+
+
Shares

रसुवा बाढीका पीडितप्रति  ऐक्यबद्धता जनाउन वसन्तपुरमा दीप प्रज्वलन गरिने

जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते २०:०६

१४ असोज, काठमाडौं । रसुवाको भोटेकोशी बाढीको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ ।

जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ६:१५ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा हुने बताइएको छ ।

जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र संघर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउने, प्रभावित समुदायको अधिकार तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउने र जलवायु न्यायको मागलाई सामूहिक रूपमा बुलन्द गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असमान भार नेपाली समुदायले वहन गरिरहेको आयोजक संस्थाहरूको भनाइ छ ।

विशेषगरी विपद्बाट प्रभावित समुदायको अधिकार, सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न राज्य तथा सम्बन्धित पक्षले थप जिम्मेवारी लिनुपर्ने उनीहरूको माग छ ।

कार्यक्रममार्फत तीन प्रमुख माग अघि सारिने आयोजकले जनाएको छ । जसमा प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा तथा जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने, पुनर्स्थापना, अनुकूलन तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने तथा प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउँदै जलवायु संकटबाट भएको क्षतिको उचित जिम्मेवारी वहन गर्नुपर्ने रहेका छन् ।

आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण, गैरराजनीतिक, गैरदलीय तथा समावेशी हुनेछ । कार्यक्रममा सहभागी हुन आउनेलाई हरियो वा सेतो पहिरन लगाउन आग्रह गरिएको छ ।

प्रभावित समुदायलाई न्यायको माग

जलवायु परिवर्तनका कारण प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै विभिन्न संघसंस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका छन् ।

एक्सन एड नेपाल, महिला एकता समाज, युथ एड्भोकेसी फोरम र मकवानपुर महिला उत्थान समाजको आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनबाट प्रभावित समुदायको अधिकार, जलवायु न्याय तथा कार्बन उत्सर्जन गर्ने पक्षको जवाफदेहिताका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनले श्रमिक महिलाको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको बताइन् ।

समयमा पानी नपर्ने, बाढी तथा अन्य प्राकृतिक विपत्तिका कारण महिलाको दैनिक जीवन थप प्रभावित भइरहेको उनको भनाइ थियो ।

उनले भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै यस्ता विपद्का कारण प्रभावित समुदायले न्याय पाउनुपर्ने बताइन्। जलवायु न्यायका विषयमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा उठाएको विषयले पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाजलाई थप बल पुग्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?