो,’ प्रतिमाले भनिन्।
आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाउन पनि उनीहरू एकीकृत रूपमा बस्न चाहन्छन्। ‘त्यहाँको माटो, जमिन, हाम्रो आध्यात्मिक माया–प्रेम छ। त्यही ठाउँको माथितिर सुरक्षित ठाउँमा बसोबास होस्,’ छिरिङ तेन्जिङ लामाले भने, ‘बाढीले हाम्रो सांस्कृतिक सम्पदा गुम्बा गयो। ढुङ्गामै कुँदेर लेखिएका अक्षरहरू थिए। तामाङ समुदायको पहिचान खुल्ने कुराहरू विलिन भए। त्यसको पुनर्स्थापना हुनुपर्छ।’

घरधुरीको तथ्यांक छुटेको गुनासो
होल्डिङ सेन्टरमा कतिपयले घरधुरीको तथ्यांक छुटेको गुनासो गरेका छन्। तीमध्येका एक हुन् कार्सङ तामाङ। उनको पनि घरमा क्षति भएको थियो। तर तथ्यांक संकलन नभएको उनको गुनासो छ।
‘लगभग ३०–४० घरधुरीको तथ्यांक र डाटा छुटेको रहेछ। हाम्रो पनि आफन्त गुमेका छन्। भौतिक क्षति भएको छ। तथ्यांक नछुटोस्,’ उनले भने।

कार्सङ गाइडको काम गर्ने भएकाले १० गते तिब्बतको केरुङमा थिए। आउन ढिला भएकाले घरधुरी संख्यामा उनको नाम छुट्न पुग्यो। नाकामा एक-डेढ सय जति गाइड साथीसमेत उनले गुमाएका छन्। ‘रसुवा, सिन्धुपाल्चोकका गाइड साथीहरू अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘म चाहिँ नाका कटेको भएर जोगिएको हुँ।’
फोटो/भिडियो- कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4