+
+
Shares
बीपीको चिट्ठी :

‘नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ’

ममाथिको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते ११:००

प्रिय साथी,

तपाईं साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदै छु। मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली कांग्रेस पनि एउटा ठूलो सङ्कटबाट गुज्रँदै छ। यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ।

तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ। पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन्। हाम्रो पार्टी पनि त्यस्तै नै हो। नेपाली कांग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफैं क्रमशः हट्दै जानेछन्। र, यो देश कालान्तरमा विश्वका अरू देशसरह व्यवस्थित र उन्नतशील भएर जानेछ।

तपाईं साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनुभएको छ। मैले पनि आफूलाई यसको उपयुक्त पात्र बनाउन सकेसम्म बराबर प्रयत्न गरेको छु। तर मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईं साथीहरूको कामबाट नै सन्तोष छ। यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यकता नै पर्ने थिएन। त्यस हुनाले तपाईंहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दै छु। र, मलाई आशा छ— यसमाथि तपाईंहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नुहुनेछ।

नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नु छ ? हामी सबैलाई यसको स्पष्ट बोध नभएजस्तो छ। यसबारे मैले केही विचार गरें।

मलाई लाग्दछ- नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर, सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर, त्यसको अखण्ड ज्वालामा हामफालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली कांग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन्।

अतीत सबैका लागि सुखद र प्यारो हुन्छ। झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा ! तर यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ। क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो।

साधनको उपलब्धिको उमङ्गमा हामीले यस महत्त्वपूर्ण कुरालाई बिर्सियौं र अझै त्यही गल्ती गर्दै छौं। यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिनेजति अगाडि बढ्न सकेन। वास्तविक भन्ने हो भने क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए। यसले गर्दा क्रान्तिको महत्त्व पनि कम हुँदै गयो। यस कुरालाई आज हामीले राम्ररी बुझ्नुपरेको छ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन्। तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईंहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु :

१. सर्वप्रथम, क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्‍यो। अनवरत कार्यद्वारा यसको पुस्ट्याइँ भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन। तर अनेक कारणले त्यसो हुन सकेन। फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ। यसलाई हामीले हटाउनुपरेको छ।

२. हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं। हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं। तसर्थ हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छाया मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनुपरेको छ।

३. हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ। यद्यपि जिम्मेवारी उठाउनेबारेको हाम्रो चाख भने कम छैन।

४. यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं। र, जनता र हाम्रा बीचको सीमा दिनप्रतिदिन बढ्दै गएको छ। यो हाम्रो चौथो दुर्गुण हो।

५. हाम्रा साथीहरूको पाँचौं खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं। जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ।

६. हाम्रो छैटौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो। हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनुपर्दछ। हामी त्यसो गर्दैनौं। उदाहरणका लागि- पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनुपरेको छ।

७. अब म तपाईंहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु। साथीहरूमा उत्कर्ष र सङ्कट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ। ‘राजनीति र नैतिकता दुई भिन्न तत्त्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन’ भन्ने एकथरी विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने ‘सफल राजनीतिका लागि नैतिकता बाधक मात्र हुन्छ।‘

एउटा अर्को थरीको भनाइ के छ भने ‘नैतिकताविनाको राजनीति सर्वथा पापाचार मात्र हो।‘ एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ। त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ।

राजनीति भनेको मोक्षको मार्ग होइन। ‘पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन’ भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो। मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र हुन्। राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु- देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ। र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलनेछैन ?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ। र, त्यस हुनाले अग्राह्य हुन्छ। हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍यौं, गैरइमानदार भएर काम गर्‍यौं र आपसमा अविश्वास गर्‍यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको सङ्घर्षमय शुष्क जीवनको सम्बल नै के रहन्छ र ?

नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन। मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो। तर कस्तै सङ्कटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्नेछ।

माथि नै मैले तपाईंहरूलाई भनेको छु— ममाथिको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ। यस पत्रको आशय ‘सारा कमजोरीहरूका कारण तपाईंहरू नै हुनुहुन्छ’ भन्ने होइन। साँच्चै भनौं भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ। हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ। कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन। यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ। यसलाई हामी सबै मिलेर हटाउनु छ। स्थिति अझै नसुध्रिने लायक भएको छैन।

हामीहरूले अनेकपटक जीवन–मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन–मरणको युद्ध गर्‍यौं। भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तव्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ। यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ। त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ। अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ। अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ।

(नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को २०१५ अङ्कबाट)

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?