१४ असोज, काठमाडौं । कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले भोलिबाट सुरु हुने वडा अधिवेशन पार्टीको संगठनात्मक जीवनका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशन उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।
उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर भएको बताए ।
कोइरालाले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउँदै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
उनले देशभरका सम्पूर्ण नेता कार्यकर्तालाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न अपिल गरे ।
‘नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोवल, उत्साह, जिम्मेवारीबोध र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, कोइरालाले विज्ञप्तिमा भनेका छन् ।
प्रतिक्रिया 4