+
+
Shares

कांग्रेसको संकल्प : अब चुनावअघि गठबन्धन हुँदैन, आफ्नै रुख चिह्नमा एक्लै लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:३८

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ।

काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो।

विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो।

दस्तावेजमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौं।‘

पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ। आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा छ।

सत्ताका लागि भागबन्डा नगर्ने

कांग्रेसले अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य गरे पनि त्यसलाई सत्ताको लेनदेनमा नबदल्ने नीति लिएको छ।

संविधानको रक्षा, विपद्, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागबन्डामा बदलिन नदिने दस्तावेजमा उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य नबनाउने कांग्रेसको प्रतिबद्धता छ।

राइट टु रिजेक्ट र विदेशबाटै मतदान

निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले कुनै पनि उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाउने अधिकार अर्थात् ‘नो भोट’ वा कुनै उम्मेदवार स्वीकार नगर्ने विकल्पलाई सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरेको छ।

स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा स्थायी निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढाइने पनि प्रस्तावमा उल्लेख छ। घुम्ती आरक्षित निर्वाचन क्षेत्र र प्रतिनिधित्व सुधारका विषयलाई समेत पार्टीले सार्वजनिक बहसमा लैजाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?